Logo

श्रमिक सम्बन्धबिना श्रीपञ्चमी पर्व मनाउँदै किसान



महोत्तरी, ४ फागुन । आज माघ शुक्लपञ्चमी अर्थात हिन्दू परम्परामा श्रीपञ्चमी पर्व मनाइँदै छ । मुख्य रुपमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गरिने यो पर्व मिथिलामा भने कैयन अवसरका लागि प्रतिक्षा हुने गरेको छ ।

सरस्वती पूजनोत्सवको अवसरले किसानका खास उत्पादनले बजार पाउने र श्रमिक सम्बन्धन हुने परम्पराले यो कृषि व्यवसायको दृष्टिमा वर्षको पहिलो दिन मानिन्छ । पर्वको अवसरमा बयर, केशोरसहितका आफ्नो उत्पादनको फलले राम्रो बजार पाउने र यसै दिन अघिल्लो एक वर्षको कृषि श्रमिक सम्बन्धन हुने मैथिली परम्पराले किसानका लागि यो खास पर्व बन्ने गरेको हो ।

तर, कृषि श्रमिक र कृषि ज्यावल मर्मत गर्ने लोहार पाइन छाडेपछि यस भेगका किसानका लागि पर्व निराश बन्दै आएको छ । श्रीपञ्चमीका अवसरमा यसपाली कृषि श्रमिक पुज्न नपाइएको चिन्ताले महोत्तरीको बर्दिबास नगरपालिका– १३ विजलपुराका किसान रामसुन्दर ठाकुरलाई छटपटी बढेको छ । वर्षेनी अघिल्लो एक वर्षका लागि कृषि श्रमिक (हलो जोत्ने, कोदालो खन्ने, घाँस÷दाउरा गर्ने, गाईबस्तु चराउने र हेरचाह गर्नेसहितका कामका लागि) श्रीपञ्चमीकै दिन टुङ्गो गर्ने चलन छ । यस दिन किसानले आपसी सहमतिमा एक वर्षका लागि टुङ्गो भएका श्रमिकलाई नयाँ बस्त्र पहि¥याएर अबीरको टीका लगाई पुजन गर्दै मिष्टान्न भोजन गराएर दक्षिणा दिएपछि श्रमिक बरण पक्का हुन्छ ।

तर, यसपाली यस्तो श्रमिक नपाएपछि वरण गर्न नपाएको चिन्तामा ठाकुरको छटपटी बढेको हो । “कति दिन कति जना ९कृषि श्रमिक० खोजे, छिमेकका बस्ती पनि चाहारे, काम गर्ने मान्छे भेट्टाइन”, ठाकुरले लामो सुस्केरा हाल्दै भन्नुभयो, “अब खेतीपाती गरेर गुजारा चलाउने दिन गए, खै के गर्ने हो रु”, महोत्तरीसहितका मिथिला क्षेत्रमा वसन्तपञ्चमीसमेत भनिने श्रीपञ्चमीका दिन कृषि कार्यका लागि अघिल्लो एक वर्षका लागि कृषि श्रमिक र कृषि ज्यावल (हलो ठोक्ने, कुटो कोदालोे र हसिया, कँचिया उध्याउने र बिँड ठोक्ने) मर्मत गर्ने लोहार (यस्तो काम गर्ने मिथिलाका जाति विशेष) को टुङ्गो गरेर पुज्ने (वरण गर्ने) परम्परा भए पनि अब गाउँ÷नगर, बस्तीमा यी कामका मान्छे पाइन छाडेपछि ठाकुरसहितका किसानको चिन्ता बढेको हो ।

जिल्लाका गाउँ–नगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरबका देशमा गएपछि गाउँ नगरबस्ती युवाबिहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँ बस्तीमा नरहेपछि श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नपाइएको बर्दिबास–९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्र महतो बताउछन् ।

“एक महिनादेखि आफ्नै र वरिपरीका बस्तीमा जनको खोजी गरेँ”, महतोले दिक्दारिँदै भने, “तर कहीँ भेटिएनन्, कामकाजी उमेरका सबै युवा विदेशिए । अब खेती गरेर खाइएला भन्ने आश म¥यो ।”पछिल्लो एक दशकयता गाउँगाउँबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकैपछि धकेलिएको यस भेगका किसानको भनाइ छ ।

कृषि कार्यका श्रमिक नपाइएपछि बिघौंबिघा खेतबारी बाँझै बस्न थालेका छन् । यसपाली त श्रमिक नपाएको चिन्ता मात्र नभइ अधिकमासको प्रभावले पर्व पछि धकेलिँदा बयर पहिले नै रुखबाट झरेका र केशोर माटोमुनी नै बिग्रिएको किसान बताउँछन् । श्रीपञ्चमी पर्वको सरस्वती पूजामा बयर (रुखमा फल्ने फल विशेष) र केशोर माटो मुनी फल्ने फलविशेष) प्रसाद बनाउने चलनले यी दुबै फलको निकै महत्व हुन्छ । यसपाली पर्व आउनुपूर्व नै बयर माघ (सौरमासको गणनाको) मै झरिसकेको र केशोर पर्व पर्खदा पर्खदै माटो मुनिनै सड्ने, कालो कत्ला हुन थालेर बिग्रेपछि किसानले मनमाफिकको आर्जन गर्न नपाइएको बताएका छन् ।

खासगरी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रुपमा मनाइने मिथिला परम्परामा अब श्रमिक भेटाइन छाडेपछि नानीहरुलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । यस पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास रहिआएको छ । यद्यपि मान्छेको अभावमा यस्ता ज्यावल प्रयोग हुन छाडेपछि यो चलन पनि हराउँदै गएको पाका मैथिल बताउँछन् । रासस – File photo



प्रतिक्रिया दिनुहोस्