Logo

यो वर्षको प्रेम दिवस ……



-मोमिला

जिन्दगीको एक मौसम
तिमी पारि म वारि
बिचमा बगेथ्यो आँसुको समुद्र
हिउँदको प्रथम बर्सातमा !

एक प्रहर
रेलवे स्टेसनबाट छुटेको मन
त्यहीँ भेटिन्छ कि भनी पर्खँदा-पर्खँदै
पात-पातमा मेरा आँसुहरू जमे
हरिया पहाडहरू हिमपहाड बने
केवल यादहरूको न्यानो स्पर्श
आतुर-आतुर पग्लेर आँखा
जता-जतै जलतरङ्ग
हिउँदको प्रथम बर्सातमा

प्रकृतिको सबैभन्दा सुन्दर दिन
हिउँदको प्रथम बर्सातमा
माटोको रोमाञ्चक सुगन्ध फैलिएको बेला
पातहरू उमङ्गिएर सङ्गीत बजेको बेला
मैले केवल तिमीलाई नै सम्झेँ
मात्र तिमीलाई नै सम्झेँ
हिउँदको प्रथम बर्सातमा

प्रतीक्षामै
वर्षौँ वर्ष हिउँ बर्सियो
बाटो बरफ बन्यो
कताबाट हुर्रिएर तिम्रै प्रेम बर्सियो कि भन्छु
समय नै बरफ बन्यो
सृष्टिको सारा सौन्दर्य
प्रकृतिको ओठमा जम्यो
अँगालोको मदहोसीमा
जवानीको रङ्ग चढ्यो
अङ्ग-अङ्ग तरङ्गिएर
प्रेमकिनारमा अडेसा लाग्यो
हिउँदको प्रथम बर्सातमा !
*
सबैलाई प्रेम दिवसको प्रेमिल शुभकामना



प्रतिक्रिया दिनुहोस्