Logo

मोदीले मलाई कसरी अविश्वास गर्न सक्नुहुन्छ ? म कल्पना पनि गर्न सक्दिन् : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको नेपालको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने-“पहिलो कुरा भारतसँग नेपालको सुमधुर सम्बन्ध बनाउनुपर्छ । सुदृढ बनाउनुपर्छ । आपसी विश्वासको धरातलमा उठाउनुपर्छ भन्ने मान्यता मैले पाँच सात वर्षदेखि लगातार, यो मान्यतामा छु म । भारतसँग राम्रो समझदारी नबनाईकन नेपालमा विकास, समृद्धि र स्थायित्व चाहीँ चूनौति हुन्छ भन्ने कन्भिक्सनका साथ भनेको छु मैले । र, यो बीचमा जति मेरो भारतमा भ्रमण हुँदा, नेताहरुसँग भेट्दा मैले त्यही कुरा भनेको छु । र, अहिले के तपाईँले भनेजस्तो कता कता प्रचण्डले भन्याजस्तो गर्न सकेन भन्ने पर्या होला, तर मेरो भनाई के छ भने मैले त्यहाँ कुनै अर्को मनशायले गरेको छैन्, मैले कतिवेला के गर्न सकें ? कतिवेला के गर्न सकेंन ? त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो पार्टीको आन्तरिक मामिला पनि हो । मैले कसैलाई अविश्वास पैदा होस भनेर गरेको छैन् । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन् । मैले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँगपनि र चीनसँग पनि भन्याछु । तर, भारतसँगको विशिष्ट छ है ।”

दाहालले भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले अघि थपे,”हाम्रो इतिहासले, भूगोलले, संस्कृतिले, धर्मले, अर्थतन्त्रले, परम्पराले, पानी ढलोले, भारतसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने निश्चित गरेकै छ । तर, भारतले मजस्तो मान्छेलाई, जसले शान्ति र लोकतन्त्रको निम्ति यत्रो सेक्रिफाईस गर्यो, मलाई चाहीँ अविश्वास गर्ने हुन्छ भन्ने मलाई लाग्दैन् । मैले भारतमा जाँदा म प्रति करिब करिब, नेपालमा हुन्छ नि मान्छेहरु बेला बेलामा गाली गर्छन्, बेस्सरी यसले खत्तम पार्यो पनि भन्छन्, तर फेरि लाष्टमा नेता त उही हो पनि भन्छन् । भारतीय जनताले पनि मलाई माया गर्छन् । भारतीय जनता, भारतभरि नै प्रचण्ड राम्रोसँग चिनिन्छ । जनताकै तहमा चिनिन्छ । त्यहाँको मिडिया, त्यहाँको बुद्धिजिवी र त्यहाँका आम जनताले पनि सबभन्दा बढि प्रचण्डलाई चिन्छन् । र, माया गर्छन् । किनभने शान्ति ल्यायो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नोबारे खुलेर प्रशंसा गर्ने गरेको दाहालले स्मरण गराए । उनले भने,”अब प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा युद्धबाट बुद्धतिर, युद्धबाट शान्तितिर तपाईँहरुले ठूलो काम गर्नुभयो भने जो भाषण गर्नुभयो, मैले बुझेको छु त्यो उहाँले चाहीँ मलाई भन्नुभएको हो । मेरो बारेमा र नेपालको बारेमा संयुक्त राष्टसंघको अधिवेशनमा बोल्नुभयो, नेपालमा शान्ति विश्वकै निम्ति एउटा उदाहरण हो भन्ने स्पिरिटमा बोल्नुभयो । उहाँले लालकिल्लाबाट पनि हाम्रो बारेमा बोल्नुभयो । उहाँले मलाई कसरी अविश्वास गर्न सक्नुहुन्छ ? म कल्पना पनि गर्न सक्दिन् । एउटा असल मित्रको रुपमा, एउटा असल छिमेकीको रुपमा, अन्ततः त्यो यदि कहीँ बादल लागेको छ, अलि अलि तुवाँलो लागेको छ भने त्यो क्षणभरमै त्यो तुवाँलो फाटिन्छ । बादल हट्छ । उज्यालो हुन्छ । छ्यांग हुन्छ । र, हामी एक अर्काको, भारतीय कन्सर्न, चिन्ता, चासोलाई हामीले सकेसम्म छिमेकीको हैसियतले सम्बोधन गर्ने, हाम्रो चिन्ता र चासो, र हाम्रो आवश्यकत्तालाई भारतले सम्बोधन गर्ने यो सम्बन्ध फेरि विकसित हुन्छ भन्ने म ठान्दछु ।”



प्रतिक्रिया दिनुहोस्