Logo

लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्नेछः प्रधानमन्त्री ओली



काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्ने चुनौती रहेको बताएका छन् । उनले ७१ औं प्रजातन्त्र दिवसमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रभित्रबाट अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्नेमा जोड दिएका हुन् ।

ओलीले प्रणालीगत हिसावले विभिन्न संघर्षमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा आइपुगेको बताउँदै यो प्रणालीलाई अझ जीवन्त बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

ओलीले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुपर्नेबेला भएको पनि बताए ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्नेछ, मुलुक नयाँ निर्वाचन तर्फ अग्रसर भएको छ, सबै निकायले आआफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ ।” लोकतन्त्रमाथि खतरा पुग्ने काम कहीं कतैबाट हुन नहुने बताए ।

ताजा जनादेश लोकतान्त्रिक उच्चतम विधि भएको बताउँदै त्यसका लागि जुट्न सबैमा आग्रह गरे । सुशासन र विकासका सपनाहरु साकार पार्ने बेलामा कुनै अलमल गर्नुपर्ने आवश्यक नरहेको बताउनुभयो । मतभेदलाई बढावा दिने कुनै पनि गतिविधि गर्नु वान्छनीय नभएको चर्चा बताउँदै बृहत्तर राष्ट्रिय हितका लागि अघि बढ्नुको विकल्प नरहेको बताए ।

“यतिबेला विगतका हाम्रा बलिदान र कठिन दिनलाई सम्झेर आज विकासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने दिन आएको छ” प्रधानमन्त्री ओलीले भने “सानातिना मतभेदलाई छाडेर बृहत्तर हितलाई ध्यान दिएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछु ।” सरकारले तीन वर्ष पूरा गरेको र यसअवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्निप्रसाद सापकोटा, सरकारका मन्त्रीहरु, राष्ट्रिय सभाका सदस्यसहित संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली सेनाले विभिन्न झाँकीसहितको प्रस्तुति गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्