Logo

डिजिटल भुक्तानीको क्षेत्रमा ‘पे वेल’ डिजिटल वालेट सञ्चालनमा (फोटोफिचर)



काठमाडौं, ५ फागुन । डिजिटल भुक्तानीको क्षेत्रमा ‘पे वेल डिजिटल वालेट’ संचालनमा आएको छ । पे वेल नेपाल कम्पनीले औपचारिक रुपमा उक्त ‘पे वेल’ डिजिटल वालेट गत माघ २७ गतेदेखि संचालनमा ल्याएको हो । राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कम्पनीले सुरुवात गरेको डिजिटल वालेट पे वेलको औपचारिक रुपमा सेवा आरम्भ गरेका हुन् ।

सो क्रममा उनले राष्ट्र बैंकले लिएको डिजिटल नेपालको अभियानलाई यस्ता भुक्तानी कम्पनीले सहयोग गरेको बताए । उनले राष्ट्र बैंक को ५ वर्षे वित्तीय क्षेत्र विकास रणनीतिमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु रहेको जानकारी दिए । साथै भुक्तानी प्रदायक कम्पनीहरुको विकास विस्तारको लागि राष्ट्र बैंकले नियमनसगै सहयोग समन्वय गर्ने विश्वास दिलाए ।

‘पैसा पठाउन, पाउन र तिर्न पे वेल नेपाल’ भन्ने मुल नाराका साथ स्थापना भएको कम्पनीले अन्तराष्ट्रियस्तरको अत्याध्निक तथा नविनतम प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्ने कम्पनीका कार्यकारी अधिकृत डिल्लीप्रसाद चौधरीले बताए छ । कम्पनीको भुक्तानी सेवा प्रणाली साइबर सुरक्षाको दृष्टिकोणले समेत सुरक्षित र विश्वसनीय रहेको उनको भनाइ छ ।

पे वेल नेपालबाट विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिनेछ । यसैगरी सरकारी राजश्व भुक्तानी, शेयर खरिद बिक्रीको भुक्तानी, तथा सहज सरल र सुरक्षित तरिकाले रकम समेत पठान सकिने जनाइएको छ । यस्तो इन्टरनेटको पहुँच नपुगको स्थानमा समेत अफलाइन प्रविधिमार्फत् भुक्तानी सेवा उपलब्ध गराउने तयारी कम्पनीको छ ।

ग्राहकहरुले पे वेल नेपालको एप एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । वित्तीय, शैक्षिक, धितोपत्र सहकारी, स्वास्थ्य, पर्यटन, जस्ता व्यवसायीक क्षेत्रमा लामो अनुभव रहेका व्यक्तिको अग्रसरतामा २०७५ बैशाखमा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको कम्पनीले नेपाल राष्ट्र बैंकबाट २०७७ असोज ११ गते भुक्तानी सेवा प्रदायकको इजाजत पाएको थियो ।

हाल एक करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले व्यापक रुपमा आफ्नो सेवा विस्तार गर्न थप पूँजी आवश्यकता महसुस गरी १० करोड रुपैयाँमा पूँजी वृद्धि गर्न नेपाल राष्ट्र बैंकमा प्रस्ताव गरेको छ । राष्ट्र बैंकबाट पूँजीवृद्धिको अनुमति सँगैसँगै कम्पनीको सेवा विस्ता र पूँजी वृद्धिसँगै पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरी सर्वसाधारणमा शेयर जारी समेत कम्पनीको लक्ष्य रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्