Logo

मेडिसिटीमा आजबाट राष्ट्रियस्तरको प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरू



काठमाडौं, २५ माघ । नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक् साइमन्स् इन्स्टिट्युटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु भएको छ । भैंसेपाटीस्थित् नेपाल मेडिसिटीमा शुरु भएको प्रशीक्षण कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्स् लगायतका स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना श्रेष्ठले जानकारी गराएकी छिन् ।

एक व्यक्तिले मात्र नभई दक्षता प्राप्त गरेको समूहले नै उपचार गर्दा बिरामीहरुले उत्कृष्ट उपचार प्राप्त गर्नसक्ने भएकाले यस किसिमको आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचारसम्बन्धी प्रशीक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताईन् ।

स्वास्थ्य क्षेत्रका फरक–फरक विज्ञहरुले प्रदान गर्ने प्रशिक्षण कार्यक्रमले मुख्यतः आकस्मिक मुटु समस्या, दुर्घटना, श्वाँसप्रश्वाँस समस्यालगायतको अवस्थामा प्रारम्भिक चरणमा के–कस्ता उपचार प्रक्रियामा ध्यान दिने जस्ता विषयलाई समेट्ने मेडिसिटी अस्पतालले जनाएको छ ।

राष्ट्रियस्तरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्स तथा पारामेडिक्सहरुले आकस्मिक उपचारमा अपनाउनुपर्ने नवीन सीप र जानकारी प्राप्त गर्नेे अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एडुकेशन डा. निलमणी उपाध्यायले जानकारी गराए । उक्त तालिमका मोडुअलमा करेन्ट लागेर आउने विरामीहरुको उपचारका विधिहरुलाई पनि समावेश गरेको खण्डमा राम्रो हुने समेत उनले बताए ।

तालिममा काठमाडौं, भरतपुर, झापा, तेह«थुम, भोजपुर, मोरङ, लहान, सिरहा, नुवाकोट, जाजरकोट, डोटी, बाजुरा, स्याङ्जालगायतका स्थानबाट सहभागीहरुको उपस्थिती रहेको छ । आइतबारबाट शुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न हुने जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्