Logo

देउवाको कोर्टमा बल



काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएलगत्तै बल अदालतबाट राजनीतिक दलमा सरेको छ । त्यसमाथि पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस फेरि एकपटक राजनीतिको केन्द्रबिन्दुमा पुगेको छ ।

यतिबेला काँग्रेस सभापति शेरबहादुर देउवा तानातानको अवस्थामा छन् । प्रतिनिधि सभा पुनःस्थापनाको पक्ष या विपक्षमा रहन देउवालाई दुईतर्फी दबाब थियो । उनले अदालतको आदेश पर्खन भनेर कुनै पक्षमा खुलेनन् । अदालतको आदेश आएपछि देउवा झन् तानातानको अवस्थामा छन् ।

नेपाली राजनीतिको बल देउवाको कोर्टमा पुगेको छ । उनले लिने निर्णयले को प्रधानमन्त्री बन्छ भन्ने निश्चित गर्न सक्छ । त्यसैले देउवा राजनीतिक भेटघाटमा व्यस्त हुन थालेका छन् । उनलाई १२ फागुनमा नेकपा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बुढानिलकण्ठमै पुगी भेटेर सहमतिको सरकारको प्रस्ताव गरेका छन् ।

देउवाको विदेशीसँगको भेटवार्ता पनि तिव्र भएको छ । उनले बुधबार र बिहिबार भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । यो भेटलाई निर्क अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देउवासँग सम्पर्क कायमै राखेका छन् । उनी पनि देउवासँग सहकार्य नै गरेर अगाडि बढ्न चाहिरहेका छन् । आफूले छाड्नै परे देउवालाई समर्थन गर्ने ओलीको तयारी छ । तर, प्रचण्ड र माधवकुमार नेपाललाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने रणनीतिमा देखिन्छन् । यसकारण पनि बल देउवाको कोर्टमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्