Logo

कांग्रेसलाई पोखरेलको सुझाव : सडकमा होईन, चुनावको तयारीमा लाग्नुहोस



काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिईसकेकोले सबै दलले पनि चुनावको तयारी गर्नुपर्ने स्पष्ट पारेका छन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले निर्वाचनको तयारीस्वरुप आफ्नो दलले विभिन्न ठाउँमा कार्यक्रम गरिराखेको स्पष्ट पारेका छन् । उनले भने,‘संसद विघटनसम्बन्धी मुद्दा अहिले अदालतमा बहसको क्रममा छ । अहिले परिस्थिति कता जान्छ ? के हुन्छ ? भन्ने प्रश्न छ । कतिपय सन्दर्भमा, प्रतिनिधिसभा विघटन संवैधानिक वा गैरसंवैधानिक भनेर पनि बहस छ । सत्ताधारी दलभित्र जुन परिस्थ्तिि उत्पन्न भयो । आफ्नै पार्टीका साथीहरुबाट प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव राख्ने तयारी थियो । प्रतिनिधिसभाको विघटन धारा ५८ अनुसार विघटन भएको हो । प्रतिनिधिसभा विघट गर्नु प्रधानमन्त्रीको अधिकार हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बोल्दै नेता पोखेरेलले प्रतिनिधिसभा पूनःस्थापना नहुने विश्वास व्यक्त गरे । उनले भने,‘संसद पूनःस्थापना हुन्छ कि भन्ने चर्चा छ, हुन्छ कि भनेर अलमलिनुहुँदैन् । प्रधानमन्त्रीले जनतामाँझ जाने निर्णय गर्नुभयो । मुद्दाको सुनुवाईपछि सबै निर्वाचनमा जानुपर्छ । यसमा जान तयारी गर्न म सबै दललाई आग्रह र अनुरोध गर्न चाहन्छु ।’

उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संविधान संरक्षण गर्न सक्दैन्, संघीयता खारेज गर्छ भनेर प्रचार गरिएको भन्दै दुःख व्यक्त गरे । ती प्रचार र आरोपको जवाफ यही माघ २३ गते काठमाडौंमा आयोजित आफ्नो पार्टीको बृहत्त जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र आफ्नो दल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको र यसलाई कसैले केही गर्छु भनेर नसोचेपनि हुन्छ भनेर जवाफ दिएको पनि उनले सुनाए ।

उनले थपे,‘प्रधानमन्त्रीले आफ्नो धारणा राखिसक्नुभयो । नेकपा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, अराजकताको अन्त्य, राष्ट्रिय स्वाधिनताको पक्षमा दृढताका साथ अघि बढ्छ । आजको संघर्ष स्वाधिनताको पक्ष र समर्पणवादीको पक्षबीच भैरहेको छ । कालापानीबाट भारतीय सेना हटाउनुपर्छ । पार्टीभित्र अराजकता सिर्जना गर्नुहुँदैन् । मुलुकको अराजकता अन्त्य गर्नुपर्छ ।’
उनले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै निर्वाचनको विकल्प नभएको सुनाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि निर्वाचनमा होमिन उनले आग्रह गरे । उनले भने,‘कांग्रेस पनि सडकमा होईन, निर्वाचनको तयारीमा जानुपर्छ ।’

मान्छेलाई आफ्नो ढंगबाट तर्क राख्ने र बहस राख्ने कुरा स्वभाविक भएको उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विषयमा सर्वोच्च अदालतले संवैधानिक ढंगले व्याख्या गर्ने विश्वास दिलाए । उनले भने,‘के आशा गरेको छु भने कतिपय कुरा संवैधानिक ढंगले व्याख्या गर्नुपर्छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले अस्पष्टतालाई व्याख्या गर्नेछ । संविधान जुन परिस्थ्तििले, हामीले सम्झौता गरेर बनाएका हौं । संसदीय प्रणाली अनपाएको मुलुकमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई अधिकार छ । मैले विश्वभरिका घट्ना हेरें । ६६ वटा घट्ना देखियो । त्यसमा दुई वटामात्रै पूनःस्थपना भएका रहेछन् ।’

उनले आफूले संविधान हेरेर बहस गर्ने काम नगर्ने सुनाउँदै त्यसबारेमा अदालतले छिट्टै एउटा फैसला दिने पनि बताए । अहिले प्रधानमन्त्री ओलीको पछिल्लो कदमले पार्टीभित्रको आन्तरिक शुद्धिकरण भएको सुनाए । उनकाअनुसार प्रधानमन्त्री ओलीले माटोलाई माया गर्नेलाई, विकास र जनतालाई माया गर्नेमात्रै प्रतिनिधिसभामा खाँचो रहेको कुरा बताउने गरेका छन् । उनले भने,‘बास्तवमा टिकट दिने कुरामा निकै सजग अपनाउनुपर्ने रहेछ भन्ने प्रधानमन्त्रीको भनाई छ ।’

उनले आफूहरुले गर्दै आएका सभा तथा सम्मेलन शक्ति प्रदर्शन नभएर चुनावको तयारी भएको स्पष्ट पारे । पोखरेलले भने,‘यो कार्यक्रम चार वटा उद्देश्यमा थियो । न मार्चण्डको विरोधमा । संसद विघटन र निर्वाचन घोषणा गरेका थियौं । जनता परिचालित गरेर आफूतिर आकर्षित गर्नु हाम्रो दायित्व हो । दाहाल र नेपाल समूहबाट हामीविरुद्ध भ्रम छर्ने काम भयो, त्यसको जवाफ दिन पनि हामीले कार्यक्रम गरेका हौं । हामी निर्वाचनमा गयौं, तपाईहरु पछि नपर्नुहोस भनेर कार्यक्रम गरेका हौं । तोकिएकै मितिमा निर्वाचन हुन्छ । चुनाव जित्नको लागि कार्यक्रम गर्छौं । बाग्मती प्रदेशमा भन्नुहुन्छ भने यस ढंगको कार्यक्रम गर्छौं । यो भनेको चुनावी तयारीस्वरुपको जनपरिचालन हो ।’



प्रतिक्रिया दिनुहोस्