Logo

इतिहास र संस्कृति जोगाउन लागे स्थानीय तह



इलाम, १२ फागुन । इलाम नगरपालिकाको अरनिको सङ्ग्रहालय २०५५ सालमा निर्माण भएको हो । तत्कालीन स्थानीय निकायमा जनप्रतिनिधि नआएपछि बनेको सङ्ग्रहालय जनप्रतिनिधि निर्वाचित नहुँदा बन्द भयो । दुई वर्षअघि इलाम नगरपालिकाकै अगुवाइमा सङ्ग्रहालय पुनःस्थापना भएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई नै सङ्ग्रहालय बनाएर १४७ किसिमका ऐतिहासिक र सांस्कृतिक सामग्री राखिएको छ । यहाँ पुरानो लुगा सिउने तान, मोही हाल्ने धिरी, मोही पार्ने लाजिम, मोही बोक्ने बाँसबाट बनेको भुने जस्ता सामग्री छन् । यहाँ अध्यारोमा बाल्ने टुकी, ठडेउरो, ग्रामोफोन, मटियाजस्ता सामग्री पनि छन् । इलाम नगरपालिकाभित्रबाट फेला पारेको सामग्री धेरै छन् भने केही सामग्री सन्दकपुर गाउँपालिकाबाट पनि ल्याइएको छ । सामग्रीमा निर्माणकर्ताको नामसमेत टाँसिएको छ ।

सङ्ग्रहालयका तीन कोठामा सामग्री सजाएर राखिएको छ । एउटा कोठामा हस्तकलाका सामग्री छन् भने अन्य कोठामा पुराना सामग्री समेटिएको छ । सङ्ग्रहालयमा रहेका २२ कोठामा २२ वटै जातिलाई पराम्परागत एवं पहिचान झल्किने सामग्री राख्न दिइने छ । यसबाट जिल्लामा रहेको लोपोन्मुख समूहमा पर्ने लेप्चा र अन्य जातीको पनि पहिचान झल्कने सम्भावना देखिन्छ ।

यस्तै इलामका प्रमुख पहिचान बनाएका नगदेबाली र भूभागको पनि नक्साङ्कन गर्ने योजना रहेको इलाम नगरपालिका साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेकोे भनाइ छ ।

सङ्ग्रहालयमा पञ्चेबाजा र पञ्चेबाजा बजाउने मान्छेको प्रतिमा छ भने पुराना ढिकी, जाँतो, कोल हेर्न पाइन्छ । “इतिहास चिनाउनकै लागि सङ्ग्रहालय निर्माण गरिएको हो”, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने, “पहिले पनि म नै प्रमुख भएका बेला बनाइएको हो तर अहिले पुनर्जीवन दिएको मात्र हो ।” सङ्ग्रहालयको पुनःस्थापना दुई वर्षअघि भएको हो । राणाकालीन दरबारमा सङ्ग्रहालय बनाइएको छ । यो दरबार इलाममा गजराजसिंह थापा बडाहाकिम हुँदाको हो ।

सङ्ग्रहालयमा इलाम भनेर चिनिने अलैँची, अदुवा, अकबरे, अम्लिसो, अर्थोडक्स चियाको नक्साङ्कन गरेर पर्यटकलाई एकै ठाउँबाट इलाम चिनाउने प्रयत्न गरिँदै छ । सङ्ग्रहालयको नजिकको भवनमा इलामका चर्चित ठाउँको भिडियो बनाएर प्रदर्शन गर्ने तयारी गरिएको छ ।

भिडियोका मद्दतले पर्यटकमा इलामका पर्यटकीय क्षेत्रको ज्ञान बढाउने अपेक्षा सङ्ग्रहालयको छ । भिडियोमा ठाउँका नामसहित भौगोलिक अवस्था र लोकप्रियताका बारेमा जानकारी गराइने छ । यसपछि पर्यटकमा जिल्लाका पर्यटकीय क्षेत्र घुम्न थप ऊर्जा मिल्ने अध्यक्ष घिमिरेको भनाइ छ । सङ्ग्रहालयकै रकमबाट सङ्ग्रहालय अगाडि अरनिको प्रतिमा बनाइएको छ ।

यस्तै इलामको रोङ गाउँपालिकाले लेप्चाको संस्कृति जगेर्ना गर्न २० वर्षे कार्यनीतिक योजना निर्माण गरेको छ । गाउँपालिकाले योजनाअन्तर्गत सोही समयभित्र लेप्चा सङ्ग्रहालय र लेप्चा खाद्यान्नको होमस्टे ९घरबास० समेत निर्माण गर्न लागेको छ । आउँदो पाँच वर्षभित्रमा सङ्ग्रहालय निर्माण सकिने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

“लेप्चाको सामग्री मात्रै राखेर सङ्ग्रहालय बनाउने काम त सहज छ तर हामी त्यो भन्दा व्यापक तरिकाले निर्माण गर्ने छौँ”, गाउँपालिका अध्यक्ष शमशेर राईले भने, “सङ्ग्रहालय बनाउँदा उनीहरुको परम्परा नमर्ने र कस्तो वस्तु प्रयोग गर्दा सहज हुन्छ त्यसबारेमा विज्ञ टोलीसँग छलफल गरेर हामी सङ्ग्रहालय निर्माणमा लाग्नेछौँ ।”

रोङ गाउँपालिकाले विद्यालयमा नै रोङ (लेप्चा जातिको मातृभाषा) भाषा पढाउने भएको छ । बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो ।

गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी शुरु गरे पनि शिक्षक अभाव भएपछि आउँदो वर्षदेखि मात्र शुरु गर्ने भएको हो । स्थानीयस्तरमा विद्यालय शिक्षाका लागि भाषाको शिक्षक अभाव हुँदा यस वर्ष पढाइ हुन नसकेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot