Logo

भागरथीले ‘काले’ भन्ने गर्दा रिस उठ्ने गरेको दिनेशको बयान



काठमाडौं, ११ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको हत्या घटना पनि कतै निर्मला पन्तको जस्तै हुने त होइन भन्ने व्यापक आशंकाकाबीच प्रहरीले गत बुधबार आरोपी सार्वजनिक गरेको छ । तिव्र दबाबका कारण प्रहरीले विस्तृत अनुसन्धान नगरी आरोपी सार्वजनिक गर्न बाध्य भयो । जसकारण अनुसन्धानका कतिपय प्रश्न अनुत्तरित नै रहे ।

आरोपी किशोरीको बयानको क्रममा थप कुराहरु खुल्दै गएका छन् । गत बुधबार डिआईजी उत्तमराज सुवेदीले अभियुक्त सार्वजनिक गर्दा पुरानो रिसइवी हत्याको कारण भएको बताएका थिए । भागरथीका बुबाले हत्याराका एक आफन्तलाई बलात्कार गरेको बदलामा आफूले सो घटना घटाएको उनको बयान थियो । झन्डै ४० वर्ष पुरानो सो घटनामा एउटा १७ वर्षे किशोरले त्यसरी प्रतिशोध लियो होला ? धेरै विश्वास गरेनन् ।

बयानको क्रममा भने विश्वास लाग्ने तथ्यहरु खुलेका छन् । भागिरथी र आरोपी युवक एउटै गाउँका मात्र होइनन् एउटै स्कुलमा पढ्ने विद्यार्थीसमेत हुन् । जसअनुसार उनीहरु प्राय सधैं सँगै स्कुल जान्थे । त्यसरी बिद्यालय जाने क्रममा भागरथीले आफुलाई ‘काले’ भनेर जिस्काएको र आफुलाई रिस उठेको उनले बयानमा बताएका छन् । त्यसरी हेपेको प्रतिशोधका कारण समेत आफुले बलात्कारको योजना बनाएको उनको दाबी छ ।

सोही अनुसार २१ गते दिउँसो उनीले भागरथीको बाटो कुरेर बसेका थिए । भागरथीलाई देख्ने बित्तिकै बाटोमा लडाए । आफ्नो मनसाय बलात्कार गर्ने मात्र भएको र ऊ निकै घाइते भएपछि घाँटी थिचेर हत्या गरेको उनले साविती बयान दिएका छन् ।

उनकै बयानको आधारमा भागरथीको घडी घटनास्थलको छेउमा प्रहरीले बरामद गरेको थियो । त्यसले पनि यो घटनामा पक्राउ परेका व्यक्ति नै अभियुक्त भएको बलियो प्रमाण दिएको छ । डिएनए लगायतका परीक्षण गर्ने कि नगर्ने भन्नेमा भने प्रहरी अन्योलमै छ । निर्मला पन्तको घटनामा पक्राउ परेका दिलिपसिंह बिष्टले अभियोग स्वीकारेका थिए । उनले भनेअनुसार नै घटनास्थलको प्रकृती थियो । तर, त्यो घटनामा राजनीतिकरण भयो, डिएनए पनि म्याच भएन, जसकारण नक्कली अभियुक्त खडा गर्न लागिएको भन्दै हंगामा मच्चाइयो । तर, भागरथीको केसमा भने त्यस्तो राजनीति हुन पाएन ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्