Logo

बीउ सूचीकरणमा सहजताबारे अध्ययन गर्न कार्यदल गठन



काठमाडौं, फागुन १२। बीउबिजनका नयाँ जातहरूको सूचीकरण झन्झटिलो भएको भन्दै निजी क्षेत्रबाट गुनासो आएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसका बारेमा अध्ययन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ ।

नेपालमा तरकारीका नयाँ जातका बीउका लागि कम अनुसन्धान भएको छ र विदेशबाट आउने बीउको सूचीकरण तथा प्रमाणीकरण गर्ने प्रक्रिया लामो तथा झन्झटिलो भएका कारण किसान मर्कामा परेको छ । निजी क्षेत्रले पटक–पटक यो कुरा उठाएपछि मन्त्रालयले सोमबार नेपाल बाली तथा बागबानीका निर्देशक डा रामबहादुर केसीको संयोजकत्वमा सात सदस्यीय एक कार्यदल गठन गरेकोे छ ।

सो कार्यदलमा सरकार तथा निजी क्षेत्रका प्रतिनिधि रहेका छन् । कार्यदलले अध्ययन गरेर १० दिनभित्र आफ्नो प्रतिवेदन कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बीउबिजन समितिमा बुझाउने समितिका प्रमुख केशव देवकोटाले जानकारी दिए । नयाँ जातका बीउहरू बीउबिजन ऐन तथा नियमावलीअनुसार सूचीकरण हुन्छ । ऐन पुरानो भएकाले अहिलेको परिवेशमा काम गर्न गाह्रो भएको समितिका सदस्य सचिव बेनुप्रसाद प्रसाईंले जानकारी दिए।

हालसम्म बीउबिजनको काम बीउबिजन ऐन २०४५ अनुसार भइरहेको छ । सो ऐन निकै पुरानो भइसकेको छ । अहिलेको परिवेशमा से ऐनअनुसार काम गर्दा बीउबिजनको सूचीकरण गर्नमा समस्या भइरहेको उनले बताए ।

ऐन संशोधनका लागि प्रतिनिधि सभामा पठाइसकेको छ । त्यसमा छलफल पनि भइसकेको छ तर प्रमाणीकरण हुन बाँकी रहेकाले कार्यान्वयनमा नआएको उनको भनाई छ । नयाँ जातको बीउलाई सूचीकरण गर्न कसरी सहजता अपनाउन सकिन्छ, निजी क्षेत्रलाई कसरी समेट्न सकिन्छ त्यसका बारेमा कार्यदलले अध्ययन गर्ने उनले बताए । नयाँ जातको बीउ सूचीकरण गर्ने प्रक्रिया निकै लामो रहेको छ ।

सूचीकरण हुँदासम्म कतिपय बीउ काम नलाग्नेसम्मको अवस्थामा पुगिसकेको हुन्छ । कतिपय सूचीबाट पनि हटाइसकेका हुन्छन् । सूचीकरण प्रक्रियालाई कसरी छोटा बनाउन सकिन्छ र बढीभन्दा बढी किसानको पहुँचमा कसरी पु¥याउन सकिन्छ त्यसको बारेमा छलफल हुने उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्