Logo

प्रेमिल काख



डा. प्रदीप ढकाल
कुक्क, कुक्क बाडुली लाग्दा
उनैलाई सम्झिन्थेँ
बाडुली लाग्न बन्द हुन्थ्यो …
म मुस्काउँदै
कोशौँ पर भएकी उनैलाई
अन्तरहृदयले हेरिरहन्थेँ, कल्पिरहन्थेँ
अनि भन्दथेँ –
तिमी यो पलमा यो गरेकी थियौ है
म सोच्दथेँ – हृदय एकाकार भएको अवस्थामा
एकअर्काका दुःखसुख बोध हुन्छ
उनी अचम्मित हुँदै आरोप लगाउँथिन् –
तिमीलाई कसरी थाहा भयो ?
तिमी जासुसी गर्दछौ
मेरो आन्तरिक जीवनमा चियो गर्दछौ
अनि, म अवाक भई
उनले गरेको अविश्वासमा तड्पिन्थेँ …
म ठान्दथेँ –
मेरी प्रेयसीले जीवनको अर्थ दिइन्
जीवन जिउने आधार दिइन्
म सोच्दथेँ –
मेरी प्रेयसीका आँशु पो आँशु
तिनको अर्थ छ, महिमा छ
प्रेयसीका उठेका स्तन,
कसिलो कम्मर नै त जीन्दगी हो नि …
प्रेयसीका असिमित आकांक्षा पूरा गर्न नपाउँदा
आफ्नो विवशतामा मलिन हुन्थेँ
उनका आकांक्षाको पूर्णता नै
मेरो जीवनको सफलता हो नि …
तर जीवन जिइरहँदा अकस्मात्
छट्पटाहट, त्रास र अधुरोपन आइरह्यो
थाहा छैन म के खोज्दथेँ –
निद्रामा व्युँझन्थेँ
सपनामा झस्किँदै उठ्थेँ
यता खोज्थेँ, उता खोज्थेँ
कसलाई खोज्थेँ, किन खोज्थेँ पत्तै भएन
म मेरो जीवन जोडिएको मान्छे खोज्दथेँ
अनि लेख्थेँ – ‘तिमीलाई हरपल खोजिरहेछु’
तर मनमा शान्ति आएन
रातको निद्रामा छटपटी गएन
झल्याँस्स हुँदै सम्झिएँ –
सायद, म मेरी आमा खोज्थेँ …
आफ्ना अभावमय जीवनमा –
मुटु चसक्क दुख्दा – आमा सम्झिन्थेँ
ठेस लागेर लड्दा – बाबा सम्झिन्थेँ …
म घोरिइरहन्छु –
अझै पनि मन किन अतृप्त ?
मनमा किन कम्पन हुन्छ ?
बाडुली लाग्दा प्रेयसी सम्झेर रमाएपनि
मन दुख्दा त आमा नै सम्झिइने रहेछ …
अनि अनायासै सोध्न मन लाग्छ –
आमा, कतै तिमीले त आँशु झारिनौ ?
कतै तिम्रो हृदयमा
मेरो आर्तनादको सन्देश पो पुग्यो कि ?
आमा, म त टाढा, धेरै टाढा
सुन्दरता र भौतिकतामा रमाउँदै
कुना र कन्दरामा भौँतारिँदै
आफ्नो आन्तरिक अस्तित्वका सबै कुरा लुटाएर
बेहोस भएँ कसरी भनुँ ?
चन्द्रमा हेरेर प्रेयसीको सम्झना गर्ने
चन्द्रसँगै तुलना गर्ने
चन्द्रभन्दा पनि शीतल प्रेयसीको माया हो भन्दै
तिम्रो प्रेमको बेवास्ता गरेको
स्वीकार कसरी गर्नु र ?
चोट लगाइदिने
घाऊ बनाइदिने
हिँड्दा हिँड्दै लडाइदिने
मानिसहरु नभइदिएको भए
जीन्दगी कहाँ बुझिन्थ्यो र ?
जीवनका यी सबै व्यथा बाँचिसकेपछि
म कसको सहारामा जाउँ त आमा ?
यो संसारको घना जंगलमा रुमलिँदै गर्दा
म स्वीकार गर्छु –
चन्द्र–सूर्य, ग्रह र सारा ब्रह्माण्डकी प्रतीक तिमी
तिमीबाटै आएको म
फेरि तिम्रै काखमा लडिबुडी गरेर
सारा जीवन बिताउन मन छ
आफ्नो सृष्टिकर्ता ईश्वरमा समर्पित भएर
पुनः अनन्तमा बिलाउन मन छ, आमा …


प्रतिक्रिया दिनुहोस्