Logo

चक्रपथ विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम सकिंदै



काठमाडौं, ११ फागुन ।  कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ। चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ। योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकालगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए। उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा  भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ। उनले भने, ‘मूल्याङ्कन भइसकेको घरको प्रक्रिया अघि बढाइनेछ।’

तीमध्ये १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ।  वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उनको भनाइ छ।  वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो। घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उनले जानकारी दिए। ती घरहरुमा नक्सा लिएर  मूल्याङ्कन गर्ने कि भन्ने छलफल भएको छ। कतिपय घर नक्साभन्दा फरक हुनसक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने उनले बताए। उनले भने, ‘घरधनीले पछि विवाद निकाल्न सक्ने सम्भावना छ।’

जम्मा ११ दशमलव छ किमी लम्बाइको सडकमध्ये २४४ मिटरमा निर्माणस्थल खाली गराउन नसकिएको योजनाले जनाएको छ। अरू कतिपय संरचना हटाइरहेको भए पनि त्यसले चिनियाँ टोलीलाई निर्माण अघि बढाउन बाधा नपुग्ने प्रमुख सुवालले बताए। सो सडकमा विद्युत् प्राधिकरणले तार जमीनमुनि राख्ने काम गरिरहेकामा त्यो मुख्य सडकबाहेकको सहायक सडकमा पर्छ। प्राधिकरणले तार सार्ने काम गत वर्षबाटै सुरुआत गरेको थियो। बाँकी स्थानमा पनि ठेक्का सम्झौता भइसकेको छ। उनले भने, ‘मुख्य लेनमा काम भइरहँदा पनि सहायक लेनको काम गर्न सकिन्छ।’-रासस



प्रतिक्रिया दिनुहोस्