Logo

जेम्स जोयसको कथा : एभलिन



झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई ऊ । उसको टाउको झ्यालको पर्दामा झुकेको थियो भने उसको नाकले धूलो भएको पर्दाको कपडाको गन्ध पाइरहेको थियो । ऊ थाकेकी थिई ।

मान्छेहरू बाटोमा आवतजावत गरिरहेका थिए । छिमेकी घरको एक व्यक्ति आफ्नो घर फर्किरहेको थियो, जसले टकटक गर्दै हिंडेको आवाज उसले सुनी । कुनै समय, त्यहाँ एउटा ठूलो चौर हुने गर्थ्यो जहाँ उनीहरू हरेक साँझ अरु केटाकेटीहरूसँग भेला भएर खेल्ने गर्थे । पछि बेल्फास्टको एक व्यक्तिले त्यो जमिन किनेर त्यहाँ आधुनिक घरहरू निर्माण गर्यो । ती घरहरू उनीहरूको जस्तो सानो खैरो घर नभएर उज्याला इँटाले बनेका र छानाहरू पनि टलक्क टल्किने खालका थिए । वरपरका सबै केटाकेटीहरू मिलेर सधैं त्यो चौरमा खेल्ने गर्थे– डेभिन, वाटर र डानका केटाकेटीहरू, अपांग फुच्चे केओ अनि ऊ र उसको दाजुभाइ अनि दिदीबहिनीहरू ।

तर अर्नेस्ट भने कहिले पनि खेल्दैनथ्यो । ऊ केटाकेटीसँग खेलेर बस्नका लागि ठूलो भइसकेको थियो । उसको बुवाले प्राय:जसो उनीहरूलाई आफ्नो काँडा भएको लठ्ठी बोकेर लखेट्ने गर्थे । तर प्रायजसो फुच्चे केओले उसको बुवा आएको देख्नेबित्तिकै संकेत दिने गर्थ्यो र उनीहरू भाग्ने मौका पाउँथे । त्यस्तो हुँदाहुँदै पनि उनीहरू त्यतिबेला नै धेरै खुशी भएका देखिन्थे । उसको बुवा त्योबेला त्यतिधेरै खराब थिएनन् र फेरि उसकी आमा पनि जीवितै थिइन् । धेरै अगाडि उसकी आमा बितेकी थिइन् जतिबेला ऊ र उसका दाजुभाइ र दिदीबहिनीहरू हुर्किसकेका थिए । तिजी डान् पनि बितिकेको थियो र वाटरको परिवार बेलायत फर्किसकेका थिए । अहिले सबै कुराहरू बदलिसकेका छन् । अब ऊ पनि अरुले जस्तै गरी आफ्नो घर छोडेर कतै टाढा जान लागेकी थिई ।

घर ! उसले कोठामा भएका सबै परिचित सामानहरूलाई ध्यान दिंदै कोठाको चारैतिर हेरी । यतिका वर्षसम्म उसले सधैं कोठामा कहाँबाट त्यति धेरै धूलो आउँछ भन्ने कल्पने गर्थी र कम्तीमा पनि हप्ताको एकपल्ट कोठा सफा गर्ने गर्थी । सायद अब उसले कहिल्यै पनि ती परिचित सामानहरूलाई देख्नेछैन, जसबाट उसले अहिलेसम्म कहिले पनि छुट्टिनुपर्ला भनेर कल्पनासम्म गरेकी थिइन् । यत्तिका वर्षसम्म उसले बिग्रिएको हार्मोनियम माथिको भित्तामा झुण्डिएको तस्बिरमा रहेको पुजारी को हुन् भनेर पत्ता लगाउन सकेकी थिइन । उनी उसको बुवाको स्कुले साथी थिए । जब उसको बुवाले कुनै पाहुनालाई उक्त तस्बिर देखाउने गर्थे तब उनले जहिले पनि एउटै कुरा भन्ने गर्थे–

‘उनी अहिले मेलबोर्नमा छन् ।’

उसले आफ्नो घर छाडेर भाग्नका लागि सहमति जनाएकी थिई । के त्यो बुद्धिमत्तापूर्ण थियो ? उसले यो प्रश्नको प्रत्येक पाटालाई तौलिन खोजी । उसले आफ्नो घरमा गाँस, बास र कपास पाएकै थिई । उसले जीवनभर चिनेका मान्छेहरू त्यही घरमा थिए । यद्यपि उसले घर र व्यापार दुवैतिर निकै कडा परिश्रम गर्नुपर्थ्यो । ऊ एउटा केटासँग पोइल गई भन्ने थाहा पाएपछि उसको पसलमा आउने ग्राहकहरूले के भन्छन् होला ? यदि ऊ मूर्ख भएर पोइल गई भने सहरमा चारैतिर त्यसको चर्चा हुने थियो । सायद सुश्री गाभेनचाहिं खुसी हुन्थी होली । उसले सधैं ऊप्रति नराम्रो धारणा राख्ने गर्थी, विशेष गरी अरु मान्छेहरूले सुनिरहेको बेलामा ।

‘सुश्री हिल, देखिरहनुभएको छैन केटीहरू पर्खिरहेका छन् ?’

‘कृपया अलि खाइलाग्दो देखिनुस्, सुश्री हिल ।’

पसल छोडेर जानुपरेकोमा भने ऊ धेरै आँसु बगाउनेवाला थिइन ।

तर दूरको अपरिचित देशको नयाँ घरमा अहिलेको जस्तो त हुँदैन नि ! ऊ विवाहित हुनेछे— ऊ अर्थात् एभलिन । मान्छेहरूले त्यहाँ उसलाई सम्मानका साथ व्यवहार गर्नेछन् । उसको आमाले जस्तो जीवन उसले बिताउनु पर्नेछैन । ऊ अहिले १९ वर्ष कटिसक्दा पनि कहिलेकाहीँ आफैंलाई बुवाको हिंसाको त्रासमा पाउँथी । उसलाई थाहा छ त्यही डरले गर्दा नै उसको ढुकढुकी बढ्ने गर्छ । ऊ छोरी भएकाले हुर्किने क्रममा कहिल्यै बुवाबाट ह्यारी र अर्नेस्टले जस्तो स्याहारसुसार पाइन । तर पछिपछि उसले धम्की पाउन थालेकी थिई कि उसको मरेकी आमाको स्मृतिमा मात्रै उसको बुवाले उसलाई पालिरहेका छन् । र अहँ, उसलाई सुरक्षा दिनका लागि ऊसँग अरु कोही पनि थिएन । अर्नेस्ट मरिसकेको थियो र ह्यारी, जो चर्चमा साजसज्जा गर्ने काम गर्थ्यो, ऊ जहिले पनि कुनै गाउँतिर हुन्थ्यो ।

फेरि शनिबारको राति पैसालाई लिएर सधैं हुने झगडाले गर्दा ऊ भित्रभित्रै वाक्कदिक्क भइसकेकी थिई । उसले सधैं आफ्नो सबै कमाइ – सात सिलिंग- दिने गर्थी र ह्यारीले पनि आफूले सक्दो पठाउने गर्थ्यो तर उसको बुवाबाट पैसा पाउन भने निकै कठिन हुन्थ्यो । उनी भन्थे कि ऊसँग दिमाग नै नभएकाले अनावश्यक रुपमा पैसा मास्छे र उनी आफूले निकै मिहिनेत गरेर कमाएको पैसा यत्तिकै रद्दीमा फाल्नेवाला छैनन् । शनिबारको रातमा झन् धेरै खराब प्रस्तुत हुने उनी अझै अरु पनि धेरै गालीहरू दिन्थे । अन्त्यमा उनी उसलाई पैसा दिन्थे र सोध्थे कि ऊसँग आइतबारको लागि खाना किन्ने कुनै मनसाय छ कि छैन । त्यसपछि उसले हतारहतार गरेर भीडमा कालो छालाको पर्सलाई हातमा बलियोसँग च्यापेर व्यापार गर्न कुद्नुपर्थ्यो र राती बेलुका सबै बन्दोबस्त मिलाएर मात्रै घर फर्कनुपर्थ्यो । उसलाई घरव्यवहार सम्हाल्ने र दुई साना बच्चाहरूलाई खानपिन गराएर सधैं स्कुल पुर्याउनुपर्ने कठिन जिम्मेवारी थियो । उसको काम निकै अप्ठ्यारो थियो – उसको जीवन कठिनाइले भरिएको थियो – तर अहिले भने उसले छाडेर जान लागेकाले होला आफ्नो जीवनलाई पूर्णत: अरुचिपूर्ण भने पाइन ।

ऊ फ्र्यांकसँग छुट्टै नयाँ जीवन सुरु गर्नेवाला थिई । फ्र्यांक निकै दयालु, पुरुषार्थयुक्त र खुला हृदयको थियो । उसलाई ऊसँग रात्रिकालीन डुंगा चढेर उसकी श्रीमती हुन् र ऊसँग बस्नका लागि आफ्नो घर त्यागेर बुइनोस आइरेस जानु थियो, जहाँ उसको स्वागतमा एउटा घर पनि पर्खिरहेको थियो । उसले फ्र्यांकलाई पहिलोपटक भेटेको क्षण उसको स्मृतिमा अहिले पनि उस्तै ताजा छ । ऊ पनि त्यो मुख्य सडकमा जाने गर्थी, जहाँको एउटा घरमा ऊ बास बस्ने गर्थ्यो । उसलाई यो कुरा केही हप्ताअगाडिको जस्तो मात्र लाग्छ । ऊ गेटमा उभिरहेको थियो । उसले पछाडि फर्काएर क्याप लगाएको थियो र उसको सुन्दर कपाल उसको पित्तल- रंगको अनुहारतिर झरेको थियो । त्यसबेला नै पहिलोपटक उनीहरूले एकअर्कालाई चिनेका थिए । ऊ उसलाई हरेक साँझ पसल बाहिर भेट्ने गर्थ्यो र उसलाई घरसम्म पुर्याइदिन्थ्यो ।

उसलाई उसले ‘द बोहेमियन गर्ल’ नामको चलचित्र हेर्न लगेको थियो र ऊसँग हलको पछाडिपट्टि एकान्तमा बस्दा उसले उन्माद महसुस गरेकी थिई । ऊ गीतसंगीत भनेपछि हुरुक्कै हुन्थ्यो र अलिअलि गाउँथ्यो पनि । मान्छेहरूले उनीहरूको सम्बन्धबारे थाहा पाइसकेका थिए । जब उसले एक नौसैनिकसँग प्रेममा परेकी केटीको बारेमा गीत गाउँथ्यो, ऊ सधैं सुखदखालको असामन्जस्यतामा पर्थी । ऊ जिस्किएर उसलाई गुडिया भनेर बोलाउँथ्यो । सुरुमा उसलाई एउटा साथी पाएकोमा रोमान्चक लागेको थियो र विस्तारै उसले मन पराउन थालेकी थिई । ऊसँग दूरदेशका कथाहरू थिए । क्यानाडातर्फ जाने ‘एलान लाइन’ नामको पानीजहाजमा उसले ‘डेक ब्वाय’का रुपमा महिनाको एक पाउण्ड तलबमा काम गर्न सुरु गरेको थियो । उसले आफूले काम गरेका सबै जहाजका नामहरू र आफूले गरेका सबै कामहरूबारे उसलाई बताएको थियो । उसले मगेलानको स्ट्रेट हुँदै समुद्री यात्रा गरेको थियो र उसले डरलाग्दा पाटागोनीहरूको बारेमा उसलाई कथा सुनाएको थियो । उसले आफू छुट्टी मनाउनका लागि पुर्खाहरूको देशमा आएको बताएको थियो । त्यसपछि निश्चय पनि उसको बुवाले उनीहरूको सम्बन्धको बारेमा सुइँको पाएका थिए र उसलाई फ्र्यांकसँग भेट्न प्रतिबन्ध लगाएका थिए ।

‘मैले यी समुद्रमा यात्रा गर्नेहरूलाई राम्रोसँग चिनेको छु,’ उनले भनेका थिए ।

एक दिन बुवाले फ्र्यांकसँग निकै ठूलो झगडा गरेका थिए र त्यसपछि उनीहरूले एकअर्कालाई गोप्य रुपमा भेट्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

सडकमा साँझ छिप्पिदै गइरहेको थियो । उसको काँखमा रहेका दुई चिठीहरूको सेतो रंग देखिन छाडेको थियो । उसले लेखेको एउटा चिठी ह्यारीका लागि थियो र अर्को बुवाका लागि । अर्नेस्ट उसको सबैभन्दा प्रिय थियो तर ऊ ह्यारीलाई पनि मन पराउँथी । उसले झट्ट सम्झी – पछिल्लोसमय उसको बुवा बूढो हुँदै गइरहेका थिए । ऊ गएपछि उसलाई उनले निकै सम्झनेछन् । कहिलेकाहीँ उनी ऊप्रति निकै राम्रो रुपमा प्रस्तुत हुन्थे । धेरै अगाडिको कुरा होइन, उनले उसलाई एउटा भूतको कथा सुनाएका थिए र आगोमा उसको लागि पाउरोटी तताइदिएका थिए । अर्को दिन, जब उसकी आमा जीवितै थिइन्, उनीहरू बनभोज मनाउनका लागि होथको डाडोमा गएका थिए । बुवाले छोराछोरीलाई हँसाउन त्यसबेला आमाले लगाउने टोपी लगाएको सम्झी ।

समयले नेटो काटिरहेको थियो तर ऊ अझै पनि आफ्नो टाउको झ्यालको पर्दामा झुकाएर धूलो भएको पर्दाको गन्ध सुँघ्दै झ्यालमा बसिरहेकी थिई । पर कतै बाटोमा ऊ कसैले बाजा बजाइरहेको सुन्न सक्थी । उसले आफ्नी आमासँग आफूले सकुन्जेलसम्म घरव्यवहार सम्हाल्ने वाचा गरेको सम्झी । उसलाई आफ्नी आमा बिमारी भएको त्यो अन्तिम रात याद आयो । ऊ हलको अर्कापट्टिढोका बन्द गरिएको अँध्यारो कोठामा थिई र उसले बाहिर मनै छियाछिया पार्ने खालको वेदनामय इटालियन गीत सुनी । वाद्यवादकलाई कसैले छ पेन्स दिएर त्यहाँबाट जाने आदेश दियो । उसले बुवा बिमारी भएको कोठामा झोक्किदै फर्किएको सम्झी: ‘साला इटालियनहरू! कहाँकहाँबाट आइपुग्छन्!’

उसले गम्भीरतापूर्वक विचार गरी कि उसकी आमाको जुन दयनीय अवस्था थियो, त्यो उसको जीवनमा पनि श्रापित भएर आएको थियो । उसका कानमा आमाले निकै जोड दिएर भनेको आवाज गुन्जियो र ऊ थर्थर काम्न थाली:

‘हरेक सुखको अन्त्यमा पीडा हुन्छ ! हरेक सुखको अन्त्यमा पीडा हुन्छ ।’

ऊ भयानक त्रासको आवेगमा आएर जुरुक्क उठी । भाग्नुपर्छ ! उसले जसरी पनि भाग्नुपर्छ! फ्र्यांकले उसलाई बचाउने छ । उसले उसलाई एउटा जीवन दिनेछ, सायद माया पनि दिनेछ । र ऊ बाँच्न चाहन्थी । ऊ सधैं दुःखी नै हुनुपर्छ भन्ने के छ र ? उसलाई पनि त खुसी हुने अधिकार छ । फ्र्यांकले उसलाई अंगालोमा बाध्नेछ र गाँठो पारेर राख्नेछ । उसले उसको उद्धार गर्नेछ ।

ऊ नर्थ वाल स्टेशनको भीडमा झुल्दै बसिरहेकी थिई ।

उसले उसको हात थाम्यो र उसलाई थाहा थियो ऊ आफूसँग बोलिरहेको छ,यात्राको बारेमा केही कुरा बारम्बार भनिरहेको छ । खैरा झोला बोकेका सेनाहरूले स्टेशन भरिभराउ थियो ।बाँधको पर्खालमा टाँसिदै गर्दा उसले टहराका खुला ढोकाहरूबाट डुंगाको कालो भागको झलक पाई । उसले केही पनि उत्तर दिइन । उसले आफ्ना गालाहरू पहेंला र चिसो भएको महसुस गरी र क्लेषको भूलभुलैयाबाट इश्वरसँग आफूलाई निर्देशित गर्न र कर्तव्यपरायण बनाउन प्रार्थना गरी । निकै लामो समयसम्म डुंगाले हावामा वेदनामय सिट्टी बजायो । यदि ऊ गई भने भोलिपल्ट ऊ फ्र्यांकसँग समुद्रमा बुइनोस आइरेसतर्फ जाँदै गरेकी हुने थिई । उनीहरूको लागि टिकट पनि काटिसकिएको थियो । उसले उसका लागि यत्ति धेरै गरिसकेपछि पनि ऊ फेरी पछाडि हट्न सक्थी र ? बेचैनीले गर्दा उसलाई वाकवाकी आउला जस्तो महसुस भयो र ऊ व्यग्रताका साथ आफ्ना ओठहरू चलमलाउँदै भगवानसँग मौन प्रार्थना गरिरही ।

उसको हृदयमा जोडले एउटा घन्टी बज्यो । उसले फ्र्यांकले आफ्ना हातहरू तानेको महसुस गरी:

‘आऊ !’

उसको छातीमा संसारभरका समुद्रहरू उर्लिएर ज्वारभाटाहरू आए । फ्र्यांकले झन् आफूलाई त्यतैतर्फ डोहोर्याइरहेको महसुस गरी। अब उसले उसलाई समुद्रमा डुबाइदिनेछ । उसले कस्सेर आफ्ना दुवै हातहरूले फलामको डण्डीलाई समाती ।

‘आऊ !’

‘हुँदैन ! हुँदैन ! हुँदैन ! यो असम्भव छ ।’

व्याकुल भएर उसका हातहरूले फलामको डण्डीलाई झन् जोडले समाते । उसले समुद्रमा बेदनाले भरिएको चिच्याहट पठाई ।
‘एभलिन ! एभी !’

ऊ डुंगातर्फ दौडियो र कराएर उसलाई पनि आउन भन्यो । उसलाई सबैले अगाडि बढ्न भने, तर ऊ अझै पनि आफ्नी प्रेमिकालाई बोलाइरह्यो । एभलिन एउटा निमुखो जनावरजस्तै गरी आफ्नो निष्कृय, सेतो अनुहार ऊतर्फ देखाइरही । उसका आँखाहरूले उसलाई न कुनै प्रेमको संकेत दिए, न विदाइ नै जताए, न त चिनेजस्तो नै गरे ।

अनुवाद : अनुप जोशी

जेम्स जोयस (१८८२-१९४१) एक विश्वप्रसिद्ध आइरिस उपन्यासकार, कथाकार तथा कवि थिए । स्ट्रीम अफ कन्ससनेस लेखक पद्धतिको विकास गरेका उनलाई पश्चिमी साहित्यमा चलेको आधुनिकतावादी आन्दोलनको प्रभावशाली अभियन्ता मानिन्छ । बीसौं शताब्दीको महत्वपूर्ण लेखकका रुपमा प्रसिद्धि कमाएका उनका सर्वाधिक लोकप्रिय कृतिमा डुब्लिनर्स’ उलिसस पर्छन् । सन् १९१४ मा पहिलोपल्ट प्रकाशित जेम्स जोयसको विश्वप्रसिद्ध कथासङ्ग्रह डुब्लिनर्समा संग्रहित कथा एभलिनलाई अनुप जोशीले नेपाली अनुवाद गरेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम