Logo

भारत र चीनका राजदूत सक्रिय



काठमाडौं, १३ फागुन । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपालको राजनीति फेरि नयाँ मार्गमा अगाडि बढेको छ । संसद पुनःस्थापनको पक्ष या विपक्षमा ध्रवीकरण भएको राजनीतिक दल र तिनका नेताहरुको ध्यान अब सरकार कस्ले बनाउने भन्नेबारेमा केन्द्रित भएको छ ।

सत्ता समिकरणको अभ्यास सुरु भइसकेको छ । यही घटनाक्रमबीच नेपालको राजनीतिमा निकै चासो राख्ने छिमेकी भारत र चीनका राजदूतहरुको सक्रियता बढेको छ ।

भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार राजनीतिक दलका प्रभावशाली नेताहरुसँग भेटघाट गरेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई भेटेको बुझिएको छ । दुवै नेतासँग क्वात्राले वत्तीसपुतलीस्थित एक फुटल्यान्डमा भेटेको बुझिएको छ । देउवालाई भेट्नुअघि क्वात्राले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका थिए ।

यसैगरी, चिनियाँ राजदूत होउ यान्छीले पनि सक्रियता बढाएकी छिन् । उनले नेकपाका नेताहरुलाई धमाधम भेट्न थालेकी छिन् । राजदूत यान्छीले सत्तापक्षीय नेकपाका महासचिव विष्णु पौडेलसँग भेटेकी छिन् । उनी नेकपाको एकीकरणका लागि सक्रिय रहँदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्