Logo

वकिलको चार सय वर्ष पुरानो पहिरन



वकिलको पहिरन भनेकै कालो कोट हो । प्रायः वकिल कालो कोट र सेतो कमिज लगाउँछन् । कालो कोट तथा सेतो कमिजले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने जनविश्वास छ । विश्वभर नै वकिलको पहिरन किन कालो कोट भयो त ? यसका केही रोचक तथ्यः

सन् १३२७ मा बेलायती शासक एडबर्ड तृतीयले वकालतको सुरुवात गरेका थिए । त्यस समय पहिरन संहिताका आधारमा न्यायाधीशहरूको भेषभुषाको मापदण्ड बनाइयो । त्यस समय न्यायाधीशहरूले शिरमा एक भुत्लायुक्त मुकुट लगाउँथे ।

वकालतको सुरुवातको समयमा वकिलहरूलाई चार भागमा विभाजन गरिएको थियो । जसमा स्टुडेण्ड अर्थात् प्रशिक्षार्थी, प्लिडर, बेन्चर र ब्यारिस्टर थिए । ती सबैले न्यायाधीशलाई स्वागत गर्थे ।

त्यस बेला अदालतमा सुनौलो रातो रङको कपडा तथा खैरो रङको गाउन लगाउने चलन थियो । त्यसपछि सन् १६०० मा वकिलको पहिरनमा परिवर्तन भयो । वकिलले पनि लामो खाले गाउन लगाउन सुरु गरे । त्यो पहिरनले वकिल र न्यायाधीशलाई आम सर्वसाधारणभन्दा फरक देखाउँथ्यो ।

सन् १६९४ मा बेलायती महारानीको बिफरका कारण मृत्यु भएपछि शोक मनाउनका लागि कालो गाउन लगाएर एकै ठाउँमा जम्मा हुनका लागि तत्कालीन राजा विलियम्सले सबै न्यायाधीश तथा वकिलहरूलाई आदेश दिए । रानीको मृत्युमा लगाइएको त्यो कालो पहिरन नै वकिलहरूको आम पहिरन बन्न पुग्यो । सुरुमा गाउनको चलन थियो । तर बिस्तारै कालो कोटको चलन आयो । समय क्रमसँगै कालो कोट वकिलको पर्यायवाची बन्न पुग्यो ।

वकिलले लगाउने कालो कोटले मुद्दाको दुई पक्षलाई झल्काउँछ । कालो रङलाई प्रतिरक्षाको रङ मानिन्छ । कानुन अन्धो हुन्छ । यसले मानिसको रङ हेर्दैन, साक्षी र प्रमाण हेर्छ । कालो र सेतो रङ अन्तरविरोधी रङ हुन् । न्यायसँग संलग्न दुई पक्षबीच न्यायपूर्ण निर्णय निकाल्नु हो- कालो र सेतो रङ । सेतो र कालो रङ दुई विपरीत धारणाको प्रतीक हो । भनिन्छ, कालो रङ सुरक्षाको प्रतीक पनि हो ।

एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्