Logo

भटमास तेलले बढायो निर्यात



काठमाडौं, फागुन ९। भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू। ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू। १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।

तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम तेल निर्यात गरेका थिए । तर पाम तेलको निकासीमा भारतले प्रतिबन्ध लगाएपछि तिनै उद्योगबाट भटमासको तेलको निर्यात शुरू गरेको विराटनगरका तेल व्यवसायी प्रदीप मुरारकाले बताए । ‘यहाँका तेल उद्योगहरूले विशेषगरी पाम तेल नै उत्पादन गरिरहेकोमा भारतले प्रतिबन्ध लगाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेका थिए,’ उनले भने, ‘तर पामपछि अलिअलि भटमासको तेलको माग रहेकाले उद्योगले भटमासको तेल उत्पादन शुरू गरेकोमा छोटो समयमा यसले राम्रो बजार लिएको छ ।’

व्यवसायीहरूले पामजस्तै कच्चा भटमास पनि अन्य मुलुकबाट आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन् । गत वर्षसम्म ८० प्रतिशत पाम तेल र बाँकी भटमासको तेल उत्पादन गर्ने उद्योगले अहिले ८० प्रतिशतभन्दा बढी भटमासको तेल उत्पादन गरिरहेको मुरारका बताउँछन् । यसबाहेक व्यवसायीहरूले सूर्यमुखीको तेलको पनि उत्पादन गरिरहेका छन् । पाम तेलको माग भारतमा मात्र रहेको तर भटमास र सूर्यमुखीको तेलको माग नेपालमा पनि उच्च रहेकाले यसको बजार राम्रो भएको उनको भनाइ छ ।

विभागका अनुसार अघिल्लो वर्ष सूर्यमुखीको तेल हजार लिटर मात्र निर्यात भएकोमा यस वर्ष १० हजार लिटर निर्यात भएको छ ।

खाने तेलसँगै यस अवधिमा अलैंची, घरपालुवा कुकुर बिरालाको आहारा, बोराको झोला, जुटका कपडा, अम्रिसो लगायतका वस्तुको निर्यातमा वृद्धि भएको छ । अघिल्लो वर्षसम्म राम्रो रहेको पाम तेल, सिन्थेटिक यार्न, सल, दोसल्ला, फलामे पाता, खोटो लगायत वस्तुको निर्यात भने घटेको छ ।

यस अवधिमा डिजेल, पेट्रोल, अलकत्रा (बिटुमिन), ट्रान्सफर्मर, निर्माण सामग्री, गहुँ, मरिच लगायत सामग्रीको आयात घटेको देखिएको छ । यस्तै, कच्चा भटमास र सूर्यमुखी, चिनी, धान, सुन, डीएपी मल, सुन, मोबाइल र मोटरसाइकल जस्ता सामग्रीको आयात भने बढेको विभागको तथ्यांकले देखाएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्