Logo

नेपाल बंगलादेश बैंक र कर्मभुमि नेपालबीच कर्जा लगानी गर्ने सम्झौता



काठमाडौं, ११ फागुन । कर्मभूमि समाज र नेपाल बंगलादेश (एनबी) बैंकबीच कर्जा लगानी गर्ने सम्झौता भएको छ । समाज र बैंकबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा कर्मभूमि समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु नेपाल र एनबी बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख सुदीन ढुङ्गेलले हस्ताक्षर गरेका हुन् ।

हातमा सीप भएकालाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् वित्तीयकरण सुविधा उपलब्ध गराउन हात्तीवन ललितपुरमा अवस्थित कर्मभूमि समाजले मध्यस्थकर्ताको काम गर्दै आएको छ ।

सम्झौतामा ऋण लिने पक्ष र बैंकबीचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी दुवै पक्षका बीच सहजकर्ताको भूमिका निर्वाह गर्नेछ । ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिशमा भएको हुनेछ । तर कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहने उल्लेख गरिएको छ ।
सम्झौता पत्र अनुसार मा कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ । कर्मभूमि समाजले कर्जाको भूक्तानी सेड्युल अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्ने गर्नेछ ।

सहुलियत कर्जा सम्बन्धि सरकारको नीति तथा नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार ब्याजदर र जोखिम बापत्को शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशन अनुसार यो परिवर्तन हुन सक्नेछ । यसका साथै बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि कर्मभूमि समाजलाई सहयोग गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्