Logo

दोस्रो राष्ट्रिय मगर महोत्सव शनिबारदेखि



पर्वत, १४ फागुन । यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि सो महोत्सव आयोजना गर्न लागेको हो । प्रदर्शनी कक्ष, खेलकूदको मैदान र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन् ।

क्लबका अध्यक्ष कृष्ण पुनले महोत्सवमा २०० प्रदर्शनी कक्ष बुकिङ भएको पत्रकार सम्मेलनमा जानकारी दिए । खुला पुरुष भलिबलमा १० देखि १२ टोली आउने अनुमान गरिएको उनले बताए । मगरहरुको सांस्कृतिक नृत्यका चार टोली र विद्यालयस्तरीय प्रतियोगितामा १० टोली सहभागिताका लागि दर्ता भएको उनले जानकारी दिए ।

कार्यक्रमस्थलमा सुरक्षाका लागि आठ वटा सिसी क्यामेरा जडान गरिएको छ । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सवस्थलमा हातधुन पानी र साबुनको व्यवस्था गरिने भएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ८० को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाइलो खेलसहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति महोत्सवका आकर्षण हुन् । स्थानीय खानाका परिकार खुवाउने गरी खानाको प्रदर्शनी कक्षसमेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ व्यवस्थापन हुने भएको छ ।

स्थानीय उत्पादनको बिक्री वितरण, प्रवद्र्धन र प्रचारप्रसारमा पनि मगर महोत्सव सफल हुने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्