Logo

अनामनगरको सार्वजनिक जग्गामा संरचना बनाएर भाडा असुल्दै चाम्लिङ



काठमाडौं, ८ फागुन । अनामनगरस्थित धोबीखोलाको सार्वजनिक /ऐलानी जग्गामा संरचना बनाई इन्द्र चाम्लिङले भाडा खाइरहेको तथ्य फेला परेको छ । उनले अनामनगर धोबीखोला किनारको सार्वजनिक जग्गामा मात्र १० वटा भन्दा बढी अस्थाइ र स्थाइ संरचना बनाएर मासिक लाखौंं रुपैयाँ भाडा असुली रहेको तथ्य फेला परेको हो ।
कानूनत: सार्वजनिक जग्गामा संरचना बनाएर भाडा खानु ठगी मानिन्छ । तर चाम्लिङले मासिक लाखौं रुपैयाँ ठगी गर्दा पनि राज्यको जिम्मेवार निकाय बेखबर र मुकदर्शक बनेको देखिन्छ । चाम्लिङले काठमाडौ महानगरपालिका वडा नम्बर १० धोबीखोलासँगै जोडिएको सार्वजनिक जग्गामा संरचना बनाएर किराना पसल, ए वान म : म सेन्टरलगायतबाट भाडा उठाउँदै आएका छन् ।
 चाम्लिङले नै बेचेको जग्गा सँगैको सार्वजनिक जग्गामा सेमत पोलेको सेकुवा , राजा मोटरसाइकल ग्यारेज सञ्चालनमा छ ।  सार्वजनिक जग्गा हडपेर संरचना बनाउनेलाई कारबाही गर्न अख्तियारले निर्देशन दिएपनि चाम्लिङको हकमा जिल्ला प्रशासन कार्यालय मौन रहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेतृत्वमा प्रेमकुमार  राई गएपछि सार्वजनिक जग्गा हडप्ने चाम्लिङलगायतलाई कारबाहीको दायरमा ल्याउनेमा आम अनामनगरबासी आशावादी देखिन्छन् ।
बालुवाटारको ललिता निवास जग्गा खाने भूमाफियालाई छानबिन गराएर कानूनको कठघरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका अख्तियार प्रमुख राईले अनामनगरका भूमाफियालाई पनि कारबाही गर्न सफल हुने भन्दै यहाँका स्थानीयबासी हर्षित भएका हुन् । अख्तियार दिवसको अवसरमा प्रमुख राईले सार्वजनिक जग्गा खाने कसैलाई नछोड्ने अभिव्यक्ति दिएकाले भू माफियाबिरूद्ध स्थानीय बासिन्दा पनि खुल्न थालेका छन् । अख्तियार प्रमुख राईका लागि यो नमूना केस भएकाले राईका लागि यो  राष्ट्रहितमा पहिलो कदम चाल्ने अवसर आएको अनामनगरमा चर्चा चल्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्