Logo

डिआइजी उत्तम सुवेदीले ‘भागरथी हत्या’ का दोषी यसरी पत्ता लगाए



काठमाडौं, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि नेपाल प्रहरी निकै दबाबमा थियो । विगतमा निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि हत्या भएपनि दोषी पत्ता लाग्न सकेको थिएन । त्यसैले भागरथी भट्ट हत्या प्रकरणले राजनीतिक रुप लिन थालिसकेको थियो ।

सडकमा बलात्कारविरुद्ध प्रदर्शन बढ्दै गएको थियो । यसले प्रहरी मुख्यालय मात्र नभई सिंहदरबार र बालुवाटार समेत दबाबमा परे ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल देखि आइजीपी शैलेश थापा क्षेत्रीले समेत घटनाबारे चासो बढाएका थिए ।

क्षेत्रीले सिधै सुदूर पश्चिमका डिआइजी उत्तमराज सुवेदीलाई सम्पर्क गरी घटनाको अनुसन्धानबारे छलफल गरेका थिए ।

प्रहरी मुख्यालको निर्देशनलगत्तै डिआइजी सुवेदी आफै बैतडी पुगे । उनी घटनास्थलमा समेत पुगे । तालिमप्राप्त कुकुर र प्राविधिकहरु समेत लिएर सुवेदी बैतडी पुगेपछि आरोपी दिनेश भट्ट समेतको मुटुले ढ्याङ्ग्रो ठोकेको थियो । उनी अन्य दिन बलात्कारविरुद्धको प्रदर्शनमा पुग्थे । तर, सोही दिन गोठालो गए । त्यसले उनी शंकाको घेरामा परे ।

डिआइजी सुवेदीले संयम भएर घटनाबारे गहिरो अनुसन्धानको नेतृ्त्व लिए । उनले बरु समय लागोस् तर दोषी उम्कन नपाओस् र प्रमाणहरु पनि यथेष्ठ संकलन होस् भन्ने उद्देश्यका साथ पाइला चाले ।

नभन्दै दिनेश भट्टको पहिचान भयो । उनलाई निगरानीमा मात्र राखेर अनुसन्धान जारी राखियो । दिनेशकै घटनामा संलग्नता रहेको लगभग निश्चित भएपछि उनलाई पक्राऊ गरी बयान लिइयो ।

सुवेदीले निकै सावधानी अपनाउँदै कुशलतापूर्वक अनुसन्धानको नेतृत्व लिएर भागरथी हत्याका आरोपी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन सके ।



प्रतिक्रिया दिनुहोस्