Logo

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : ईश्वर पोखरेल



फागुन ८, काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वैशाखमा तोकिएको निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर ५ मा निर्माण भएको भिमसेनथान मन्दिरको उद्घाटन गर्दै पोखरेलले सबैलाई चुनावका लागि तयार हुन आग्रह गरेका हुन् । राजनीतिक स्थिरताका लागि मध्यावधी चुनाव गर्नुपरेको पोखरेलको भनाई छ ।

चुनावी प्रक्रिया स्वभाविक रुपमा अघि बढ्यो भने जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने पोखरेलेको विश्वास छ । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही नहुने भएकाले ताजा जनादेशका लागि सबै तयार हुनुपर्ने उनले बताए । चुनावपछि राजनीतिक स्थीरता कायम हुने र त्यसपछि मात्रै विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । पोखरेलले चुनावमा जनतामाझ गरिएको प्रतिवद्धताअनुसार नै विकास निर्माणका काम गरिरहेको दाबी पनि गरेका छन् ।

पुरातात्विक सम्पदाको संरक्षणका लागि सरकारको मात्रै भर पर्न नहुने भन्दै उनले जनता आफै पनि सचेत हुनुपर्ने बताए । त्यसैगरी संघ, प्रदेश र स्थानीय सरकारले पनि जनतासँग सहकार्य गर्नुपर्ने सुझाब पोखरेलले दिएका छन् ।

सबै सम्पदाको संरक्षण गर्छौँ : प्रदेश सांसद सिलवाल

बागमति प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनः निर्माण गरिएको हो । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ५ क का प्रदेश सांसद नारायण सिलवालको पहलमा मन्दिर पुनः निर्माण गरिएको हो । त्यसअवसरमा सिलवालले मन्दिर पुनः निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

हाँडिगाउँबासीको सहयोगकै कारण योजना सफल भएको सिलवालले बताए । स्थानीयको करिब १६ लाख रुपैयाँ सहयोग उपलब्ध भएको सिलवालले जानकारी दिए । आफ्नो निर्वाचन क्षेत्रमा रहेका सम्पदा जस्तो स्वरुपमा थिए त्यस्तै स्वरुपमा पुनः निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । अत्य धेरै काम सुरु गरिएको र सबै पूरा गरेरै छाड्ने प्रतिवद्धता प्रदेश सांसद सिलवालले व्यक्त गरे । पुरातत्व विभाव, प्रदेश सरकार र स्थानीय निकायबीच समन्वय गरेर विकासका काम गरिने उनको भनाई ।

वृद्ध भत्ता बढाउँछौँ : मेयर शाक्य

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए । संस्कृति र सम्पदा बचाउँनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाई थियो । महानगरकै सक्रियतामा सम्पदा संरक्षणमा ठूलो सफलता हात परेको मेयर शाक्यले बताए ।

गुठी परम्पराअनुसार चलिरहेका सम्पदाहरु लोप हुने अवस्था आएकाले त्यसलाई जोगाउन महानगरले नयाँ नीति लिएको शाक्यले जानकारी दिए । महानगरभित्र हुने सबैखाले सांस्कृति गतिविधि र जात्राहरु व्यवस्थापनाका लागि प्राथमिकता दिइएको शाक्यको भनाई छ । महानगरको ५ नम्बर वडामा मनाइने पर्वहरुका लागि पनि सहयोग गरिने शाक्यले बताएका छन् ।

वडामार्फत सहयोग वितरणको व्यवस्था गरिएको शाक्यले जानकारी दिए । मेयर शाक्यले वृद्धभत्ता बढाउने तयारी भइरहेको बताएका छन् । राज्यले जेष्ठ नागरिकलाई सधैँ सम्मान गर्ने र वृद्ध भत्ता पनि सम्मान नै भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्