Logo

के हो गान्धी डिभिजन ?



परीक्षामा तेस्रो श्रेणीमा उत्तीर्णहरूका निम्ति महात्मा गान्धी ठूलो सहारा हुन् । उनीहरू ‘गान्धी पनि तेस्रो श्रेणीवाला थिए’ भनेर चित्त बुझाउँछन् । तर गान्धी सधैं सबै कक्षामा तेस्रो श्रेणीमै अड्किएका भने होइनन् । उनले मावि तहको पहिलो कक्षा (सम्भवतः ८) ६६.५ प्रतिशत र त्यसपछिको कक्षा ६० प्रतिशत अङ्क ल्याएर उत्तीर्ण गरेका थिए । तर मेट्रिक (एसईईसरह) परीक्षामा भने उनले ४० प्रतिशत मात्र ल्याउन सके ।

गान्धीले मेट्रिक परीक्षा दिएको वर्ष सन् १८८७ मा अहमदावाद केन्द्रबाट जाँचमा शामेल भएका कुल ३०९७ जना परीक्षार्थीमध्ये ७९९ जना (२६ प्रतिशत) मात्र उत्तीर्ण भएका थिए । त्यसमा गान्धीको स्थान ४०४औं थियो । यसबाट, कतिपयले बुझ्ने गरेजस्तो गान्धी पढाइ एवं जाँचमा सारै कमजोर विद्यार्थी थिएनन् भन्ने स्पष्ट हुन्छ ।

मेट्रिक परीक्षाको तयारी गर्दै गर्दा गान्धीको विवाह भएको थियो भने सिकिस्त विमार बाबुको उपचार चल्दैथियो । गान्धी पढेको विद्यालय, अलफ्रेड हाई स्कूल, राजकोट (गुजरात) का तत्कालीन शिक्षक एवं प्रअ जे एम उपाध्यायद्वारा लिखित ‘महात्मा गान्धीः एज स्टुडेन्ट’ किताबमा दिइएको विवरण अनुसार पढाइको सन्दर्भमा गान्धीको मुख्य समस्या विद्यालयमा नियमितता नहुनु थियो ।

कक्षा ३ मा त उनी स्कूल लागेका ३३८ दिनमध्ये ११० दिन मात्र हाजिर थिए । अनि जुन कक्षामा उनको उपस्थिति नियमित छ, परीक्षाको नतिजा पनि राम्रो देखिन्छ । राम्रो अङ्क ल्याएबापत उनले मासिक १० रुपैयाँ छात्रवृत्ति पनि पाएका थिए– केही कक्षामा । गान्धीको स्कूले जीवनको अर्को उल्लेख्य पक्ष, परीक्षामा अङ्क थोरै ल्याएको बेलामा समेत शिक्षकहरूले उनको बानी व्यहोरालाई ‘अति राम्रो’ भनी टिप्पणी लेख्ने गर्थे, जबकि उनीभन्दा बढी अङ्क पाउने कतिपयलाई ‘राम्रो’ मात्र भन्थे ।



प्रतिक्रिया दिनुहोस्