Logo

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने



काठमाडौं, ४ फागुन । भागरथी भट्टको हत्याका संदीग्धको पहिचान भइसकेको खुलेको छ । प्रहरीले हत्याका संदीग्ध नै संलग्न रहेको निष्कर्ष लगभग निकालिसकेकाले दुई दिनभित्र सार्वजनिक गर्ने गरी प्रमाण जुटाइरहेको बुझिएको छ ।

दोषीबारे कुनै आशंका नरहोस् भन्ने हेतु यथेष्ठ प्रमाण जुटाउन प्रहरीले अनुसन्धानमा बढी समय लगाएको बुझिएको छ । सम्पूर्ण प्रमाण संकलन गरेपछि मात्र सार्वजनिक गर्ने गरी शतर्कतापूर्वक अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

घटनामा एक वा त्योभन्दा बढी संलग्न भए नभएकोबारे पनि सार्वजनिक गर्ने समयमै खुलाइने अनुसन्धानमा संलग्न प्रहरीले बताए । घटना अन्य स्थानमा घटाइएको या घटनास्थलमै घटाइएकोबारे पनि प्रहरीले गहिरिएर अनुसन्धान गरिरहेको छ ।

यसैगरी, गृहमन्त्री रामबहादुर थापा बादलले भगिरथी हत्याका दोषी नजिक पुगिसकेको खुलासा गरेका छन् । उनले गृह मन्त्रालय पुगेका नेपाल बार एशोशिएसन महिला समितिका प्रतिनिधिहरुसँग कुराकानी गर्दै दोषी चाँडै सार्वजनिक गर्ने बताए । उनले भने,‘हामी अपराधीको नजिक पुगिसक्यौं, चाँडै सार्वजनिक गर्छौं ।’ गृहमन्त्री बादलको भनाईले पनि घटनाका दोषी पत्ता लागेको पुष्टि भइसकेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले पनि दुई दिनभित्र भागिरथी हत्याका दोषी सार्वजनिक गर्ने बताएका छन् । उनले भने,‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हामी एक दुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्छौं ।’ सुवेदी आफै घटनास्थल पुगेर अनुसन्धानमा सक्रिय भएका थिए ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण गिजोलिँदा दोषी पत्ता लगाउन प्रहरी असफल भएबाट यसपटक गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बुझिएको छ । गृहमन्त्री बादलले पनि निर्मला हत्या प्रकरण जस्तो भागरथी हत्या प्रकरण जटिल नभएको बताएका छन् ।

भागरथीलाई जङ्गलको बाटोबाट लतार्दै झाडीमा लगी बलात्कारपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थल नजिकै भागरथीको छालाको सानो टुक्रा समेत फेला परेको छ । उनका मोबाइल पनि भेटिएको छ । यीबाहेक घटनामा दोषीको पहिचान खुल्ने वस्तुहरु पनि फेला परेका छन् । यसैको आधारमा अनुसन्धान बढाइएको छ ।

२१ माघमा १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि प्रहरीले गरिसकेको छ । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो । प्रहरीले बलात्कारपछि हत्या पुष्टि गरिसकेको छ ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । तर, उनी घर पुगिनन् । साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्