Logo

स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित दुई जना पक्राउ



बारा, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित कलैया उपमहानगरपालिका–८ बरेवा टोलस्थित कलैया–मटिअर्वा सडकबाट २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार बस्नेहरू ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त ठाउँमा बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्र शेखर र मोटरसाइकलमा सवार संजयको साथमा तथा मोटरसाइकलको डिक्कीमा समेत लुकाई राखेको अवस्थामा १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान गरी उक्त रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्