Logo

पशुपति गुहार्ने राजा वीरेन्द्रको वंशनाश भयो, केपी ओलीलाई के कृपा हुने होः रघुजी पन्त



काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ गुहारेको टिप्पणी गरेका छन् । आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड-नेपाल समूहको विरोध सभामा बोल्दै ओली तानाशाही बनिसकेकाले पशुपतिनाथ गुहार्दैमा टिक्न नसक्ने बताए ।

‘सधैं पशुपति गुहार्ने राजा वीरेन्द्रको वंश नाश भयो, ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइदिए,’ पन्तले भने,‘अब ओलीजीलाई पशुपतिनाथले के कृपा गर्ने हुन् ?’

ओलीले पशुपतिमा सुनको जलहरीका लागि २० करोड निकासा गरेकोमा आलोचना गर्दै त्यस्तो रकम अन्यत्र निकासा गर्न भने । जनता चीसोले मृत्युवरण गरिरहेको भन्दै पन्तले तराईका जनतालाई चीसोबाट बचाउन भुमिका खेल्न भने । ओलीले सुनको सिंहासन खोजेको आरोप लगाए ।

प्रधानमन्त्री ओली नारायणहिटी अगाडि पुगेर रोएको बताए । उनले भने,‘ओलीजी नारायणहिटीको दक्षिणी ढोकामा क्वाँ क्वाँ रुनुभयो । अब अर्को ढोकामा पुगेर रुनुहुन्छ ।’ ओलीले विकास गरेँ भन्ने र प्रचण्ड र माधव नेपालले हातखुट्टा बाँधे भनेर ढाँटेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्