Logo

धाकधम्की दिनेहरु बुख्याचा जस्तै हुन्, केही गर्न सक्दैनन्ः प्रधानमन्त्री ओली



काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले धाक धम्की दिनेहरुलाई बुख्याचाको संज्ञा दिदै केही गर्न नसक्ने बताएका छन् । उनले कसैको त्रासबाट प्रभावित नभई निडर भएर अगाडि बढ्ने समेत बताए ।

‘धाकधक्कु लगाउनेहरु केही गर्न सक्दैनन्,’ आज अख्तियार दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘उनीहरु बुख्याचा मात्र हुन् । त्यस्ताको धाकधम्कीबाट प्रभावित नभई निडर भएर अगाडि बढ्छौं ।’ ओलीले कसैको धाक धम्की र डरबाट डगमग नभई निडर रुपमा अगाडि बढ्न समेत अख्तियारलाई आग्रह गरे ।

त्रास फैलाउनेहरु असल मनशायको नभएको भन्दै त्यस्ताविरुद्ध झन् कडा रुपमा प्रस्तुत हुन भने । उनले अख्तियारले हात हाल्न नसक्ने ठाउँ कहीं नभएको भन्दै सन्देश प्रवाह गर्न भने । ‘अख्तियारले हात हाल्ने र कारबाही गर्न सक्ने ठाउँ कहीं बाँकी छैन भन्ने त्रास अपराधीहरुमा पर्नुपर्छ ।’ उनले अख्तियार निर्दोषको संरक्षणको थलो पनि हुनुपर्ने बताए । उनले भने,‘कसैले झुटो आरोप लगाउँछ भने सफाइ पाउँछु भन्ने पर्नुपर्छ ।’

अख्तियारलाई अझ प्रभावकारी बनाउन संविधानमा संशोधन गर्न लागिएको बताए । संविधान संशोधनका लागि विधयेक संसदमा दर्ता भएको र चुनावपछि पारित हुने बताए ।

देशमा मर्यादा नै समाप्त पार्ने गतिविधिहरु बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे । उनले भने,‘ हरेकलाई हिलो छ्याप्नुपर्छ । मर्यादा नै समाप्त पार्ने गरी आक्रमण गर्नुपर्छ भन्ने भ्रष्ट मनस्थिति छ ।’



प्रतिक्रिया दिनुहोस्