Logo

ताम्राकार कम्प्लेक्समा मोबाइल व्यावसायीहरुलाई बद्नाम गराउने समाचारप्रति व्यावसायीको आपत्ति



काठमाडौं, १४ फागुन । मोबाइल व्यावसायी संघ (ताम्राकार कम्प्लेक्स)ले कम्प्लेक्समा संचालित मोवाइल व्यवसायीहरुको पसलबाट अवैध कार्य गरेको भन्दै प्रहरीले सामाग्रीहरु उठाएर लगेको घटनाप्रति आपत्ति जनाएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघले व्यावसायीलाई बदनाम पार्ने नियतले उठाएर लगिएको र लगाइएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

मोवाइल व्यावसायी संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा प्रवेश गरेर सामाग्रीहरु उठाएर लगेको आरोप लगाए । उनले भने ‘पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरेर थुन्ने काम गरिएको छ । मर्यादित रुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित नभए सम्पूर्ण व्यावसाय बन्द गरेर कडा आन्दोलनमा जान वाध्य हुनेछौं ।’ उनले घटनालाई तोडमोड गरी व्यावसायीहरुलाई बदनाम गरेर विभिन्न संचार माध्यमहरुमा प्रकाशित तथा प्रसारण भैरहेका समाचारप्रति आपत्ती जनाए ।

साउदले प्रहरीले पसलबाट ग्राहकहरुको मर्मतका लागि ल्याएर छाडेका मोवाइल फोनसमेत लगेको हुनाले ग्राहकलाई फिर्ता गर्न कठिन भएको जानकारी दिए । ग्राहकहरुको मोवाइलमा भएको डाटा र व्यक्तिगत जानकारी चोरी हुनसक्ने भएको भन्दै त्यसको जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने बताए । सार्वजनिकरुपमा व्यवसाय पारदर्शिता र मर्यादितरुपमा गरिरहेको समयमा प्रहरीले कुन कानुन अन्तर्गत सामानहरु जफत गरेको र उठाएको स्पष्ट कारण पनि नदिएकोमा उनले असन्तुष्टि पोखे ।

वाणिज्य विभाग वा राजश्व विभागले मात्र अनुगमन गर्न पाउने स्पष्ट व्यवस्था रहेको भन्दै अध्यक्ष साउदले प्रहरीले ताम्राकार कम्प्लेक्सका मोबाइल व्यावसायीहरुलाई तर्साउने कार्य निन्दनिय भएको आरोप लगाए । उनले यथाशिघ्र रुपमा प्रहरीले पसलबाट लगेका मोबाइल सेटहरु फिर्ता गरी क्षतिपुर्तिसमेत दिन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्