Logo

विप्लवले गरे अहिलेको व्यवस्थाको विकल्पको प्रस्ताव



काठमाडौं, १३ फागुन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव यतिबेला भूमिगत छन् । उनले सरकारले वातावरण बनाए वार्तामा आउने भन्दै ८ फागुनमा विज्ञप्ति जारी गर्दा तरंग नै आयो । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै धरापमा परेपछि वार्ताको विषय ओझेलमा परेको छ ।

विप्लवले वर्तमान संकट र निकासका बारे विकल्पसहित प्रस्ताव अगाडि सारेका छन् । उनको लेख लालदिशा त्रैमासिक नामको पार्टी मुखपत्रमा प्रकाशित छ । जसलाई विप्लव नेतृत्वको नेकपाको आधिकारिक धारणा सार्वजनिक गर्ने इरातोखबरले प्रकाशित गरेको छ ।

विप्लवले लेखमार्फत् अहिलेको अर्थ सम्बन्धलाई परिवर्तन गर्ने विषय अगाडि सारेका छन् । जनमतद्वारा राजनीतिक प्रणालीका बारेमा निर्णय गर्न सक्ने सम्भावना औल्याएका छन् । यसको अर्थ उनी चुनावमा पनि आउन चाहेका छन् । विप्लवले लेखेका छन्,‘आजको विशिष्ट परिवेशका कारण अर्थात् नेपाली जनताले सैद्धान्तिक तर्कबाट होइन, व्यवहारिक प्रयोगबाट पनि दलाल पुँजीवादी सत्ता तथा संसदीय व्यवस्था असपल भएको देख्न र बुझ्न पाएको परिवेशमा राज्यले जनचाहनालाई आत्मसात् गर्ने हो भने जनमतद्वारा राजनीतिक प्रणालीको बारेमा पनि निर्णय गर्न सक्ने सम्भावना पैदा भएको छ ।’

विप्लवले संसदीय व्यवस्था असफलसिद्ध भएको तर्क गर्दै त्यसलाई दलहरुले स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले नयाँ राजनीतिक प्रणालीका बारेमा निर्णय लिन जनमतमा जानुपर्ने विषय रसारेका छन् । यसको अर्थ विप्लवले जनमतसंग्रहको आशयसहितको प्रस्ताव सारेका छन् । समस्याहरुको दीर्घकालिन रुपले हल गर्ने उपयुक्त समय र उपाय भएको दाबी गरेका छन् ।

विप्लवले राजनीतिक व्यवस्थामा आमूल परिवर्तनको प्रस्ताव गरेका छन् । उनले भनेका छन्,‘संसदीय प्रजातन्त्र पनि असफल भयो, गणतन्त्र आएपछिको कथित लोकतन्त्र पनि असफल भयो । तीस वर्षको अवधिमा काँग्रेस, राजा, संसदवादी, एमाले, पूर्व माओवादी सबै असफल भए । उनीहरुमध्ये कोही सरकार छोडेर हिंड्नुपर्यो । कसैले गद्दी त्याग्नुपर्यो भने कैयौं बेला देशलाई नै बेचेर टिकनुपर्ने भयो ।’ उनले यसको कारण व्यक्ति नभएर व्यवस्था नै भएकाले आमूल परिवर्तनमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्