Logo

अब नेपाल भ्रमण वर्ष कहिले ?



कपिल लोहनी : सन् १९५० मा राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय भएपश्चात् बाहिरी दुनियाँका लागि खुला भएको नेपालमा विदेशीहरुको आगमन विभिन्न कारणले गर्दा शुरु भएको हो । राणाशासनको समयमा काठमाडौँस्थित आफ्नो रेजिडेन्सीमा काम गर्ने बेलायती कर्मचारी र बेलाबेलामा तत्कालीन शासकहरुले शिकारमा निम्त्याउने केही पाहुनाहरु तथा शिवरात्रिमा पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु र केही बौद्ध भिक्षुहरुबाहेक अन्य विदेशीहरुलाई नेपाल बन्दजस्तै थियो । आफ्नै देशका जनतालाई समेत राजधानी भित्र र बाहिर ओहोरदोहोर गर्न पनि सरकारी स्वीकृति लिनु पर्दथ्यो । प्रजातन्त्रको स्थापना लगत्तै बेलायतबाहेक भारतीय नियोगको कार्यालय पनि नेपालमा खडा भयो भने बिस्तारै अन्य मुलुकका दूतावासहरु तथा विकास नियोगहरु र संयुक्त राष्ट्रसंघको कार्यालय पनि नेपालमा स्थापना भयो ।

सन् १९५० मा डा. टोनी हेगनले स्वीस सरकारको प्रतिनिधिका रुपमा नेपाल आएर मुलुकभर करा १४,००० किलोमिटर पैदलयात्रा गरे अनि नेपालबारेको सचित्र पुस्तक प्रकाशित गरे । १९५५ मा संयुक्त राष्ट्र संघको कार्यालय खुलेपछि पनि उनले यसै संस्थामार्फत नेपालमा निकै समय काम गरे । त्यस्तै सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि विश्वमा नेपालले ठूलै परिचय पायो ।

टोनी हेगनको पुस्तकमा छापिएका चित्रहरु र सगरमाथाको प्रथम आरोहणको खबरले विदेशीहरु निकै मोहित भएर त्यतिबेला नेपाल आउन थालेका हुन् जुन बेला नेपालमा पर्यटकहरुलाई आवश्यक पर्ने पूर्वाधार समेत नगण्य मात्रामा उपलब्ध थियो । सन् १९५४ मा बोरिस लिस्सानेभिचले रोयल होटलको शुरुवात काठमाडौँको कान्तिपथमा गरेपछि नेपालमा पर्यटनको पूर्वाधार तयार हुने क्रमको थालनी भयो । तत्पश्चात् नेपाललाई माया गर्ने कैयन विदेशीहरुले निकैपटक नेपाल भ्रमण गरेर नेपालबारेका धेरै सचित्र पुस्तकहरु प्रकाशन गरे, जसबाट नेपालको धेरै प्रचार प्रसार भयो विश्वमा ।

आज मुलुकमा ठूलासाना गरी सयौँ स्तरीय होटल र हजारौँ खानपिनका रेष्टुरेण्टहरु, दर्जनौं विमानसेवा प्रदायक कम्पनी र हजारौँको संख्यामा ट्राभल–ट्रेकिङ एजेन्सीहरु छन् । त्यस्तै पर्यटन व्यवसाय सम्बन्धी औपचारिक शिक्षा लिएका व्यवसायीहरुको संख्या पनि निकै बढेको छ भने यस्तो किसिमका जनशक्ति उत्पादन गर्ने राम्रा शिक्षण संस्थाको पनि नेपालमा कमी छैन । मुलुक आज निकै हदसम्म राजनैतिक र सामाजिक रुपमा शान्त पनि भएको छ र तिनै तहका निर्वाचित सरकारहरु आ–आफ्ना ठाउँमा क्रियाशील छन् । यस्तै कारणहरुले गर्दा नेपालमा पर्यटकहरुको आगमन पनि प्रत्येक वर्ष बढ्दै गएको छ ।

पर्यटकहरु नेपालमा खासगरी यहाँका हिमाल, पहाड र तराईका रमणीय दृश्यहरु र यहाँका ऐतिहासिक र सांस्कृतिक धरोहरहरुको अवलोकन गर्न आउँछन् भने धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका लागि र बिदा मनाउन नेपाल भ्रमण गर्नेहरुको संख्या पनि बढ्दो छ । हालै प्रकाशित पर्यटन सम्बन्धी तथ्यांक अनुसार गत वर्ष नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या ११ लाख ७३ हजार पुगेको छ भने क्रमशः भारत, चीन र अमेरिकाका पर्यटकहरु सबैभन्दा बढी आउने गरेका छन् । यो तथ्यांकका आधारमा मासिक ९५,००० जति पर्यटकहरु नेपाल भित्रन्छन् र अधिकांश हवाईमार्गबाट नेपाल आउँछन् । तर सिजनको आधारमा यो मासिक संख्यामा ठूलै उतार चढाउ हुने गरेको छ । उनीहरुको औसत बसाइ करा १२ दिनको रहने गरेको छ र उनीहरु औसतन दिनको करा ४५ डलर खर्च गर्दछन् ।

कुनै पनि देशमा भ्रमण वर्ष मनाउनुको मुख्य उद्देश्य नयाँ नयाँ पर्यटकीय गन्तव्य तथा क्रियाकलापहरु थपेर ज्यादा से ज्यादा पर्यटकहरु भित्राउनु र उनीहरुको बसाइ लम्ब्याउनुका साथै उनीहरुले विभिन्न क्रियाकलाप जस्तैः घुमफिर, अवलोकन, खानपिन, किनमेल र मनोरञ्जन आदिमा अधिकतम खर्च गरुन् भन्ने नै हो । यसो भएमा सन्तुष्ट पर्यटकहरु बारम्बार नेपाल भ्रमणमा आइरहन्छन् र उनीहरुले अरुलाई पनि नेपाल वारे सकारात्मक सन्देश दिन्छन् । यसरी पर्यटन क्षेत्रबाट मुलुकले अझ बदी आय आर्जन गर्न सक्ने छ ।

सन् १९९८ मा पनि नेपाल भ्रमण वर्ष मनाइएको थियो ५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ । त्यसै वर्ष नेपाल पर्यटन वोर्डको समेत स्थापना भएको थियो । यस अघि पर्यटन प्रचार प्रसार तथा यो सम्बन्धी अन्य काम पर्यटन विभागले आफै गर्ने गर्दथ्यो । भ्रमण वर्षको तयारी स्वरुप त्यतिबेला पर्यटकीय महत्वका क्षेत्रहरुसम्म पुग्ने सडकहरुको केही सुधार गर्नुका साथै नेपालमा सेवा पुर्याउने अन्तर्राष्ट्रिय वायुसेवाहरुको संख्या बढाउन समेत पहलकदमी भएको थियो । त्यस्तै सन् २०११ लाई पनि त्यति बेला पर्यटन वर्षको रुपमा मनाउने र १० लाख पर्यटक भित्राउने योजना थियो । सो वर्ष ७ लाख ३६ हजार पर्यटकहरु नेपाल आएको तथ्यांक छ ।

वास्तवमा यसरी भ्रमण वर्ष मनाउने भनेर सोही अनुरुपको यथेष्ट पूर्वतयारी नेपालमा कहिल्यै पनि भएको पाइँदैन । बोर्ड र सम्बन्धित सरकारी पदाधिकारीहरु प्रचार प्रसारको निहुँमा विभिन्न देशहरुको भ्रमण गर्ने र केही पोस्टर र पुस्तक छपाउने तथा सभासेमिनारहरु आयोजना गर्नेबाहेक पर्यटकको भ्रमण कसरी फलदायी बनाउने भन्नेबारे खासै काम भएको पाइँदैन । यसो भनेर पर्यटन बोर्ड वा पर्यटन मन्त्रालयले गरेका राम्रा कार्यहरुलाई कम आँक्न खोजेको भने कदापि होइन ।
कोरोना महामारी नभएको भए २०२० भ्रमण वर्ष हुन्थ्यो । कोरोना अझै घुमिरहेकै छ । खोप लगाउने तयारी भइरहेकै छ ।

त्यसो त कार्यक्रम शुरु हुन छ महिना मात्र बाँकी हुँदासम्म समेत विमानस्थलमा अध्यागमन काउण्टरको कम्प्युटर बिग्रेर र कर्मचारी नभएर यात्रुहरु कुरेर घण्टौँ बस्नु पर्ने, सामान नआइपुग्ने वा व्याग नै फोरेर सामान चोरी हुने, विमानस्थल बाहिर यातायात र अन्य कुराका झमेलाहरु भोग्नुपर्ने जस्ता सामान्य समस्याहरु पनि समाधान हुन नसक्ने निकै चिन्ताको विषय थियो नै । साजसज्जामा करोडौँ खर्च गरेर वुटिक विमानस्थल बनाएर मात्र विमानस्थलको सुधार हुन सक्तैन, जबसम्म त्यहाँ काम गर्ने कर्मचारीहरु चुस्त, स्फुर्त र इमान्दार हुँदैनन् ।

भारत सरकारले समेत आफूले नसकेर दिल्ली लगायत कैयन् विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । यो बारे हामीले पनि सोच्ने बेला आइसकेको छ ।
कुनै पनि कुराको गृहकार्य गर्ने हाम्रो आदत नै नभएकाले विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुमा समेत हामी आफ्नो विचार र अडान राख्न चुक्छौँ । हामीले धेरै टाढा जानु नै पर्दैन, थाइल्यान्ड र मलेसियामा बेला बेलामा अउयोजना हुने भ्रमण वर्षका तयारीहरुको जानकारी लिए मात्र पनि पुग्छ ।

निकट भविश्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका साथै भैरहवा र पोखराका दुई नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुनेछन् । विभिन्न ठाउँहरुमा केवलकार सेवा पुर्याउने निर्माण कार्य भइरहेको छ भने नेपाल भ्रमण वर्ष र क्षेत्रीय विमानस्थलहरुको निर्माण सम्पन्न हुने समयलाई ध्यानमा राखी केही नेपाली विमानसेवाहरुले आफ्नो जहाज संख्या, सेवाको स्तर र गन्तव्य बढाउने कार्य पनि गरी नै रहेका छन् ।
सातै वटा प्रदेशहरुमा पर्यटनका नयाँ नयाँ सम्भावनाहरु पहिचान गर्दै तिनको निर्माण कार्य भइरहेका छन् । भ्यूटावरदेखि निकुञ्ज र सिमसार क्षेत्र तथा पार्क र धार्मिक–सांस्कृतिक महत्त्वका ठाउँहरुमा पुगिने बाटाघाटा र संरचना अनि साहसिक पर्यटनका पूर्वाधारहरुको निर्माण हुने क्रम जारी छ । मुलुकका विभिन्न नयाँ–पुराना सहरहरुमा सडक सुधार, बसपार्क तथा पूर्वाधार निर्माण, पार्क तथा खेलकुदका संरचनाको विकास र ठूला–साना होटलहरु बन्ने क्रम जारी छ भने गाउँघरहरुमा पनि होमस्टेको अवधारणाले गति लिइरहेको छ ।

एकाध वर्षमा यस्ता धेरै परियोजनाहरु धमाधम सम्पन्न हुने सम्भावनाहरु देखिन्छन् भने यस्ता बन्दोबस्तीका कामहरुबाट निकट भविश्यमा विदेशी र आन्तरिक दुवै प्रकारका पर्यटकहरुलाई फाइदा पुग्ने देखिन्छ । काठमाडौँ उपत्यकाका पर्यटनका हिसाबले अति महत्त्वपूर्ण सडकहरु जस्तैः कलंकी–नागढुंगा, सातदोबाटो–गोदावरी, भक्तपुर–नगरकोट, भक्तपुर–चाँगुनारायण, कीर्तिपुर–दक्षिणकाली, गौशाला–पशुपतिनाथ–गुह्येश्वरी–जोरपाटी, चावहिल–बौद्ध–साँखु, जोरपाटी–सुन्दरीजल, बालाजु–ककनी तथा अधिकांश शहरी सडकहरु चरम दुरवस्थामा छन् भने धुवाँ र धुलोले यी कुनै पनि ठाउँहरुमा गइनसक्नु छ । त्यस्तै उपत्यका बाहिरका हाल भइरहेका राजमार्गहरु पनि जीर्ण अवस्थामा छन् र मर्मत-स्तरोन्नति भइरहेका ककनी–नुवाकोट, गल्छी–नुवाकोट–धुन्चे–स्याफ्रुबेसी, बाह्रबिसे–कोदारी, लामोसाँघु–जिरी, पोखरा–बाग्लुङ, बुटवल–पाल्पा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा जान बनाइएका कच्ची सडक पनि यात्रायोग्य छैनन् ।

सन् २०१५ को महाभूकम्पले ध्वस्त पारेका ऐतिहासिक धरोहरहरु जस्तैः धरहरा, रानीपोखरी, काष्ठमण्डप, उपत्यकाका तिनै जिल्लाका दरवार क्षेत्रहरु, स्वयम्भूनाथ परिसर, राष्ट्रिय संग्रहालय, पुस्तकालयहरु, सिंहदरवार, गोरखा दरवार, नुवाकोट दरवार, तलेजु भवानी, चाँगुनारायण परिसर तथा बज्रयोगिनीका मन्दिर परिसर र अन्य धेरै महत्वपूर्ण मठ–मन्दिरहरु पूर्ण रुपमा बनिनसकेको अवस्थामा हामीले पर्यटकहरुलाई के देखाउने ? हामीले विभिन्न जात्रा, चाडपर्व, नाचगान आदिलाई पनि विशेष रुपमा प्रस्तुत गर्न मद्दत गरेर पर्यटकहरुलाई यथेष्ट मनोरञ्जन दिन कुनै कार्य थालेका छौँ त ?

छिटो से छिटो हवाई सुरक्षा व्यवस्थामा व्यापक सुधार ल्याएर हाम्रो हवाई सुरक्षा प्रणाली सुरक्षित रहेको प्रमाणित गर्न सम्बन्धित निकायहरुलाई सुरक्षा अडिट गर्न निम्त्याउनु आजको आवश्यकता हो । यसो भएमा हाम्रा विमानसेवाहरुले धेरै मुलुकहरुमा सेवा विस्तार गर्न सक्ने थिए र त्यहाँका पर्यटकहरु पनि आकर्षित हुने थिए ।
नेपाल भ्रमण वर्षलाई हाम्रा अति विशेष नगदेवालीहरु जस्तैः चिया, कफी, अदुवा, अलैंची, अल्लो, जडीबुटी, अनाज, मह, स्याउ, तथा अन्य अर्गानिक खाद्य पदार्थहरुको अन्तर्राष्ट्रिय प्रवर्धनको सम्वाहकको रुपमा मनाउन पाए यी वस्तुहरुले विकसित मुलुकहरुमा सीधा पहुँच पाएर हाम्रा लाखौँ किसान र लघु तथा साना उद्यमीहरु लाभान्वित हुने थिए । पर्यटनका साथ साथै हाम्रा खास कृषि उत्पादनहरुको प्रवद्र्घन विश्वमा एकसाथ हुँदा दिगो बजारको पहिचान भएर मुलुकलाई आर्थिक रुपले निकै फाइदा पुग्ने थियो ।

यसरी साना ठुला गरी निकै कुराहरुको तयारीको खाँचो भइरहेको परिवेशमा हतार हतार नेपाल भ्रमण वर्ष सन् २०२० आयोजना गर्नु मनासिव थिएन । निर्माणाधीन पूर्वाधारहरु सम्पन्न गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान र विकास गर्न दिलोज्यानका साथ समय खर्चेर सम्पूर्ण तयारी पूरा भएपछि मात्र नेपाल भ्रमण वर्ष आयोजना गरे मुलुकको इज्जतमा व्यापक अभिवृद्धि हुनुका साथै भ्रमण वर्षको उद्देश्य समेत पूरा हुने थियो होला । प्रभावकारी रुपमा प्रचार प्रसार गर्न समेत पनि निकै समय लाग्छ । बरु कोरोना हटेर सबै तयारी पूरा भएपछि लगातार दुई वर्ष नेपाल भ्रमण वर्षका प्रारम्भिक वर्षहरुको रुपमा मनाए पनि भयो ।

यदि हतार हतारमा नै विना तयारी भ्रमण वर्ष आयोजना गर्ने हो भने नेपाल आउने पर्यटकहरुले विमानस्थल र नेपाली सिमानाका प्रवेशद्वारहरुदेखि नै अस्तव्यस्त वातावरण र झमेलाको सामना गर्नुका साथै जताततै फोहरका डंगुर, धुलो, धुवाँ र भीडभाड तथा भत्केका संरचना हेर्नेबाहेक भ्रमणको कुनै मज्जा लिन पाउने देखिँदैन । हालै केही पर्यटकहरुसँग कुराकानी गर्दा पनि उनीहरुको यस्तै नकारात्मक प्रतिक्रियाहरु सुन्नमा आएको थियो । उनीहरु भन्छन्, ‘यति सुन्दर, ऐतिहासिक र संस्कृतिको धनी देश तथा निकै सरल र सुसंस्कृत मानिसहरु बस्ने नेपालमा किन यस्तो फोहर, धुवाँ, धुलो र बसिनसक्नुको प्रदूषणयुक्त वातावरण छ र जताततै किन अव्यवस्था छाएको छ ?’ नेपाल राष्ट्र, सरकार र जनताकै गौरव झल्काउन मद्दत पुर्याउने यस्ता महत्त्वपूर्ण महोत्सवहरु भरपुर तयारीबिना आयोजना गर्दा विश्वमा निकै नकारात्मक सन्देश जान सक्छ । (लेखक पूर्व बैंकर र विकास अर्थशास्त्री हुन् ।)

 



प्रतिक्रिया दिनुहोस्