Logo

विष्णुडोल गणेश मन्दिरको शिलान्यास



ललितपुर, १ फागुन । महालक्ष्मी नगरपालिका-८ स्थिति विष्णुडोल गणेश मन्दिरको शिलान्यास भएको छ । आज महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले मन्दिरको शिलान्यास गरेका हुन् ।

सिद्धिपुर विष्णुडोल शंखादेवी सडक विस्तारका क्रममा मन्दिर भत्काउनुपर्ने भएपछि पुरानै मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिन लागिएको हो । मन्दिर निर्माणका लागि नगरपालिकाले १० लाख प्रदान गरेको छ । अपुग रकम स्थानीयवासी तथा समाजसेवीहरुबाट संकलन भइरहेको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले धार्मिक सांस्कृतिक पुरातात्विक क्षेत्रहरुको संरक्षण र सम्वद्र्धनका लागि नगरपालिका प्रतिवद्ध भएको बताए । उनले नगरपालिकाले सयौं वर्ष पछिको भविष्यलाई ध्यानमा राखेर विकास निर्माण गरिरहेको बताए । नगरपालिकामा तिव्र शहरीकरण भइरहेकाले भविष्यमा सडक साँघुरो लाग्न सक्ने, खानेपानीको अभाव हुनसक्ने, फोहोरमैला व्यवस्थापन चुनौती बन्न सक्ने लगायतका समस्यालाई ध्यानमा दिएर काम गरिरहेको बताए ।

मेयर श्रेष्ठले नगरपालिकाको वडाको संख्या बढाउने देखि पुनःसंरचनामा पनि आफ्ना तर्फबाट गम्भीरतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको चाहना र भावना अनुसार नै आफू सदैव चल्ने बताए ।

मन्दिर निर्माणको लागत ३५ लाख भन्दा माथि हुने विष्णुडोल गणेश मन्दिर निर्माण समितिका अध्यक्ष लक्ष्मण कार्कीले बताए । उनले दुई महिनाभित्र मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखिएको बताए ।

शिलान्यास कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ, ६ का अध्यक्ष वासु महर्जन, जनप्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्