Logo

कामसूत्रका पहिलो स्रष्टा होइनन् वात्स्यायन



डा. तुलसी भट्टराई : स्त्री-पुरुषको काम-रतिसुखलाई वात्स्यायनले मानवजीवनको एउटा साधनका रुपमा मानेका छन् ।  कामशास्त्रसम्बन्धी ग्रन्थ ‘वात्स्यायन कामसूत्र’ का स्रष्टा मानिन्छन्- वात्स्यायन । यस कामसूत्रलाई आयुर्वेदकै एउटा खण्ड अध्याय  पनि मानिएको छ । वात्स्यायन आयुर्वेद-वैद्यशास्त्री थिए । उनले व्यक्तिको मनोदशा, मनोविज्ञान अध्ययन गरेर ‘कामशास्त्र’’ लेखे । काम र स्वास्थ्यबीच ठूलो सम्बन्ध रहेको बुझेर छुट्टै ग्रन्थ तयार पारेका थिए । इस्वी सन् ३०० तिर यी वात्स्यायनको जन्म दक्षिण भारतको आन्ध्र छेउछाउमा भएको मानिन्छ । यिनी विद्वान् थिए । प्रारम्भमा यिनको नाम मल्लनाग थियो । पछि आचार्य वात्स्यायनबाट प्रसिद्ध भए ।

आयुर्वेदका प्राचीन ग्रन्थहरुमा वाजीकरव नामबाट कामशास्त्रीय चिकित्सा पद्धतिको वर्णन छ । त्यसो त वात्स्यायन नै कामशास्त्र-कामसूत्रका पहिलो स्रष्टा होइनन् । उनीभन्दा अघि ‘‘नन्दी’ भन्नेले एक हजार अध्यायको कामसूत्र रचेका थिए । त्यसपछि औद्दोलिक श्वेतकेतु नामक विद्वान्ले उक्त ग्रन्थलाई सानो पारेर दुई सय अध्याय जति बनाए । फेरि वात्स्यायन पांचाता भन्नेले अझ संक्षेपमा तयार पारे । त्यसपछि वात्स्यायनले यो ‘कामसूत्र’ बनाएका थिए ।

वात्स्यायनले उल्लेख गरेअनुसार दक्तकाचार्य, चारायणाचार्य, वीरभद्र सुवर्णनाम, कुचुभार, यशोधर आदि दर्जनौ आचार्यहरुले कामशास्त्रबारे विभिन्न ग्रन्थहरु रचेका थिए । कतिपय ग्रन्थ हराए, लोप भए । वात्स्यायनका ‘कामसूत्र’ माथि विभिन्न टीका र भाष्यहरु पनि रचिएका छन् । शंकराचार्य समेतले कामसूत्रमाथि व्याख्या गरेका छन् ।

वात्स्यानको कामसूत्रमा सात अधिकरण अर्थात्– सात अध्याय छन् । यीमध्ये- १. कामपुरुषार्थको आचार शास्त्र, २. श्रृंगार रसशास्त्र र ३. कामशास्त्र विषयक आचार–विचार वर्णन– यी तीन अध्याय प्रमुख मानिएका छन् । यी तीन अध्यायमा क्रमशः धर्म, अर्थ र मोक्ष– तीन पुरुषार्थलाई कुनै वाधा अड्चन नगरी ‘काम’ रुपी पुरुषार्थको व्यवहार र प्रयोग कसरी गर्ने भन्ने बारेको दिग्दर्शन गरिएको छ । स्त्री र पुरुषले उत्तम प्रकारको यौन–रति सुख कसरी प्राप्त गर्न सक्तछन् तथा विभिन्न ठाउँका, देशका स्त्रीपुरुष, परस्त्री, परपुरुष, वीरांगना आदिका यौनव्यवहार र प्रयोग कसरी हुने गरेका छन् भन्ने बारे व्याख्या र विश्लेषण छ ।

यस कामसूत्रले दिने तत्वज्ञान के हो त भन्दा पूर्वीय जगत्ले मानेका पुरुषार्थ धर्म, अर्थ र मोक्ष मुख्य थिए । यी तीन पुरुषार्थमा चौथो पुरुषार्थका व्याख्या– ‘काम’ तत्व पनि समावेश हुनु हो । यसै आधारमा पुरुषार्थ त्रय– धर्म, अर्थ र मोक्षबाट पुरुषार्थ चत्वार चार पुरुषार्थ– धर्म, अर्थ, काम र मोक्ष भनेर मान्न थालियो । वैवाहिक जीवनको सुख र समृद्धि, आनन्द भन्ने कहा ‘‘काम’ को सहज उपभोगबाट मात्र प्राप्त हुन्छ । ‘काम’ को सहज र सुखानुभूति पूर्ण व्यवहार मानवजीवनका निम्ति अति आवश्यक छ । ‘काम’ व्यवहार पनि संयम र विधिपूर्वक हुनुपर्छ । नियम विधिपूर्वकको– सहमतीय– बराबरी पक्षको काम व्यवहार सुखदायी र आनन्ददायी मानिएको छ ।

वात्स्यायनको कामसूत्रमा ‘काम’ सेवनको तुलना मनुष्यको आहार– भोजनसँग गरिएको छ । आहार एवं कामको निश्चित सीमाबद्ध सेवन– प्रयोग गर्दा मानिस स्वस्थ र सुखी रहन सक्छ । भोजन पनि धेरै वा गरिष्ठ ढंगको भयो भने अवश्य रोगी बनिन्छ । त्यस्तै ‘काम’ सेवन पनि अत्यधिक भयो भने विभिन्न रोग उत्पन्न हुन्छ ।

वात्स्यायनको कामसूत्रले ‘काम’ को प्रयोग, सीमा र सरल र सहज विधिहरु, स्त्री–पुरुष दुवैलाई आनन्द मिल्ने आसनहरुबारे वर्णन गरेको छ । साथै अर्को कुरा पनि छ । ‘‘काम’ को प्रयोग त प्रकृतिले नै दिएको हो । यो सिद्धान्त हुनुपर्ने होइन । किनभने कृषकले आफ्नो खेतीको बालीनाली जंगली जनावरबाट नष्ट पारिन्छ भनेर खेती लगाउन छोड्दैन । मानिसले काम प्रयोगले रोगव्याधी लाग्छ, शिरमा हानि पुग्छ भनेर प्रयोग छोड्दैन तर यही कुरामा केही सहज, सरल र सुखदायी प्रयोगबारे जानकारी भयो भने कुनै विघ्नवाधा आइपर्दैन भनेर मानिसकै कल्याणका लागि यो कामसूत्र रचिएको हो भनेर ठोकुवा गरेका छन् ।

स्त्री-पुरुषको काम-रतिसुखलाई वात्स्यायनले मानवजीवनको एउटा साधनको रुपमा मानेका छन् । उनले वैवाहिक जीवनलाई सन्तानोत्पतिसँगै सुखी र स्वस्थ एवं मनको समेत शुद्धता र स्वस्थतामा ध्यान दिएका छन् । तर पश्चिमी कामशास्त्रीहरुले मानव जीवनको एउटा प्रमुख साध्यका रुपमा कामसुखलाई मानेका छन् । शरीरको सुख मात्र हेरेका छन् । तर वात्स्यायनले यसलाई तत्वज्ञानका दृष्टिले अध्यात्मसम्म जोड्ने साधन मानेका छन् ।

वात्स्यायनले वैवाहिक जीवनलाई मर्यादित र व्यवस्थित बनाउने साधनका रुपमा कामलाई मानेका छन् । विवाहपछिको जीवनमा कामसुख मिलेन भने जीवन निरस र निरर्थक बन्दछ । आधुनिक शरीरशास्त्रका दृष्टिमा यो कुरा उचित देखिन्छ । पाश्चात्य जगत्मा कामशास्त्रको चर्चा दुई सय वर्षयता मात्र हुन थालेको छ भने पूर्वीय जगत्मा दुई हजार वर्षअघिबाटै काम चर्चा व्याख्या भएको छ । वात्स्यायनले महत्वपूर्ण ग्रन्थ- ‘कामसूत्र’ रचेर एउटा ठूलो क्रान्तिदर्शी पाइला चालेका हुन् । आज एक्काइसौं शताब्दीमा त ‘‘काम’ शास्त्रबारे खुलेर चर्चा गर्ने परिस्थिति विकसित भएको छैन भने दुई हजार वर्षअघि नै यस्तो अद्भुत र विचित्रको ग्रन्थ कामसूत्र उनले कसरी लेख्न सके ? यो बडो अनौठो र आश्चर्यजनक कुरा हो ।

यस कामसूत्रको पहिलो अध्यायमा धर्म, अर्थ र काम तीनवटै पुरुषार्थलाई नमस्कार गरिएको छ । यी तत्वबारे ज्ञान गराउने गुरुहरुलाई नमस्कार गरिएको छ । संसारको सृष्टिसँगै मानव सृष्टिपछि यस सृष्टिलाई राम्ररी संचालन गर्न प्रजापति अर्थात्– संसारका रचयिताले नै एक लाख अध्याय भएका महाग्रन्थहरु समेत रचेका थिए । तीमध्ये धर्म सम्बन्धी विषयहरुलाई स्वयम्भु मनुले छुट्याएर अर्को ग्रन्थ ‘मनुस्मृति’ बनाए । त्यसपछि बृहस्पतिले अर्थशास्त्र सम्बन्धी अध्याय छुट्याएर ‘अर्थशास्त्र’ को ग्रन्थ रचे । त्यही परम्परा कौटिल्यको अर्थशास्त्रसम्म आइपुग्यो ।

शिवजीका नन्दी नाम गरेका गण-सेवकले कामसूत्र छुट्याएर एक हजार अध्यायभित्र निर्माण गरेका थिए । फेरि श्वेतकेतु भन्ने आचार्यले त्यस एक हजार अध्यायलाई छोट्याएर पाँच सय अध्यायको कामसूत्र तयार पारे । बभ्रु भन्ने अर्का विद्वान्ले त्यस ग्रन्थलाई १५० अध्यायमा सीमित पारे ।

फेरि बभ्रुका पुत्र वाभ्रव्यले त्यसको पनि संक्षेप गरेर कामसूत्र सार बनाए । तर पछि यो पनि जनसाधारणमा प्राप्त हुन सकेन । त्यसपछि मात्र सबैले बुझ्ने र जान्ने गरी अति संक्षेपमा वात्स्यायनले कामसूत्र बनाएको कुरा वर्णन गरिएको छ ।

यसरी यो ‘कामसूत्र’ भनेर छुट्टै शास्त्र कसरी तयार भयो भन्ने कुरा संक्षेपमा दिइएको छ । धर्म, अर्थ, मोक्षसँगै ‘काम’ को महत्ता समेत व्याख्या–विश्लेषण गरिएको छ । सम्पूर्ण विद्याहरुकै एउटा प्रमुख विद्या हो काम विद्या भनिएको छ । नागरिकले बार्ने कार्य र वृत्ति– व्यवसायसँगै ‘कामवृत्ति’ पनि प्रमुख अंगका रुपमा गनिन्छ ।

कामसूत्रको दोस्रो अध्यायमा वैवाहिक जीवन प्रारम्भ गरेपछिका युवा जोडीले कसरी काम जीवन– यौनजीवन प्रारम्भ गर्नुपर्छ भनेर विधि–उपायक्रम वर्णन गरिएको छ । पतिपत्नीले परस्पर एक अर्काका इशारा, इच्छा, आकांक्षा र मनोवृत्तिबारे सबभन्दा पहिले बुझ्नुपर्छ । पतिले पत्नीका भाव र आशय बुझे पत्नीले पतिका इच्छा, आकांक्षा भाव बुझ्ने काम पहिलो कर्तव्य हो ।

‘भाव कसैसँग केही नबुझी, चुपचाप सही प्रिय–प्रेम नछर्नु ।’ परस्पर बुझाबुझ नगरी एकैचोटी ‘काम’ यौन प्रयोगतर्फ लाग्नु भनेको पशुत्व हो, मनुष्य आचरण होइन । दुवैमा अनुकूल अवस्था सिर्जना हुनुपर्छ । दुवैमा मिलापको उपयुक्त स्थान, एकान्त स्थानको आवश्यकता पर्दछ । वैवाहिक जीवनको प्रारम्भ– काम अथवा काम–यौन प्रारम्भ सुखद र परस्पर अनुकूल हुनसक्यो भने मात्र अगाडिको जीवन सार्थक र सुखमय बन्दछ । वात्स्यायनले यसरी प्रष्ट पारेका छन् ।

प्रेम–प्रीतिका प्रकारहरु– वैवाहिक जीवन कसरी प्रेममय बनाउने, परस्पर कसरी एक अर्कालाई प्रभावित पारेर आकर्षित पार्न सकिन्छ भन्ने कुराको विवरण छ ।

त्यसैगरी, स्त्री–पुरुषबीचको आलिंगन भनेको के हो ? यसले यौनजीवनमा के कस्तो प्रभाव पार्छ ? आलिंगन– कति किसिमको हुन्छ ? कस्तो, कुन आलिंगन कुन बेला कहाँ कसरी गर्ने भन्ने ज्ञान पाइन्छ । त्यसैगरी चुम्बन के हो ? चुम्बन कति प्रकारका हुन्छन् ? कुन कुन अंगमा चुम्बन गर्दा के कस्तो प्रभाव पर्छ ? चुम्बनले परस्पर कति आत्मीयता बढाउँछ ? ‘‘काम’ र चुम्बनको परस्पर सम्बन्ध कस्तो हुन्छ ? आदि यावत् प्रकारका चुम्बन विधिहरुको विश्लेषण गरिएको छ ।

राग–वासना के हो ? कति प्रकारका हुन्छन् ? राग भनेको ‘‘काम’ भावको कस्तो अवस्था हो ? त्यसैगरी, प्रणय–प्रेमकै अवस्थामा आइपर्ने कलह–विराग वा झगडा के हो ? के कसरी यस्तो प्रेम, कलह उत्पन्न हुन्छ । अनि यसरी उत्पन्न हुने कलहलाई कसरी पुनः प्रेम–प्रणयमा रुपान्तरित गर्ने, स्त्रीमा उब्जेको कलह वा पुरुषमा उठेको कलह दुवै प्रेम कलहको समाधान कसरी गर्ने, स्त्रीको कर्तव्य, पुरुषको कर्तव्य, दुवैका पारस्परिक समझदारी र कलह शान्त पार्ने उपाय आदिको समेत व्याख्या–विश्लेषण छ ।

कामको अन्तिम रुप यौनक्रिया र यौन प्रवृत्तिबारे कामसूत्रमा विस्तृत व्याख्या छ । यसलाई यी उपायलाई वैवाहिक जीवनमा सकारात्मक रुपबाट जीवन–उत्थानका निम्ति प्रयोग गर्न निर्देशन दिइएको छ । दुवै पतिपत्नी जानकार र विवेकपूर्ण व्यवहार गर्न सक्ने, मानसिक र शारीरिक दुवै प्रकारले स्वस्थ रहन सके, परस्पर प्रेममय बाँच्न सके मात्र यौनजीवन सफल र सार्थक बन्छ भन्ने कुरा वात्स्यायनले दर्शाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम