Logo

कांग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न पाउँदैन : प्रदिप पौडेल



फागुन ३, दैलेख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दैलेखमा आयोजित विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्का दिए र यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय नभएको बताउँदै उनले भने, ‘ यो तीन वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन । तीन वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन’ ।

पौडेलले मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरु नभएको दाबी गरेका छन् । ‘पहिले सुरु भएका योजनाहरु निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि काम एकदमै ढिलो भयो’, उनले भने, ‘यो सरकार आउँदा मेलम्चीको काम जम्मा १०५ मात्रै बाँकी थियो । तीन वर्षसम्म त्यो १०५ काम पनि पूरा भएन ।’

कार्यक्रममा बोल्दै उनले भने, ‘तीन वर्षमा केपी ओलीजीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कति पटक अस्पताल जानुभयो ? यो नेपाली जनताको सरोकारको विषय होइन ।’

ओली सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनको भनाइ थियो । उनले संसदले पास गरेको नेपालको नक्सा केपी ओलीले शिक्षा मन्त्रालयले प्रकाशित गर्ने पाठ्यपुस्तकमा राख्न नदिएको पनि बताए ।

उनले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकीरसमेत गरेका छन् ।

प्रधानमन्त्रीको रुपमा शपथ लिने बेलामा ईश्वरलाई मान्दिन भन्ने केपी ओलीले संसद विघटन गरेर पशुपतिमा सुनको जलप लगाउने घोषणा गरेर नाटक गरेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै उनले केपी ओली र विद्यादेवी भण्डारी संविधान भन्दा माथि बस्न खोजेको तर नेपालमा कांग्रेस रहँदासम्म संविधानभन्दा माथि कोहीपनि बस्न नपाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्