Logo

विप्लवमाथिको प्रतिबन्ध हट्दै, वार्ता टोली बन्ने



काठमाडौं, ११ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने तयारी भएको छ । आज सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपाको गतिविधिको समिक्षापछि प्रधानमन्त्री केपी शर्मा ओली त्यस्तो तयारीमा पुगेका हुन् ।

सम्भवत आज बस्ने मन्त्रिपरिषद बैठकले विप्लवमाथिको प्रतिबन्ध हटाउने छ । यसअघि प्रधानमन्त्री ओलीकै क्याबिनेटले विप्लवमाथि प्रतिबन्ध लगाएको थियो ।

विप्लवसँग सरकारले वार्ताको भित्री तयारी गरिरहँदा प्रतिबन्ध हटाउन लागेको हो । यसअघि ८ फागुनमा प्रेस विज्ञप्ति जारी गरी विप्लवले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएका थिए । उनले वार्ताको वातावरण बनाउन आग्रह समेत गरेका थिए ।

विप्लवसँग सरकारका तर्फबाट पूर्व माओवादी मन्त्रीहरुले वार्ता गरिरहेका छन् । विशेषगरी खानेपानीमन्त्री मणि थापाले अनौपचारिक वार्ता गर्दै आएका छन् ।

यसैगरी, विप्लवका तर्फबाट केही दिनमै वार्ता टोली तयार हुने बुझिएको छ । विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले नेतृत्व लिनसक्ने बुझिएको छ । सरकारले पनि वार्ता टोली तयार गर्ने भएको छ । सम्भवत मन्त्रिपरिषद बैठकले वार्ता टोली बनाउनेछ ।

विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा ल्याउन खोजेको बुझिएको छ । उनलाई उपप्रधानमन्त्रीसम्मको प्रस्ताव गरिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्तामा आउनुअघि तीन कम्युनिस्ट घटकसँग २९ माघमा रणनैतिक मोर्चा गठन गरी घोषणा गरिसकेको छ । मोर्चामा मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुती नेतृत्वको कम्युनिस्ट पार्टी छन् ।



प्रतिक्रिया दिनुहोस्