Logo

सत्ता समिकरणबारे दाहाल–नेपाल पक्षको जसपासंग वार्ता



काठमाडौं, फागुन १३ । नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकारमा सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समिकरणबारे वार्ता गरेको छ। जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने संकेत देखाएसंगै नेकपा–जसपा सत्ता समिकरणबारे कुरा अगाडी बढेको हो ।

सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफलसमेत गरेका थिए । जसपाका नेता महन्त ठाकुर तथा राजेन्द्र महतो र नेकपा अध्यक्ष दाहाल तथा नेपालले नयाँ सरकार बनाउँनेबारे समिकरणमा जोड दिएका हुन् । नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित देखिएका छन् ।

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् । बाँकी ३२ सांसद र नेकपाको दाहाल-नेपाल समूह मिलेमा नयाँ सरकार बन्न बहुमत पुग्ने जसपाका नेताहरूको विश्लेषण छ ।

जसपाका एक नेताका अनुसार दाहाल–नेपाल पक्षसँग कम्तीमा १ सय ६ सांसद हुन सक्ने अनुमान छ । त्यस्तो भएमा दाहाल-नेपाल पक्ष र जसपा मिले बहुमत पुग्छ । उनका अनुसार दाहाल-नेपाल समूह, नेपाली कांग्रेस र जसपा मिलेर सरकार बन्ने अर्को सम्भावना पनि छ, जुन सबैभन्दा बलियो सम्भवना हो । स्रोतका अनुसार सरकारमा जानु हुँदैन भन्ने लाइनमा पार्टीका नेताहरू अहिलेसम्म देखिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्