Logo

अपहरणको धम्की दिने गुरु भट्टराईलाई जोगाउन तिलक परियार बर्खास्त !



फागुन ७, काठमाण्डौ । प्रदेश दुईका प्रमुख तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई नियुक्त गर्नुका पछाडि ओली निकट विवादास्पद व्यक्ति जोडिएको पाइएको छ ।
प्रचण्डनेपाल समूहका स्थायी कमिटी सदस्य रामचन्द्र झाले प्रदेश प्रमुख परियारलाई हटाउनुमा केही दिनअघि सार्वजनिक भएको नेपाल रेल्वे कम्पनीका प्रबन्धक गुरु भट्टराईको फोन अडिओ कारण रहेको बताए ।

भट्टराईले ‘म केपी ओलीको छोरा हुँ’ भन्दै मुख छोडेर बोलेको उक्त अडिओमा बोल्ने व्यक्ति प्रदेश प्रमुखको सचिवालयमा रहेकाले प्रदेश प्रमुखलाई हटाइएको झाको दाबी छ ।

झाको भनाईलाई पुष्टी गर्ने गरी स्वय भट्टराईले पनि सामाजिक संजालमा स्टाटस राखेका छन् । भट्टराईले लेखेको छन्–‘मलाई बदनाम गराउन खेताला लगाउने यिनै हुन् । राजकीय पदमा बसेर सबै राजकीय दबाब बनाउनेहरु ओली सरकारमा टिक्न गाह्रो छ । टिट फर ट्याट ।’
स्टाटसमाले भट्टराईले समय आएपछि हिसाबकिताब हुन्छ भनेर पहिला नै भनेको कुरा पनि स्मरण गराएका छन् । तर उक्त स्टाटस अहिले हटिसकेको छ ।

के हो अडियो प्रकरण ?

फागुन २ गते आईतबार गुरु भट्टराईको विवादास्पद अडियो सार्वजनिक भएको थियो । उक्त अडियोमा भट्टराईले ‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न सक्छु’ भनेका थिए ।

भट्टराई र प्रदेश २ का प्रमुख परियारका स्वकीय सचिव अनिल पासवानबीचको टेलिफोन वार्ताका क्रममा त्यस्तो चेतावनी दिएका थिए । सो अडियो सार्वजनिक भएपछि सार्वजनिक रूपमा महाप्रबन्धक भट्टराईको आलोचना भएको थियोे । अश्लील गाली गलौच गरिएको सो अडियोको सामाजिक सञ्जालमा टिकाटिप्पणी भईरहेका बेला प्रदेश प्रमुख परियारलाई मन्त्रीपरिषद्को सिफारिसमा हटाउन निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्