Logo

एशियन लाइफले सार्वजनिक गर्यो म्यादी जीवन बीमा



काठमाडौं, ३० माघ । एशियन लाइफ इन्स्योरेन्सले “एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा” सार्वजनिक गरेको छ । थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा योजना ल्याएको हो ।

कम्पनीको प्रधान कार्यालयमा बिहीबार संचालक समितिको अध्यक्ष श्री दिपक कुमार श्रेष्ठलगायत संचालक समिति सदस्यहरुको उपस्थितिमा बीमा योजना सार्वजनिक गरिएको हो । यस बीमा योजना अन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम रु.२५,०००।– देखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन् । न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल,नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ । यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिनेछैन । यस योजनामा  ऐच्छिक सुविधा लिन सकिने व्यवस्था समेत गरेको छ । दाह संस्कार खर्च,दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा बीमाशुल्क छुट सुविधा रहेका छन् ।

एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको आजकै दिनमा उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु एकै दिनमा जारी गरिएको छ ।

५ अर्ब अधिकृत पूँजी, रु.२ अर्ब १ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष रु.२४.७१ अर्ब रहेको छ । साथै कम्पनीले पुस मसान्तसम्ममा रु.३.१७ अर्ब बीमाशुल्क आर्जन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्