Logo

गाउँगाउँमा विकास भएपनि रोकिएनन् बसाइँसराइ



बागलुङ, १४ फागुन । बागलुङ नगरपालिका–११ रायडाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे ।

यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले कुनै न कुनै रुपमा एक/दुई बसाइँसराइका सामान बोक्ने काम पाए । जिल्लाको दक्षिण क्षेत्रमा चल्ने मात्रै झण्डै १५० भन्दा धेरै साना सवारीका साधन छन् । मध्यपहाडी जिल्ला बागलुङबाट सुविधा र रोजगारीको खोजीमा तराई र शहरी क्षेत्रमा बसाइँसराइ गर्ने क्रम चलिरहेको छ । यातायात व्यवसायीले रिजर्भमा गाडी गुडाएको आँकडा मात्रै हेर्ने हो भने वर्षमा सयौँ परिवार बसाईसराई गर्ने गरेको पुष्टि हुन्छ । बसाइँसराइ चुलिँदा गाउँघर खाली हुँदै गएका छन् । राज्यको पुनःसंरचना भएर स्थानीय तह गठन भएपछि गाउँगाउँमा पुगेका सिंहदरबारले पहाडी जिल्लामा यातायात, स्वास्थ्य, सञ्चार, शिक्षा र विद्युत्लगायतका पूर्वाधार तयार गरी विकासले फड्को मार्दै गए पनि बसाइँसराइ भने झनै बढ्दै गएको छ ।

सबै वडामा पुगेका मोटरबाटो बसाइँसराइका लागि सामान ओसार्नका बनाइएको जस्तो देखिएको छ । सडकसञ्जाल गाउँभरि पुग्दा बस्ती भने रित्तो बन्दै गएका छन् । बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिका जस्ता केही सुगम स्थानीय तहमा सो समस्या बढी छ । तीन वर्षयता बागलुङ–११ रायडाँडाको ओखले, रामतोला, मौरीभीरलगायतका स्थानमा सडकले छोएको छ । सदरमुकाम आउजाउ गर्न सहज पनि भएको छ । तर बसाइँसराइ भने रोकिएको छैन । वडाभित्रै तीन घण्टा लाग्ने बाटो ४० मिनेटमा छोटिएका छन् । गाउँमा विकास पुग्दा बस्तीको बसाइँसराइ आधा बढी भइसकेको छ ।

वर्षौंदेखिको सास्तीले हैरान भएका सहज वातावरण पाएपछि धमाधम चितवन, पूर्वी नवलपरासी र सदरमुकाममा बसाई सरेको रायडाँडाका सामाजिक अगुवा रत्नाखर गौतमले बताए । “विकास नआउञ्जेल मानिस बस्थे, विकास आयो, सबै विस्थापित भए”, उन भने”, “अब त गाउँको बैठक राख्नुपर्दा सदरमुकाम र चितवनमा बस्नुपर्ने भइसक्यो ।” बसाइँसराइले गाउँका खेतबारी बाँझएको उनले बताए । तीन वर्षमा यहाँझण्डै रु तीन करोड खर्चेर सडक सञ्जाल बनाइएको हो ।

वडाकै पहलमा आफ्रे सल्यान, तल्लो रामतोला, इकिनधारा, सिकादिप, गिलारलगायतका बस्तीमा सडक पुगेको हो । स्तरोन्नतिका लागि घुम्तीमा ढलान गर्ने कामसमेत भइसकेको छ । अहिले यहाँबाट दैनिक चार वटा जीप सदरमुकाम आउजाउ गर्छन् । खानेपानी, सिँचाइ, स्वास्थ्यचौकी, विद्यालय र अन्य पूर्वाधारसमेतमा तीन वर्षमा यहाँ १० करोड बढी लगानी भइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्