Logo

राजेश झाले सपथ लिंदा दौरा सुरुवाल, कालो टोपी र निधारमा रातो टीका



काठमाडौं, ७ फागुन । प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज सपथ लिएका छन् । मधेशी समुदायका उनले सपथ लिँदा दौरा सुरुवाल र नेपाली कालो टोपी पहिरिएका थिए ।

राजेश अहिराज भनी चिनिने उनले निधारमा रातो धर्सो टिका पनि लगाएका थिए । राजेश प्रायः टीका लगाएकै हुन्छन् ।

मधेशसम्बन्धी अध्ययन गरी विद्यावारिधी समेत गरेका उनी मधेशवादी भनिने नेताहरुको कटु आलोचक हुन् । उनी जातीय राजनीतिको विरोधमा बोल्दै र लेख्दै आएका छन् ।

राजेश झाको स्थायी घर रौतहट हो । उनी लामो समय मधेश मिडियो हाउसमा सक्रिय रहे । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी धारलाई साथ दिदै आएका थिए । उनी संघीयताको अभ्यासबारे समेत आलोचना गर्दै आएका थिए ।

उनले आजमात्र टेलिभिजन अन्तवार्तामा संघीयताको नाममा खण्डीकरण गराइदिएको र तीन तहको सरकारको नाममा तीन तहको लुटेराहरुको समूह पठाएको अभिव्यक्ति दिएका थिए । संघीयताको नाममा जनतालाई करको मारमा पारिएको भन्दै आलोचना गरेका थिए ।

यसअघि राष्ट्रपति भण्डारीद्वारा प्रचण्ड निकट तिलक परियार प्रदेश २ को प्रमुखबाट पदमुक्त गरिएको थियो । त्यसपछि राजेश झा नियुक्त गरिएका थिए ।



प्रतिक्रिया दिनुहोस्