Logo

नेपाल ल्याउन लागिएको कोरोनाविरुद्धको चीनमा उत्पादित भ्याक्सिनको विश्वसनियतामाथि प्रश्न



काठमाडौं, २९ माघ । चीनले नेपाललाई सिनोफार्म नामको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुदानस्वरुप दिन लागेको छ । चीनमा विकास गरिएको यो भ्याक्सिन त्यहाँको राज्यबाट सञ्चालित कम्पनीको उत्पादन हो । भ्याक्सिनको प्रभावकारिता दाबी गरिएपनि विश्वले अझै यसलाई विश्वास गर्न सकेको छैन । चीनमा यसको प्रयोग शुरु भइसकेको छ । खाडी र अमेरिकी महादेशका केही मुलुकहरुमा यसको प्रयोग शुरु भएपनि उनीहरु नै आश्वस्त हुन सकेका छैनन् । पेरुले प्रयोग गर्दा गर्दै रोक लगाएको छ ।

सिनोफार्मले १५ पौषमा तेस्रो चरणको परीक्षणले कोरोना भाइरसविरुद्ध ७९ प्रतिशत प्रभावकारिता देखाएको घोषणा गरेको थियो । अमेरिका, बेलायत र रुस जस्ता देशहरुले विकास गरेका भ्याक्सिनले भन्दा चीनको सिनोफामले विकास गरेको भ्याक्सिनको प्रभावकारिता नै कम देखिएको छ । त्यसमाथि रुस र बेलायतद्वारा उतपादिन भ्याक्सिनभन्दा यो महङ्गो पर्न जान्छ ।

भ्याक्सिनको वृस्तृत परिणाम नआउँदै चीनले लाखौं मानिसलाई सिनोफार्मको आकस्मिक प्रयोग गरेको थियो । पेरुले डिसेम्बरको शुरुमा यो भ्याक्सिनको प्रयोगलाई रद्द गरेको थियो । परीक्षणका क्रममा खोप लगाउनेलाई गम्भीर प्रतिकूल असर देखिएको र भ्याक्सिनबारे पारदर्शिता नभएपछि रोकेको थियो ।

चीनको सिनोफार्म भ्याक्सिनलाई संयुक्त अरब इमिरेट्स र बहराइनलाई प्रयोगको अनुमोदन गरेको छ । चीनसँग बलियो सम्बन्ध बनाएको पाकिस्तानले यसको प्रयोग गरेको छ । तर, पाकिस्तानको विज्ञ टोलीले यो भ्याक्सिन ६० वर्ष माथिको उमेर समूहका लागि प्रभावकारी नदेििखएको निष्कर्ष निकालेको छ । पाकिस्तानी प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी विशेष सहयोगी फैसल सुल्तानले विअनन्युजलाई बताए अनुसार विज्ञ टोलीले सिनोफाम भ्याक्सिन १८ देखि ६० वर्षको उमेर समूहका लागि मात्र सिफारिश गरेका छन् ।

जीवविज्ञानसम्बन्धि विश्वप्रशिद्ध जर्नल नेजरले हाल विकास भएका कोरोना भाइरसविरुद्धको भ्याक्सिनहरुमध्ये कतिपयमाथि वैज्ञानिक प्रश्नहरु उठाएको छ । भ्याक्सिनको प्रभावकारिता, सुरक्षा, निगरानीको सवालमा प्रश्न उठाएको हो । नेचरले भ्याक्सिनको भण्डारण देखि प्रयोगको विषय पनि उठाएको छ ।

अमेरिकी फाइजरले ९५ प्रतिशत, रुसी स्पुतनिक भी विकास गर्ने गेमेलियाले ९२ प्रतिशत, अमेरिकी मोर्डनाले ९४.५ प्रतिशत, बेलायत र स्वीडीस कम्पनीको संयुक्त उत्पादन एस्ट्रेजेनेकाले ७० प्रतिशत र चीनको सिनोफर्माले ७९ प्रतिशत प्रभावकारिता दाबी गरेको नेचरले उल्लेख गरेको छ ।

चीनबाट सिनोफार्मको प्रभावकारिता ७९ प्रतिशत दाबी गरएकोमा अन्य देशहरुबाट उही उत्पादनको प्रभावकारिता फरक उल्लेख छ । यो आफैमा विवादास्पद हो । नेचरले चीनको सिनोफार्म भ्याक्सिनको वैज्ञानिक, सामाजिक र राजनीतिक प्रश्नहरु उठाउँदै डोज, इथिक्स, प्रभावकारिता, निगरानी, सेड्युललगायतको विषयको समाधान जरुरी रहेको उल्लेख गरेको छ ।

भ्याक्सिन प्रयोगमा ल्याउनका लागि विभिन्न कागजातहरु अनिवार्य हुनुपर्ने भएपनि नेपालमा चीनबाट ल्याउन लागिएको सिनोफामले परराष्ट्र मन्त्रालय मार्फत् अहिलेसम्म बुझाएको छैन । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रमा आयातकर्ताको पहिचान नखुलेको बुझिएको छ । सिनोफामले तेस्रो चरणको परीक्षणको तथ्यांक र नतिजाहरुबारे नेपाललाई आधिकारिक जानकारी उपलब्ध गराएको या नगराएको प्रष्ट छैन । भ्याक्सिन ल्याउने भनिएपनि यसबारे स्वास्थ्य मन्त्रालयले नै बेखबर छ ।

सिनोफामले पहिलो चरणमा अनुदानस्वरुप ५ लाख डोज खोप दिने भनेपछि त्यसपछि उसले व्यापारिक बाटो अपनाउने योजना बनाइसकेको छ । अक्सफोर्ड र स्पुतनिक भी भ्याक्सिनको तुलनामा निकै महङ्गो भ्याक्सिन नेपाली बजारमा प्रति डोज १९ डलरले बेच्ने योजना बनेको छ ।

अर्कोतर्फ, सिनोफामको खोपको भण्डारणको विषय पनि चुनौतीपूर्ण रहेको छ । कोल्ड चेन र सप्लाई चेनसहितको भण्डारण तथा खोपको व्यवस्थापनको चुनौती उत्तिकै छ । सिनोफाम खोपको आपतकालिन प्रयोग आधिकारिकताका लागि अनुमति स्पष्ट भएको छैन । यो भ्याक्सिनको गैर क्लिनिकल तथ्यांकको सारांश मात्र रहेको छ । पियर रिभ्यु जर्नलमा प्रष्टसँग अझै पनि खोप प्रभावकारिता र सुरक्षाबारे विश्वसनीय प्रकाशन भएको छैन ।

विश्वभरका अधिकांश मुलुकले चिनियाँ सिनोफाम भ्याक्सिनमाथि विश्वास गर्न सकेका छैनन् । यही भ्याक्सिन नेपालमा प्रयोगका लागि ल्याउन लाग्दा आशंकाहरु पैदा भएको छ ।



प्रतिक्रिया दिनुहोस्