Logo

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !



सागर पण्डित : यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने गरी विभिन्न खाले हर्कत हुन थालेका छन् । सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि यही विषयलाई जोडेर संवैधानिक आयोगमा भएका नियुक्ति पनि बदर गरिनुपर्ने कलुषित आवाज उठिरहेका छन् । प्रतिनिधिसभा पुर्नस्थापनाको विषय र संवैधानिक आयोगमा नियुक्ति भएको विषय फरकफरक विषय हुन् । त्यसैले संवैधानिक परिषद्ले गरेको सिफारिस र नियुक्तिको विषय प्रतिनिधिसभा पुर्नस्थापनासँग जोड्न जरुरी छैन ।

अहिले अख्तियारलाई विभिन्न कोणबाट प्रहार गरेर हुर्मत लिने केही षड्यन्त्र पनि भइरहेका छन् । प्रधानन्यायधीशसमेत संलग्न रहेको संवैधानिक परिषद्को सिफारिसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायका पदाधिकारीको नियुक्ति भएको हो । संविधान र कानुनको अन्तिम व्याख्या गर्ने मुख्य निकायको प्रमुख नेतृत्वमा रहेका प्रधानन्यायधीशले नै अख्तियारलगायतका संवैधानिक निकायका प्रमुखलाई शपथ खुवाएर काम गर्ने बाटो खोलिदिएका हुन् । त्यसैले अहिले पनि यो विषयलाई विवादको विषय बनाउनुका पछाडि ठूलै स्वार्थ समूह लागिरहेका छन् । सम्मानित सर्वोच्च अदालतमा रिट परे पनि अदालतले अन्तरिम आदेशसमेत नदिएर रिटलाई सामान्य अवस्थामा राखेको छ । त्यसैले यतिखेर अख्तियारलगायत अन्य संवैधानिक निकायलाई उच्च मनोबलका साथ काम गर्न कुनै बाधा पर्ने अवस्था छैन । तर, विभिन्न खालका गलत कथा बुनेर यतिखेर अख्तियारको नवनियुक्त नेतृत्वलगायतका पदाधिकारीको मनोबल गिराउने र उनीहरूलाई कामै गर्न नदिने काला षड्यन्त्र पर्दाभित्र बुनिन थालेका छन् ।

ती सबै षड्यन्त्रलाई अख्तियारका प्रभावकारी एक्सनले परास्त गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा उठ्न पुगेको छ । त्यसैले अख्तियारलगायत संवैधानिक निकायको अन्य नेतृत्व यस्ता काला हर्कतसँग डराएर बस्नुहुँदैन । अब भ्रष्टचारीको मुटु काम्ने र हल्लिने गरी छिटोभन्दा छिटो एक्सनमा जानुपर्छ । वषौंदेखि मुलुकका विभिन्न क्षेत्रमा दादागिरि मच्चाउँदै आएका आर्थिक माफियाले विगतदेखि अख्तियारलगायतका राज्यका महत्वपुर्ण निकायमा आफू निकटका व्यक्तिलाई लैजाने र उनीहरूकै संरक्षणमा आर्थिक अपराध मच्चाउने कुचेष्टा गर्दै आएका हुन् । विभिन्न कालखण्डमा उनीहरू सफल पनि भएका थिए । संवैधानिक निकायका पदाधिकारी तथा राज्यका विभिन्न महत्वपुर्ण पदमा रहनेसँग अपवित्र साँठगाँठ गर्र्दैै अकुत सम्पति आर्जन गर्ने अपराधीका अहिले सबै बाटा बन्द हुन थालेपछि उनीहरू बर्बराउन थालेका छन् । त्यस्ता अपराधी अनेक भेषमा छन् ।

अनेक भेषमा रहेका त्यस्ता अपराधीले सम्पति शुद्धीकरण गरेर करोडौं रुपैयाँ आर्जन गरिरहेका छन् । त्यसैले सम्पति शुद्धीकरण अनुसन्धान विभागले त्यस्ता अपराधीलाई पानीमुनि गए पनि नछोड्नेगरी आफ्ना संयन्त्र परिचालन गर्न ढिलाइ गर्नुहुँदैन । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका ती निकायसँग समन्वय गरी निजी क्षेत्रमा रहेका आर्थिक अपराधीलाई पाता कस्ने वातावरण सिर्जना गराउन सक्नुपर्छ । यसैगरी राजस्व छली गर्ने राजस्वमारालाई राजस्व अनुसन्धान विभागमार्फत कानुनी दायरामा ल्याउन सक्नुपर्छ । कमिसनखोर, भ्रष्ट, बिचौलिया र तस्करलाई अब आलिसान महलबाट सडकमा पु¥याउन सक्नुपर्छ ।

पक्कै पनि भ्रष्टाचारीलाई पाता कस्ने काम सहज छैन । भ्रष्ट, माफिया र तस्करको जगजगी रहेको हाम्रो समाजमा इमानदार व्यक्तिलाई काम गर्न र बाँच्नै कठिन छ । भ्रष्टको जरा उखेल्न खोज्दा आफै हट्नुपर्ने दुःखदायी अवस्था पनि हामी कहाँ छ तर हिम्मत हार्नुहुँदैन । सत्यको जित निश्चित छ ।

सरकारका अधिकांश निकाय भ्रष्टचारको अखडा बन्ने र उनीहरूसँगको अपवित्र गठबन्धनले निजी क्षेत्र तथा अन्य व्यक्ति विशेष मोटाउने प्रवृत्ति हामीकहाँ व्यापक छ । त्यसैले पनि अब अख्तियारले सबै सरकारी निकायलाई सिस्टममा हिँड्ने बनाउन सक्नुपर्छ । अहिले जहाँ जहाँ सरकारी निकाय सिस्टममा हिँड्न सकेका छैनन् त्यहाँ नै बढी भ्रष्टचार र कमिसनतन्त्र हावी छ । कमिसनतन्त्रको समुल नष्ट गर्नुपर्छ । विशेषगरी स्वास्थ्य, शिक्षा, भूमि, वन, यातायात, राजस्वलगायतका क्षेत्रमा माफिया, तस्कर र बिचौलियाको बिगबिगी छ । अब अख्तियारले ती सबै क्षेत्रलाई सूक्ष्म रूपमा अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।

अख्तियारले यो तेरो, त्यो मेरो नभनीकन भ्रष्टचार गर्ने र बेथिति गर्नेविरुद्ध आगो बाल्नुपर्छ । राज्यसंयन्त्रका विभिन्न निकायमा वर्चस्व जमाउने र आफ्नो नियन्त्रणमा राख्न खोज्ने माफिया, बिचौलिया र तस्करले अख्तियारलगायतका संवैधानिक निकायलाई पनि विभिन्न प्रपञ्च गरी आफ्नो मुठीमा राख्ने प्रयास गर्छन् । विगतमा पनि पटकपटक त्यस्ता प्रयास हुँदै आएका हुन् । अहिले अख्तियारको नेतृत्वलाई त्यसरी नियन्त्रणमा राख्न सक्ने अवस्था नआएपछि त्यो कुतŒव विभिन्न नक्कली कथा रचेर अख्तियारका प्रमुखलगायतका पदाधिकारीको चरित्र हत्या गरी उनीहरूको मनोबल गिराउने अपराधिक खेलमा लागिरहेको छ ।

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन
विगतमा सरकारका विभिन्न निकायमा रहँदा कतिपय सरकारी कामको सिलसिलामा निर्णय गर्नुपर्ने विषयमा भएका केही निर्णयलाई आधार बनाएर अख्तियार प्रमुखलाई नै भ्रष्टाचार गरेको अनावश्यक आरोप लगाउने काम गरिएको छ । नागरिक समाजले स्वतन्त्र छानबिन गरोस् । अख्तियारको नेतृत्वलाई आरोप लगाउने पक्ष र अख्तियार नेतृत्वमध्ये को इमानदार र फटाहा छ भनेर ? सहजै पत्ता लाग्नेछ । आज अख्तियारको नेतृत्वलाई पटकपटक आरोप लगाउनेले आफ्नो सम्पति विवरण सार्वजनिक गर्दै स्रोत खुलाउन सक्छन् ? के उनीहरूमा त्यो हिम्मत छ ? सुशासनको ब्यारोमिटरमा के उनीहरू नापिन तयार छन् ? यो गम्भीर प्रश्नको उनीहरूले उत्तर दिनुपर्नेबेला पनि छिट्टै आउने नै छ ।

अब अख्तियारले आमजनतामा गहिरो छाप छोड्ने गरी भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध विगुल फुक्न जरुरी छ । भ्रष्टाचारको जरा कहाँ कहाँ कोसँग पुगेको छ त्यसको एकएक खोजी गरी भ्रष्टाचारीलाई जेलमा पठाउन ढिलाइ गर्नुहुँदैन । विभिन्न सरकारी निकायसँग मिलिमतो गरी भ्रष्टचारको आहालमा डुब्दै रहेका निजी संघसंस्थामाथि पनि अख्तियारले गहिरो अनुसन्धान गर्नुपर्छ । सरकारकै निकायसँग मिलेमतो गरी सरकारी सम्पतिको दोहन गर्न उद्धत अन्य संघसंस्था र व्यक्तिलाई पनि एकएक खोजी गर्नुपर्छ । कसैको आग्रह पूर्वाग्रही आरोपबाट अख्तियार विचलित हुन जरुरी छैन । भटाभट काम देखाउनुपर्छ । भ्रष्टचारीको रंग रूप र आकार हुँदैन। त्यसैले के ठूला के साना सबैलाई एक/एक खोजी गरी कानुनको कठघरामा ल्याउनुपर्छ । सरकारी निकायसँगको तस्कर र माफियाको जालोको समुल नष्ट गर्नुपर्छ ।

आन्तरिक राजस्व विभाग, सम्पति शुद्धिकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, वाणिज्य विभाग, उद्योग विभागलगायतका सबै विभाग र सबै मन्त्रालयका नेतृत्वमाथि नियमित रूपमा नै उच्च निगरानी राख्नुपर्छ । विगतमा भ्रष्टाचार गरेर विदेशमा लुकाइएका सम्पतिको खोजतलास गर्नुपर्छ । गैरकानुनी काम गरेबापतमन्त्री, सचिव तथा उच्च पदस्थले तस्कर माफियासँग टिप्सका रूपमा पाएका करौडौ मूल्यका जग्गा तथा अन्य भौतिक वस्तुको समेत एक–एक खोजतलास गर्नुपर्छ ।

सुशासन कायम गर्ने विषयमा अख्तियार कहिल्यै डगमगाउनुहुँदैन । अहिलेको अख्तियारको नेतृत्वमा नैतिकता, इमानदारिता र कर्तव्यनिष्टता भएकाले ढिलो चाँडो राम्रो परिणाम आउन सक्ने विश्वास गर्न सकिन्छ । अख्तियारमा सोहीअनुसारको ‘डायनामिक’ टिम फर्मेसन गर्न सक्नुपर्छ । अख्तियारलगायत सबै संवैधानिक निकायले राष्ट्रिय हित र स्वार्थअनुसार प्रभावकारी काम गर्दै जाने हो भने उनीहरू स्वःतह सफल हुनेछन् र जनताको सहयोग र साथ पनि पाउँदै जानेछन् । त्यसपछि अहिले उनीहरूविरुद्ध फैलाइएका गलत हल्ला र आरोप साबुनको फोका जसरी आफै बिलाएर जानेछन् । सर्वोच्च अदालतले पनि राम्रा काम गर्नेहरूलाई कुनै आग्रह पूर्वाग्रह नगरी न्यायकै पक्षमा फैसला दिने भएकाले त्यसको चिन्ता गर्न जरुरी छैन ।

सुशासन नहँुदा सार्वजनिक निकायमा बस्नेको नैतिकतामा ह्रास आउँछ, राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण हावी हुन्छ । यसैगरी दण्डहीनता समेत मौलाउन सक्ने, गरिबी फस्टाउने, विकास सुस्त हुने, सदाचार नहुने, विकास र समृद्धि रोकिने, सेवा प्रवाह पूर्णरूपमा अप्रभावकारी हुने जस्ता ठूलाठूला समस्या देखिन सक्छन् । यस्तो प्रवृत्तिले मुलुकको विकास र समृद्धि बाटो अवरुद्ध हुन सक्छ । बाहिर सुशासनको रफ्फु भर्ने र आडम्बर गर्ने तर भित्रभित्र कुशासनको चक्र चलाउँदै कम्मल ओढेर घिउ खाने प्रवृत्ति भएकालाई अहिले मुलुकमा व्याप्त आर्थिक बेथिति र अपराध रोक्ने भन्दा पनि संवैधानिक निकायलाई पंगु बनाएर आफ्नै स्वार्थसिद्धि गर्ने खेलमा छन् तर निश्चित छ, उनीहरू आफूले खनेको खाल्टोमा आफै पर्नेछन् । अख्तियारलगायतका निकाय त्यस्ता कुतŒवले खनेको खाल्टो पुर्दै मुलुकका व्याप्त बेथिति र विकृति रोक्न अत्यन्तै संवेदनशील बन्नुपर्छ ।

हामी कहाँ वर्षौंअघिदेखि जहाँतहीँ भ्रष्टचार व्याप्त हुँदै आएको छ । शिक्षामा भ्रष्टाचार, छपाइमा भ्रष्टाचार, निकासी पैठारीमा भ्रष्टाचार व्याप्त छ । यसैगरी, सुन तस्कर गरी तस्करले पैसाको पहाड थुपार्दै आइरहेका छन् ।

सुकुमबासीका नाममा जग्गा हत्याउने भूमाफिया, राष्ट्रिय सम्पतिका रूपमा रहेको ढुंगा, गिटी बालुवाको तस्करी गर्नेलाई पनि अब छोड्नु हुँदैन । सबैखाले आर्थिक विकृतिको समूल अन्त्य गर्नेगरी अख्तियार अब जाग्नैपर्छ । त्यसरी जाग्दा जनता अख्तियारको साथमा हुनेछन् । त्यस्तो अवस्थामा महाभ्रष्टको प्रहार पनि खानुपर्नेहुन्छ तर आमजनताको अघि त्यस्ता महाभ्रष्टको प्रहार निस्तेज हुनेछ ।

(लेखक पण्डित राजधानी राष्ट्रिय दैनिकका सम्पादक हुन् ।)

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम