Logo

डा. शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्रीले बोलिदिनुभयो त चुनाव भइहाल्छ देशमा ? के कुरा गरेको तपाईँहरूले ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले यो तीन वर्षको अवधिमा खासै केही काम नगरेको बरु, जनतालाई विश्वासघात गरेको गम्भीर टिप्पणी गरेका छन् । उनले कम्युनिष्टहरू ढाँट, छल गर्न सिपालु भएको पनि तर्क गरेका छन् । आज विहान (सोमबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

पार्टी सभापतिले अपिल गर्नुभएको छ–काँग्रेस अब प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमकाविरुद्ध सडकमा आउनुपर्यो भनेर । काँग्रेस सडकमा नै छ ? अब तपाईँहरूको योजना के छ ?

काँग्रेस त सडकमा नै छ त । कहाँ जानु काँग्रेस ?

काँग्रेस सडकमा नै छ भनेर कसले पत्याउने ? अहिलेसम्म कहाँ र कति विरोधसभा गर्नुभयो भन्नुहोस त ?

हामीले गरेका विरोध सभाहरु तपाईँले सोचेको जस्ता भएनन् होला । तर, वडासम्म पुर्याएका छौ त हामीहरुले ।

आमसभाहरु एउटा पनि गर्नुभएन नि ? मैले देशभरिको कुरा गरेको क्या ?

आमसभा त गर्दैछौँ नि । आज जिल्लाको आमसभा छ । क्षेत्रहरुको गर्यौं । प्रदेशका क्षेत्रहरुको गर्यौं । गाउँपालिका र नगरपालिकामा पनि गरिसक्यौं । आखिर विरोधसभा भनेको त एकैदिन वा एकैचोटी सबै कुरा हुँदैन् नि ।

नेपाली काँग्रेसको यो प्रदर्शन संसद् पूनःस्थापनाको लागि हो कि ? निर्वाचनको लागि हो ? जनता अझै अन्यौलमा छन् त ?

नेपाली काँग्रेसले प्रधानमन्त्रीको संसद विघटन गर्ने यो कदम असंवैधानिक भनेको छ । अलोकतान्त्रिक भनेको छ । बदनियतपूर्ण तरिकाले गरेको भनेको छ । र, निरंकुशतातिर अगाडि बढेको भनेको छ । यो असंबैधानिक कदम सच्याउ भनेपछि के भन्न खोजेको त ? संसद् पुनःस्थापना गर नै भनेको त होला नि ।

पार्टी सभापतिले पूनःस्थापनाको बारेमा अहिलेसम्म एक शब्दपनि बोन्नुभएको छैन्, किन ?

पार्टी सभापतिले के बोल्नुभएको छ वा के बाल्नुभएको छैन्, त्यो उहाँलाई सोध्ने कुरा हो ।

अनि तपाईँहरुले नसोध्ने पार्टी सभापतिलाई ?

हामीले त असंवैधानिक भनिसक्यौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको निर्णय हो । असंवैधानिक भन्नेवित्तिकै यो कदम सच्याउ भनेपछि । यसको अर्थ के लाग्छ ? यो कसरी सच्चिन्छ असंवैधानिक कदम ?

निर्वाचनबाट सचिन्छ अरे, तपाईँकै पार्टीका सभापतिले भन्नुभएको छ नि ?

अरे बाबा! निर्वाचनबाट सच्चिन्छ कि ? संसद् पुनस्थापनाबाट सच्चिन्छ ?

तर, सभापति देउवाले त अदालतको विचराधिन मुद्दामा जुलुस निकाल्न मिल्दैन, निर्वाचनको विकल्प छैन् र निर्वाचनमा जानुपर्छ भनेर आफ्नो कुरा प्रष्टसँग राखिसक्नुभएको छ नि ?

तपाईँले जुन कुरा उठाउनुभयो नि, सभापतिले कहिले ? कहाँ र कुन ? सन्दर्भमा भन्नुभयो म जान्दिनँ । मैले त मिडियामा पढेकोमात्रै हो । तर, सभापतिजी जुनबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । निर्वाचन घोषणा गर्नुभयो, निर्वाचन हुन सकेन् । संसद् राजालाई बुझाउनुभयो । त्यसपछिका घटनाहरु सम्झिनुहुन्छ । शेरबहादुर देउवाजी प्रधानमन्त्रीले गरेको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गर्यो । त्यति त सम्झिनुहुन्छ नि तपाईँ । त्यसपछि गिरिजाबावु आफैँ ‘वन अफ द सिगनेट्री’ हुनुहुन्थ्यो । तर, त्यसपछि जनताको जनवाद आयो । समय लाग्यो । समय लाग्छ । तर, उहाँले किन बोलिरहनु भएको छ ? त्यो उहाँलाई नै सोध्नुहोस । मलाई सोध्ने होईन । उहाँकै कार्यकालमा भएको त्यो घट्ना हो नि त । त्यसरी बोलिदिन हुँदैन थियो उहाँले ।

त्यसोभए संसद् पूःस्थापनाको एजेण्डा लिएर काँग्रेस सडकमा छ भन्न खोज्नुभएको हो ?

होईन, संसद विघटन असंवैधानिक छ, सच्याउ भनिसकेपछि के हो त ? तपाईँ आँफै बुझ्नुहोस ।

तपाईँहरुको एजेन्डा भन्नुहोस क्या डाक्टर साहेब ? तपाईको बटमलाइन के हो ?

भनेँ त योभन्दा के बटमलाइन सोध्दै हुनुहुन्छ ? तपाईँ गज्जबको हुनुहुन्छ ।

उसो भए संसद् पूनःस्थापना हुन्छ भन्ने काँग्रेसको जिकिर हो त ?

होईन, हुन्छ या हुँदैन भन्ने कुरा सर्वोच्च अदालतले निर्णय गर्ने कुरा हो । म सर्वोच्च अदालतका न्यायाधीशहरूलाई दबाब दिनपनि चाहान्नँ । आग्रह गर्नपनि चाहान्नँ । यसो गरिदेउ भनेर उहाँहरूले संविधान पढ्नुभएको नै होला । हामीभन्दा धेरै जान्नुहुन्छ । हामी त कानूनका विज्ञपनि होइनौं । उहाँहरुले गर्ने निर्णय हो । संविधानको कुनै धारा देखाउनुपर्यो नि त उहाँहरुले ।

काँग्रेसको केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ, यसको निर्णय के हुन्छ ? एक/दुई/तीन बुँदागत रूपमा बताउनुहोस त ? जनता जान्न चाहन्छन् ।

हामीहरुको एजे०डा के छ भने यसपटकको नेपाली काँग्रेसको कार्यसमितिको बैठक एक÷दुईवटा कुरा महत्वपूर्ण छन् । एक त विरोधसभा कसरी गर्ने भन्नेमा छलफल हुन्छ । दोस्रो कुरा नेपाली काँग्रेसको अधिवेशन फागुन ७ गते भनेर तोकिएको थियो । अब हाम्रो अधिवेशन फागुन ७ गते हुन सक्दैन् । कहिले गर्ने भन्ने कुरा एकदम हुनेगरिकन किटान गर्नुपर्ने हुन्छ । संविधानतः हामीलाई ६ महिना समय छ । त्यो भदौसम्म जान्छ । भदौको अन्त्यभन्दा पहिले हामीले अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।

त्यसोभए भदौमा काँग्रेसको १४औं महाधिवेसन हुन्छ ?

त्योभन्दा पहिले नि हुनसक्छ ्। जेठमै पनि हुनसक्छ नि !

कसरी हुन्छ ? प्रधानमन्त्री ओलीले चुनावको लागि मिति तोकिसक्नुभयो, अब यहाँहरूले चुनावको पनि त तयारी गर्नुपर्ला नि ?

कुन चुनावको कुरा गर्दै हुनुहुन्छ, ऋषिजी ?

आगामी बैशाख १७ गते र बैशाख २७ गतेको चुनाव नि ? तपाईँलाई थाहा छैन् ?

तपाईँ हावामा कुरा नगर्नुहोस न । कुन चुनावको कुरा गरेको तपाईँले ?

प्रधानमन्त्रीले त चुनाव जसरीपनि गर्छु भन्नुभएको छ त ?

प्रधानमन्त्रीले बोलिदिनुभयो त चुनाव भइहाल्छ देशमा ? के कुरा गरेको तपाईँहरूले ?

होईन्, देशको प्रधानमन्त्रीले भनेको कुरा हुँदैन भन्या ?

हुँदैन् । हुँदैन् । उहाँले तीन वर्षमा धेरै कुरा भन्नुभएको थियो । रेल, पानीजहाज कुदाउँछु भन्नुभएको थियो । बलात्कारका घट्नाहरु घटाउँछु भन्नुभएको थियो । तर, अहिले त झन बढेकोबढ्यै छन । भ्रष्टाचारी न्यूनीकरण गर्छु भन्नुहुन्थ्यो यति होल्डिङ र ओम्नीको के भइराखेको छ ? वाइडबडीको के भइराखेको छ ? अन्य भ्रष्टाचार चीन प्रकरणमा के भइराखेको छ ? उहाँले त धेरै कुरा बोल्नुभएको छ । बोलेर हुँदैन नि त ।

त्यसोभए ओली सरकारको तीन वर्षे कार्यकाल कति सफल ? कति असफल त ? समिक्षा गर्नुहोस त ।

सफल र असफल त जनताले भोलि निर्णय दिनेनै छन् । होइन, तर उहाँले गफमा सबै सफल पार्नुभयो । कुरा धेरै गर्नुभयो । बोलेर हँुदैन नि त काम एउटापनि गर्नुभएन् । कुनै एउटा काम बताइदिनुहोस त । सामाजिक सुरक्षा लागु गर्ने महत्वपुर्ण कुरा तामझामको साथ गर्नुभयो, अहिले कहाँ छ ? निर्मला पन्तको बलात्कार उहाँको बेलामा भएको हो । तीन वर्ष भइसक्यो, आजसम्म अपराधी पत्ता लागेको छैन । मलाई डर लागेको छ । भागरथी भट्टको पनि त्यही हाल हुन्छ कि भनेर । अहिले बजार मूल्य आकासिएको छ । पानीजहाज र रेलको कुरा गर्दा, मैले पनि भनेको थिएँ– पानीजहाजमा र रेलमा चढ्छु भनेर, अनि टिकट कहाँ पाईन्छ भनेर म पनि खोज्दै थिएँ, के सफल भन्नुहुन्छ ?/के असफल भन्नुहुन्छ प्रधानमन्त्रीलाई ?

प्रधानमन्त्रीले भन्नुभएको छ–मलाई अवसर प्राप्त भएको थियो, तर पार्टीभित्रको असहयोगले काम गर्न पाईनँ । यहाँको प्रतिक्रिया के छ ?

नेपाली जनता बेकुव छैनन् । नेकपालाई नेपाली जनताले झण्डै÷झण्डै दुई तिहाईको बहुमत दिएका हुन नि । संसद्ले चिन्दैन् पार्टीलाई । संसद्ले संसदीय दललाई चिन्छ । नेकपाको संसदीय दललाई चिन्छ । दलभित्र समन्वयको भूमिका खेल्न सक्नुभएन भने त्यसको दोष देशलाई दिन पाईँदैन । जनतालाई दिन पाइँदैन । कार्यकर्ताले दुःख दिए भनेर भन्न पाइदैन ।

कोरोनाको बेलामा सरकारले राम्रै काम गरेको होइन र ? प्रधानमन्त्रीको त त्यही दाबी छ त ?

कोरोना कालमा त राम्रो काम गर्यो, कस्तो राम्रो काम गर्यो भने–ओम्नी इन्टरनेश्नल, जसको औषधी खरिदमा कुनै एक्सपेक्ट्सन नभएको कसको कम्पनी हो त्यसलाई दिईयो । त्यसमा कति भ्रष्टाचार भयो भन्ने कुरामा तपाईँले कति अन्तर्वार्ता लिनुभयो होला, होइन ? भ्रष्टाचारीलाई एक मिनेटपनि छोड्दिन भन्नुहुन्छ । तर, मन्त्रिमण्डलमै उहाँहरुलाई राखिरहनुभएको छ । अनि के भन्ने त्यसलाई ? एउटै उदाहरण मात्रै दिन्छु । धेरै उदाहरण पनि दिन्नँ म ।

तर, सरकारका मन्त्रीले भनेका छन–आर्थिक सूचांक राम्रो छ अरे, विकास निर्माण पनि धेरै भएका छन् अरे ?

मैलेपनि सुनें–प्रदिप ज्ञवालीले सूचांक राम्रो छ भनिरहनुभएको छ । ट्रान्सफरेन्सी इन्टरनेश्नलले निकालेको रिपोर्ट पढे हुन्छ नि ? त्यो त अब जनताले विश्वास गर्ने पक्षमा पनि छैनन् । कम्युनिष्टहरू बोलीले खाँदो रहेछन क्या ।

अनि तपाईँहरुले चाहीँ किन बोल्न सक्नुभएन त ? लोकतन्त्र ल्याउनुभयो, तर अहिले चुप लागे बस्ने ?

हत्तेरिका! कस्तो बुझनुहुदैन ? उहाँहरु अब सरकारमा हुनुहुन्छ त बोलिरहेका छौँ त । हामीहरु यो के हो त ? इन्टरभ्यू दिइरहेको छु । बोलेको होइन ?

प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना अगाडि बढाएँ भन्नुभएको छ त ?

कुन योजना मलाइ भन्नुहोस त ?

उहाँले धरहरा भन्नुभएको छ ?

ए, ए! धरहरा अरुपनि भन्नुहोस न ?

अर्को सिहंदरबार पनि भन्नुभएको छ, प्रधानमन्त्रीले आज उद्घाटन गर्दैहुनुहुन्छ ?

सुन्नुहोस न सिहंदरबार÷धरहरा उहाँले बनाउनुभएको हो ? त्यही त म भन्दैछु त भुकुम्पपछि कति जना प्रधानमन्त्री भए ? कसरी विदेशबाट पैसा आयो ? अरु भन्नुहोस न ? अरु प्रोजेक्ट भन्नुहोस न ?

लुम्बिनी विमानस्थलको कुरा गर्नुभएको छ ?

लुम्विनी विमानस्थ उहाँले गरेको हो ?

पोखराको कुरा गर्नुभएको छ ?

उहाँको पालामा भर्खरै सम्पन्न हँुदैछ । अरु कति प्रभानमन्त्री गइसके जनतालाई त्यसै धोका नदिनुहोस तपार्ईँजस्ता पत्रकारले, मिडियाकर्मीहरूले पोखरा उहाँले बनाएको हो । लुम्बिनी उहाँले बनाएको हो। नीजगढ उहाँले बनाएको हो । कसले भन्दैछ ? यस्ता वाहियात कुरा गर्ने ? तपाईहरु पुर्वप्रधानमन्त्री बहालवाला प्रधानमन्त्री दुईजना पुर्वप्रधानमन्त्री, तीनजना प्रत्रानमन्त्रीलाई चार्ज लगाएको छ । हो कि होईन ? खोई त त्यसको छानबिन गरेको छानबिन गरेको भए हामी दङ्ग पर्दथ्यौं नि त ।

 

 



प्रतिक्रिया दिनुहोस्