Logo

कांग्रेस त हाम्रो नाटक हेरिराखेको छ : प्रमुख सचेतक राजभण्डारी



काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफूहरुले संसद अवरुद्ध गर्नु जायज भएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु नै विवादको जरो भएको सुनाए । दलको विधानबमोजिम बैठक चलाउनुपर्ने उनको भनाई छ ।

उनले आफूहरु अविश्वासको प्रस्ताव फेश गर्न पनि तयार रहेको सुनाउँदै तर त्यसको लागि प्रक्रिया र कानूनअनुसार जानुपर्ने बताए । उनले आफूहरु कुर्सी छोड्न पनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘हामी कुर्सी छोड्न पनि तयार छौं । बहुमत भए देखाए भयो नि त ।’ कांग्रेसले मुख्यमन्त्री राईलाई हटाउन सहयोग गर्ने भन्नेबारे केही पनि नबोलेको उनको दाबी छ । उनले कांग्रेस त आफूहरुको नाटक हेरेर बसेको पनि टिप्पणी गरे ।
उनले भने,‘मुख्यमन्न्त्री राईमात्रै होईन, हामी अविश्वासको प्रस्ताव फेश गर्न तयार छौं । हामी शेरधन राईको पक्षमा छौं । तर, दाहाल–नेपाल पक्षले ईमानदारिता देखाएन ।’ उनले अब शेरधन राई नै मुख्यमन्त्री नै हुनेगरि बहुमत जुट्ने पनि दाबी गरे । उनले भने,‘कानून मान्न तयार भएन भने हामीले सबक सिकाउछौं ।’



प्रतिक्रिया दिनुहोस्