Logo

कान्ति भैरव माध्यमिक विद्यालय पुनःनिर्माणका लागि शिलान्यास



काठमाडौं, ७ फागुन । भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या खम्पाले बिहीबार संयुक्तरूपमा विद्यालय भवन शिलान्यास गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा पुनःनिर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनःनिर्माण हुन लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । मूल्यअभिवृद्धि करबाहेक रु २६ करोड ५८ लाख ६० हजार ७४१ मा ठेक्का लागेको कार्यक्रममा जानकारी गराइएको छ ।

शिलान्यासपछि मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकामा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे ।

“सामुदायिक विद्यालयमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर वृद्धि मात्र होइन, शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ”, उनले भने । भारतीय राजदूतावासका मिसन उपप्रमुख खम्पाले विद्यालय पुनःनिर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनःनिर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास व्यक्त गरे।

शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० का आयोजना निर्देशक रामशरण सापकोटाले पनि मन्तव्य राखेका थिए ।

फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनःनिर्माण हुन लागेको यस पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुनेछन् । त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि पाँचवटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठवटा कोठा र विद्यालयको आवश्यकतानुसार प्रयोग गर्न मिल्ने थप आठ कोठा रहनेछन् ।

यसैगरी चमेनागृह, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा ब्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्ञको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् । विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब ९०० विद्यार्थी अध्ययनरत छन् । निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो । शिलान्यास आज भए पनि गत माघ २६ गतेदेखि नै निर्माण शुरु भएको छ ।

भूकम्पपछि शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान आयोजनाअन्तर्गत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ । भारत सरकारले विद्यालय पुनःनिर्माणमा पाँच करोड अमेरिकी डलर (बिहीबारको विनिमयदर ११६ अनुसार करिब रु पाँच अर्ब ८० करोड रुपैयाँ) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचना निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनःनिर्माणको विभिन्न चरणमा छन् ।

कान्ति भैरवसहित थप छवटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माबीच सझदारीपत्रमा हस्ताक्षर भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्