Logo

लेख्नका लागि कोहीबाट प्रभावित हुनैपर्छ भन्ने छैन



विद्याप्रसाद घिमिरे :
जन्म मिति :– २०२२ माघ १० गते ।
जन्मस्थान : लमजुङ, श्रीमञ्जाङ– ५ ।
पिता : ताराप्रसाद घिमिरे माता : इन्दुदेवी घिमिरे ।
प्रथम प्रकाशित रचना : मेरो देश (कविता)
प्रकाशित कृति :

१. एकै वचन नामक संयुक्त गीति एल्बम २०६१ ।
२. सेलाएको घाम (कविता सङ्ग्रह) २०६७ ।
३. छैटौँ इन्द्रिय (निबन्धसङ्ग्रह)—२०७३ ।
४. चोइटिएको मुटु (गीतसङ्ग्रह)–२०७३ ।

प्रकाशनोन्मुख कृति :
१. परिवर्तन ( निबन्धसङ्ग्रह) ।
२. आधुनिक तथा राष्ट्रिय गीतको सँगालो प्रतिबिम्ब नामक सोलो गीति एल्बम ।

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो ?

लेखनयात्रा सुरु गर्दा मलाई साहित्य के हो भन्ने थाहा थिएन । देखेका केही घटनालाई ४÷५ कक्षामा पढ्दा नै मिलाएर लेखेँ । सङ्कोचले अरुलाई सुनाउन सकिनँ । कसैले नराम्रो भनिदिने हो कि भन्ने लाग्यो । वषौँ सिरानीमुनि राखेँ । एकदिन आपूmभन्दा ठूलो कक्षामा पढ्ने दाइलाई बताउँदा उहाँले सुनाउन आग्रह गरेपछि सुनाएँ, प्रोत्साहन पनि पाएँ । तर यो महत्वको कृति हो र यसलाई बचाएर राख्नुपर्छ भन्ने थाहा भएन, च्यातेर फालिदिएँ । यसरी लेख्दै र फाल्दै गरेर धेरै भावनालाई मैले अन्जानमै नाश गरेको छु ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

साहित्य भनेको भावना पोख्ने माध्यम हो । लेख्नका लागि केही न कोहीबाट प्रभावित हुनैपर्छ भन्नेमा म विश्वास राख्दिनँ । विद्यालयको पाठ्यपुस्तकको अतिरिक्त अन्य पुस्तक पनि हुन्छन् भन्ने थाहा नहुँदै लेख्न थालेको थिएँ । साहित्य लेख्न सुरु गर्नुअघि मैले एउटै पनि साहित्यिक कृति पढेको थिइनँ । विद्यालयको नियमित पाठभन्दा बाहिरका पुस्तक पढ्नेलाई ‘अब यो बिग्रने भयो’ भन्ने जमाना थियो । एसएलसी दिएपछि मैले मुनामदन पढेँ । अन्य पुस्तक थाहा नभए पनि संस्कृतका केही पुस्तक घरमै थिए, फुर्सदमा केही संस्कृत साहित्य हेरेँ, त्यति नै हो ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

यो गजबको प्रश्न हो । साहित्य सन्तुष्टि खोज्ने माध्यम हो । साहित्यकारको लक्ष्य भनेकै सन्तुष्टि हो । मेरो धारणामा एउटा सर्जकले जब लेखनमा सन्तुष्टि भेट्छ उसको लेखनमा पूर्णविराम लाग्छ । सन्तुष्ट भएपछि फेरि लेख्न के आवश्यक भयो र ! त्यसैले म लेखनबाट आजसम्म सन्तुष्ट हुन सकेको छैन ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

आज पूरै विश्व कोरोना सन्त्रासमा छ । मानव लामो समयदेखि आफ्नो घरमा बन्दी बनेको छ । यो समयलाई मैले सिर्जनामा लगाएँ, बन्दाबन्दीको अवधिलाई सदुपयोग गरेर राम्रै गरेछु जस्तो लागेको छ । किनभने यस अवधिमा दुईवटा सङ्ग्रहलाई पुग्ने निबन्धको पाण्डुलिपि तयार गर्न सफल भएछु । महामारीको कहर सकिएपछि ती दुवै कृति प्रकाशनको तयारीमा जुट्ने सोच छ ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

साहित्यको उत्थान र प्रबद्र्धनमा राज्यको प्रयास शून्य देखिन्छ । देशभरका साहित्यकारको प्राज्ञिक थलो मानिने नेपाल प्रज्ञा प्रतिष्ठान छ, यो संस्था केही वर्षयता राजनीतिक हस्तक्षेपको शिकार बनेको छ । आज नेपाली साहित्यकारहरू दाहिने र देब्रे खेमामा विभाजित छन् । सबै साहित्यकारको अवस्था यही छ भनेर म भन्दिनँ, तर साहित्यकारमा जो स्वार्थी र पदलोलुप छ– उसले एउटा न एउटा राजनीतिक दलमा आबद्ध हुनैपर्ने वातावरण बनाइएको छ । त्यहाँका सबै पद राजनीतिक भागबण्डामा वितरण हुन्छन् । यस्तोमा सरकारले न स्रष्टाको अभिभावकीय भूमिका निर्वाह गर्न सकेको छ, न त साहित्य उत्थानमा सहयोग नै गर्न सकेको छ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ? तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

साहित्यमा मलाई प्राप्त सन्तुष्टिबारे माथि पनि चर्चा भएको छ । म आफ्ना सिर्जनाबाट आजसम्म सन्तुष्ट हुन नसकेको मान्छे हुँ । लेखकीय दायित्वको प्रसङ्गमा भन्नुपर्दा यदि समाजमा छाडापन छ र लेखकले पनि त्यही छाडापनलाई प्रश्रय दिनेगरी कलम चलाउँछ भने उसको लेख हातहातै बिक्छ । यसमा कुनै शङ्का छैन । किनकि हावा जता वहेको छ– उतैतिर हिँड्दा सहज हुन्छ, लेखकले वाहवाही पाउँछ । तर लेखकीय धर्म यो होइन । लेखक भनेको समाजको प्रबुद्ध वर्ग हो । उसको हरेक गतिविधि सन्देशमूलक र अनुकरणयोग्य हुनुपर्छ । किनभने उसको जीवनपद्धति र विचारलाई समाजले ध्यानपूर्वक हेरिरहेको हुन्छ । उसले समाजलाई सकारात्मक सन्देश दिन सक्नुपर्छ । समाज खराब दिशामा छ र लेखक पनि त्यही दिशातर्फ गयो भने समाज सुधार्ने कसले ? लेखकको कर्तव्य गलत दिशामा गएको समाजलाई फर्काएर सही दिशामा ल्याउने हो । म यस विषयमा सचेत छु ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?

लेखनमा यही कुराले प्रेरणा दिन्छ भन्ने हुँदैन । म साहित्य लेखनलाई दुर्घटना ठान्छु– जुन आकस्मिक हुने गर्छ । कुन स्थानमा के कुराले प्रभाव पार्छ र साहित्य जन्मिन्छ भन्न सकिन्न । कहिले घरमा साहित्यिक दुर्घटना हुन सक्छ, कहिले बाहिर । हिजो घरमा घटेको घटना आज किन घटेन भन्न मिल्दैन । आज जङ्गल जाँदा, मठमन्दिर घुम्दै गर्दा वा बाटो हिँड्ने क्रममा साहित्य प्रस्फुटन हुन सक्छ । यद्यपि लेख्नका लागि वातावरणको महत्व सर्वाधिक हुन्छ । अशान्तभन्दा शान्त एवं प्राकृतिक वातावरण लेख्नका लागि प्रेरक हुने मेरो ठम्याइ छ । आफ्नो सिर्जनाले उचित सम्मान पाउँदा पनि लेखकलाई लेख्ने प्रेरणा मिलेको अनुभूत गरेको छु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

समाजमा यति धेरै लेख्ने विषय छन् कि लेखकलाई लेख्ने विषयवस्तु खोज्दै हिँड्नु आवश्यक छैन । तर कसैको ध्यान पुग्न नसकेका समाजका जल्दाबल्दा लेख्नयोग्य विषयमा कलम चलाउँदै आएको छु । पाठकको मनस्थिति बुझेर मनोरञ्जक मसलाको साथमा रोचक प्रसङ्गलाई पनि मैले समावेश गर्ने गरेको छु । मलाई विशेषगरी जीवन दर्शनका विषयमा कलम चलाउन मन पर्छ । मेरा हरेक लेखमा दर्शनका कुनै न कुनै प्रसङ्गलाई समेट्ने गर्छु ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?

हुन त साहित्यमा कल्पना एउटा सशक्त पक्ष हो । काल्पनिकतामा लेखिएका साहित्य सामग्रीले पनि समय÷समयमा तहल्का मच्चाएको नदेखिएको होइन । जून र पूmललाई प्रियसीको रूपसँग दाँज्ने खालका कल्पनामा खासै दर्शन भेटिँदैन । आजको युगमा लेखिने साहित्यमा काल्पनिकता यस्तो रूपमा प्रकट होस् कि त्यसले भोलिको लागि एउटा नयाँ दिशा दिन सकोस् । यस्तो भए काल्पनिक साहित्यले पनि समाजलाई झक्झक्याउन सक्छ । समाजलाई नयाँ युगमा लैजान सक्छ अन्यथा काल्पनिकताभन्दा सजीवतालाई चित्रण गरिएको साहित्यकै महत्व बढी हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम