Logo

वडाअध्यक्ष चन्दले ज्यान मार्ने धम्की दिएको भन्दै बैतडीका टेलर शान्ति सुरक्षा माग्दै काठमाडौंमा (भिडिओसहित)



काठमाडौं, १३ फागुन । बैतडी जिल्ला सुनर्या गाउँपालिका वडा न. १ का पदमराम टेलरले सोही वडाका वडा अध्यक्ष गजेन्द्रबहादुर चन्दले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको मोटरसाईकलमा आगो लगाउन र कुटपिट गर्न दिएको आदेश नमान्दा उल्टै आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित टेलरले वडाअध्यक्ष चन्दले आफूलाई ज्यान मार्ने धम्की दिएको सुनाएका हुन् । र, उनले शान्ति, सुरक्षाको समेत माग गरेका छन् । टेलरले बैतडी जिल्ला सुनर्या गाउँपालिका वडा न. १ का वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले आफुलाई ज्यान मार्ने धम्की र अपमानजन्य ब्यवहार गरेको सुनाए ।

उनले २०७६ सालमा भएको उपनिर्वाचनमा आफुले नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा उमेद्वारी दिएको भएपनि जिल्ला कार्य समितिको सल्लाहमा चुनावमा गजेन्द्र चन्दलाई सहयोग गर्ने र अर्को चुनावमा आफुलाई दिने आश्वासन र सहमति भएपछि निर्वाचन प्रचार प्रसारका लागि दास ढोली संयोजक र उनलाई उप–संयोजकमा जिम्मोवारी लिएर निर्वाचनमा गएको टेलरले स्मरण गराए ।

‘वडा अध्यक्षका उमेद्वार चन्द्रले ने.क.पा. का कार्यकर्ताको मोटरसाइकलमा आगो लगाउन र ने.क.पा. का प्रतिनिधी दशरथ बहादर चन्दलाई कुटपिट गर्न आदेश दिएका थिए ।‘ उनले भने, उनको त्यही आदेश नमानेकोले नै सोही दिनदेखि मसँग व्यक्तिगत रिसीबी राखेर मेरो नाममा मुद्दा दिने, गाली गलौज, सार्वजनिक स्थानमा जातिय भेदभाव र अपमान गर्दै आइरहेका छन् ।

कुटपिट, गाली÷गलौज बेईज्जीत गरेको आरोपमा उल्टै चन्दले नै २०७६ साल पुस २१ गते आफूमाथि मुद्दा दर्ता गराएको उनले सुनाए । उनले भने, ‘त्यो मुद्दाको फैसला फागुन ४ गते भयो तर उनीहरुले झुटा गरेको कारण उनीहरुकै पक्षमा भयो ।’

वडाअध्यक्ष चन्दले आफ्ना दाई रमेश दासलाई पनि राजनीतिक आस्थाको आधारमा भेदभाव गरेको गुनासो पोखे । उनले १ लाख रुपैयाँ गजेन्द्र चन्दबाट ग्लोबल आईएमी बैकमार्फत सापटी लिएका थिए । बैंकमा रकम हाल्ने व्यक्ति चन्दका सालो हुन,् उनले भने । टेलरले पछि नेपाल इन्भेष्टमेन्ट बैकमार्फत १ लाख रुपैयाँ फिर्ता गरेको बताए । पैसा फिर्ता गरेपछि उनले पैसा पठाएको जानकारी दिन खोज्दा विभिन्न किसिमका गाली गलौज तथा ज्यान ‘तिमीलाई काटी दिन्छु’ भनेर मार्ने धम्की दिएको सुनाए ।

उनले यस सम्बन्धमा प्रहरी प्रशासन लगायत सम्बन्धित निकायले आवश्यक अनुशन्धान गरी निज चन्दलाई कारबाही गर्नुपर्ने पनि माग राखेका छन् । उनले आफू र आफ्नो परिवारका सदस्यहरुको समेत शान्ति सुरक्षा गरिदिन माग गरेका छन् । वडाअध्यक्ष चन्दले आफूलाई ज्यान मार्ने भनेर धम्की दिएको अडिओ आफूसँग सुरक्षित रहेको भन्दै छिट्टै सार्वजनिक गर्ने पनि उनले जानकारी दिए ।
हेरौं भिडिओ ः

 



प्रतिक्रिया दिनुहोस्