Logo

सचिव व्यापक सरूवा : उद्योगमा भट्टराई, श्रममा गौतम, निर्वाचनमा अधिकारी, अख्तियारमा राय



काठमाडौं, १ फागुन । सरकारले एक महिना अघि देखि रिक्त रहेको उद्योग मन्त्रालयको सचिवमा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई ल्याएको छ । प्रदेश १ को सचिवमा भने भर्खरै सचिवमा बढुवा भएका सुमनराज अर्याललाई पठाइएको छ ।

प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेल र श्रम मन्त्रालयको सचिवमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई सरुवा गरिएको छ । निर्वाचनको समयमा सबैभन्दा महत्त्वपूर्ण मानिएको निर्वाचन आयोगको सचिवको जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुरेश अधिकारीलाई दिइएको छ ।

अख्तियरको सचिवमा भने श्रम मन्त्रालयका सचिव तोयम रायलाई पठाइएको छ । त्यस्तै लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवाली र शिक्षा सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सरूवा गरिएको छ । सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

अन्य सचिवको सरूवा सूचीमा नाम भए पनि कार्यालय टुंगो लगाउने काम भइरहेकोले सूची सार्वजनिक नगरिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए । त्यो सूचीमा सचिवहरू बैकुण्ठ अर्याल, गोपी मैनाली, देवकुमारी गुरागाई, टेक नारायण पाण्डेलगायतको नाम रहेको ती अधिकारीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्