Logo

प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा



टीकापुर, २७ माघ: कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्छन । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्छन । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गर्छन । पाँच महिनाअघि सरुवा भएर लम्की–चुहामा आएका बिनाडी कार्यालयको खर्चमा दैनिक १८० किलोमिटर ओहरदोहर गरिरहेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको यातायात खर्चका बारेमा लेखा अधिकृत धर्मराज उपाध्यायले बोल्न चाहेनन् । उपाध्यायले इन्धनमा नगरपालिकाको मासिक खर्च रु दुई लाखसम्म हुन्छ भने । “आवास छ, सम्झौता भएकोजस्तो लाग्छ, सम्झौता कति रकममा भएको छ, त्यो त प्रशासनमा हेर्नुपर्छ”, उपाध्यायले भने, “घरायसी समस्याले ओहरदोहर गरेका हुन् ।”

यसरी ओहरदोहर गर्दा सेवासमेत प्रभावित भएको स्थानीयवासीको भनाइ छ । “यसरी प्रभावकारी सेवा दिनुहुन्छ जस्तो लाग्दैन”, स्थानीयवासी ललित जैशीले भने, “स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई खाने, बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने प्रावधान छ जस्तो लाग्छ । त्यति लामो दूरी टाढा बस्नु भनेको इन्धनदेखि लिएर अन्य खर्च हुन्छ, उनले भुक्तानी कसरी बुझछन हामीले थाहा पाउने कुरा भएन ।”

जैशीले स्थानीय तह प्रभावकारीरूपमा चलेको जस्तो नलागेको बताए । “यसरी लामो दूरी यात्रा गरेर कसरी प्रभावकारी सेवा दिन सक्नुहुन्छ ?”, जैशीले प्रश्न गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाडीले आवास तयार हुँदै गरेको बताए । सेवा प्रभावितका बारेमा बिनाडीले आफू समयमै उपस्थित हुने गरेको जिकिर गरे । “म कहिलै पनि १० बजेभन्दा एक मिनेट ढिला गरेको छैन, ५ नबजी निस्केको पनि छैन”, बिनाडीले भने , “मैले एक दिन पनि बिदा लिएको छैन । दैनिक ओहरदोहरमा लाग्ने इन्धन, त्यो त हेर्नुपर्छ मलाई थाहा हुँदैन ।”

उता नगरप्रमुख महादेव बजगाईँले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था भएको भन्दै क्वार्टरमा नबस्नु प्रमुख प्रशासकीय अधिकृतको आफ्नै समस्या रहेको बताए । “होइन आवासको व्यवस्था छ, अस्ति मैले पनि सोधेको थिएँ”, नगरप्रमुख बजगाईँले भने, “उनको श्रीमती बिरामी भएर हो, अब बस्छन ।”

प्रमुख प्रशासकीय अधिकृत बिनाडी यसअघि लम्की–चुहा नगरपालिकामा आएर इन्धन र कार्यालयको खरिदकै बारेमा विवाद भएपछि तत्कालीन नेकपा (एमाले)ले विरोध गरेको थियो । राजनीतिक संयन्त्रले विरोध गरेपछि उनी अन्यत्र सरुवा भएर गएका हुन् । पछिल्लो समय स्थानीय तहमा खर्च हुने इन्धनका बारेमा बढी गुनासो आउन थालेको छ । स्थानीयवासीले इन्धन र स्रोत साधन प्रयोगमा मनपरी हुन थालेको गुनासो गरेका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्