Logo

भगिरथी यस्तो अवस्थामा भेटिएकी थिइन्



काठमाडौं, २५ माघ । बैतडीमा १७ वर्षीया भगिरथी भट्टको हत्या प्रकरणप्रति देशभर चासो बढेको छ । २१ माघमा हत्या भई २२ माघमा शव फेला परेपनि दोषी अझै पत्ता लाग्न सकेको छैन । प्रमुख राजनीतिक दलका नेता देखि नागरिक समाजसम्मले दोषी पत्ता लगाउन माग गरिरहेको छ । प्रहरीमाथि दोषी पत्ता लगाउन दबाब बढेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी अझै पत्ता लाग्न सकेको छैन । नेपाल प्रहरीले आफ्नो संयन्त्र प्रयोग गरेर दोषी पत्ता लगाउने प्रयास गरिरहेको छ । आज सूदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी स्वयं बैतडी पुगेका छन् । सीआइबीले पनि अनुसन्धान अगाडि बढाएको छ ।

घटनास्थल नजिकै भगिरथीको मोबाइल फोन भेटिएको छ । त्यही फोनकै आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको बुझिएको छ ।
प्रहरीले शंकास्पदहरुलाई नियन्त्रणमा लिई सोधपुछ अगाडि बढाएको छ । भगिरथीको पोष्टमार्टम भइसकेपनि प्रहरीले रिपोर्ट खुलासा गरेको छैन । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । यौनीमा रक्तश्राव भएको र शरीरमा निलडामहरु पनि भएकाले बलात्कार गरी हत्या भएको आशंका गरिएको हो ।

किशोरी भगिरथी भट्टको झाँडीमा फेला परेको शवसँगै झोला पनि थियो । बैतडीको लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा फेला परेकी थिइन् । उनको शव उत्तानो अवस्थामा थियो ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा बीचमा जङ्गल पर्दछ । उनी एक्लै घर फर्कने क्रममा वेपत्ता भएकी थिइन् । बुधबार अपरान्ह विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । सँगै हिंडेका केटा साथी कपाल काट्न छिरेपछि भागरथी फर्किएकी थिइन् । तर, उनी घर पुगिनन् ।

साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो । दुई महिना अघि मात्र उनको पिताको मृत्यु भएको थियो । घरमा आमा थिइन् । दाजु भारतमा रोजगारीका लागि गएका छन् ।



प्रतिक्रिया दिनुहोस्