Logo

पूर्वसांसद रानाभाटको अन्त्येष्टि



चितवन, ११ फागुन । पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो ।

रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उनको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनको अन्त्येष्टिमा देवघाटमा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टीका जिल्लाका विभिन्न तह र तप्काका नेता एवं निवर्तमान सांसदको उपस्थिति रहेको थियो ।

अन्त्येष्टि पूर्व रानाभाटको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उहाँ २०५६ सालमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। विसं २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा जन्मेका उनी कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा कार्य गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । रासस



प्रतिक्रिया दिनुहोस्